स्वप्निल संसारका सयौं सास्ती

अर्खान्गेल्स्क सुदूर उत्तरमा अवस्थित रुसी नगर हो । बाह्रै महिना हिउँले ढाकिने प्राचीन बन्दरगाह हो । सरदर तापक्रम शून्य दशमलव ८ हुने गर्छ । वर्षमा एक महिना त सूर्य अस्ताउँदैन अर्थात् राति नै हुँदैन । यहाँका मानिस त्यसबेला दिउँसै सुत्छन्, दिउँसै उठ्छन् । यस खालको समयलाई ‘श्वेत–रात्रि’ भनिन्छ । डुंगा चलाएर जीविका चलाउने बोटे र माझी नै यहाँका मूल वासिन्दा हुन् । अरुचाहिँ सैनिक ।
एलेक्स रुसी लालसेनामा कर्नेल थिए । पत्नी लारिसा कोरोलेयभ्ना त्यहींको सानो अस्पतालमा नर्स । दुईवटी छोरी भए । आम्दानी थोरै, त्यसैले चारैजना काठले बनेको सानो कोठामा सुत्थे । कान्छी छोरी गालिना नाच्न मन पराउँथिन् । स्कुलमा आयोजित कार्यक्रममा उनको प्रतिभा देखेपछि त्यहाँका प्रसिद्ध नृत्यकारले ‘यो केटी पछि महान् नर्तकी बन्छे’ भनिदिए । लारिसाले यो कुरा सुनाउँदा गालिना दंग परिन् । साँच्चै नर्तकी बन्ने सपना देख्न थालिन् । तर, शरीर साह्रै कमजोर, त्यसैले नृत्यशाला पठाउने–नपठाउने दोधारमा परिन् लारिसा । पछि पर्मस्थित नृत्य विद्यालयमा भर्ना गरिदिइन् । ९ वर्षकी गालिना अब वर्षमा एकपटक मात्र घर जान पाउने भइन् । बाँकी सम्पूर्ण समय ब्याले नृत्य सिक्थिन् । होस्टेलमा बस्थिन् । नृत्यबाहेक खेलकुद, मनोरञ्जन, केटाहरुसँग मित्रता केही गर्न दिइँदैनथ्यो । जबकि कक्षामा २० जना केटा थिए । त्यसैले गालिनाले हाँस्नै बिर्सिइन् । सधैं एक्लो । आफ्नै धुनमा नृत्य नै ज्यानप्राण बन्न पुग्यो । सानैदेखि बहादुर ।
यसबीच मस्कोको बोल्सोेइ ब्याले कम्पनी पर्म विद्यालय पुग्यो । गालिनाको नृत्यबाट प्रभावित बन्यो । मस्को बोलायो । उक्त कम्पनीले ठाउँ–ठाउँमा गालिनालाई अतिथि नर्तकीको रुपमा उता¥यो । सोही क्रममा सुप्रसिद्ध ब्याले नर्तकी गालिना उलिनोभासँग भेट भयो, जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन बुल्गेरियाको राजधानी सोफिया पठाइदिइन् । नभन्दै गालिनाले स्वर्णपदक जितिन् । त्यसबेला १८ वर्षकी थिइन् । त्यसैले विश्व रेकर्ड पनि राखिन् । बोल्सोइ कम्पनीको सदस्य बनेर संसार घुम्ने सपना देख्न थालिन् तर उलिनोभाले कम्पनीमा खाली ठाउँ नभएको भनी पर्म फर्काइदिइन् । ६ महिनापछि युवा नर्तकीहरुबीच हुने प्रतिस्पर्धामा भाग लिन पुनः मस्को जाने मौका पाइन् । जहाँ विख्यात ‘किरोभ ब्याले कम्पनी’ को प्रशिक्षिका डुण्डिस्काया पनि थिइन् । कार्यक्रमकै बीच भ्यालेरी पानोभसँग भेट भयो, जो सबैभन्दा विख्यात रुसी नर्तक थिए । गालिनाभन्दा १२ वर्ष जेठा पानोभ अचानक एकदिन नर्तकीहरुलाई राख्ने होटल पुगे । सबैले घेरेर हस्ताक्षर लिए । गालिना परिचय आदान–प्रदान गर्न चाहन्थिन् तर मौका पाइनन् । कार्यक्रम सकिएपछि पर्म फर्कनुअघि लेनिनग्राद गई किरोभ ब्याले कम्पनी अवलोकन गर्ने सोच सबैले बनाए । त्यसबेला त्यहाँ पानोभ नाच्दै थिए । नृत्य सकिएपछिको रात्रिभोजमा गालिनाले पहिलोपटक पानोभसँग भेट्ने मौका पाइन् । पहिलो हेराइमै पानोभ अरु पुरुषको तुलनामा सुन्दर लाग्यो, बिहे यस्तै पुरुषसित गर्छु भन्ने प्रण गरिन् । तर, पानोभ विवाहित थिए, गालिनाको पहुँचभन्दा धेरै टाढाका, ठूला कलाकार ।
दुई वर्ष त्यत्तिकै बित्यो । गालिनाले साइबेरिया थिएटरमा काम गर्न थालेकी थिइन् । त्यहाँको एउटा टोली मस्को प्रस्थान ग¥यो । जुन थिएटरमा गालिनाहरु अभ्यास गर्दै थिए, त्यहाँ किरोभ कम्पनीको टोली पनि अभ्यासरत थियो । गालिना र पानोभको फेरि भेट भयो । अभ्यासको दौरान पनि दुवैको नजर एक–अर्काप्रति हुन्थ्यो । पानोभ एक्लो जीवन व्यतित गर्दै थिए । एक साँझ सबै हिँडिसकेका थिए । थिएटरमै बसेर दुईजना गफ गर्न थाले । गफैगफमा गालिनाले प्रायः सबै ठूला भूमिका निभाइसकेकाले बोल्सोइ वा किरोभ कम्पनीको सदस्य बनेर पेशालाई अघि बढाउन चाहेको बताइन् । गालिनाको व्यथा सुनेपछि पानोभ आफ्नो संघर्षशील दिन सम्झन थाले । २० वर्षको उमेरमा नृत्यको विविध विधामा पारंगत बनिसकेको, अमेरिका जाँदा त्यहाँको ब्याले सिक्न चाहेको तर रुसी सरकारले आमा–बाबु दुवै बिरामी छन् भनी झूठो सन्देश पठाएर फर्काएको, त्यसपछि विदेश जानै नदिएको कथा सुनाए । गालिनाले भनिन्, ‘म पनि रुस बाहिर जान पाए हुने । यहाँ भविष्य नै छैन । मस्को वा लेनिनग्राद मात्र बस्न पाए पनि हुन्थ्यो । सीप र योग्यता देखाउने अवसर मिल्थ्यो ।’
पानोभले दुःखी बन्दै भने, ‘त्यहाँ पनि संकीर्णताले भरिएको छ । रुसमा स्वतन्त्रता नै छैन ।’ अब गालिनाले पानोभलाई प्रेमी सम्झिइन् । मन–भावना सबै समान भएको ठानिन् । अन्त्यमा पानोभले सक्दो सहयोग गर्ने वचन दिए । गालिना पर्म फर्किइन् । लगत्तै बाउको निधन भयो । आमा लारिसा छोरीसँग बस्न पर्म गइन् । गालिनालाई भने पानोभको सम्झना आउँथ्यो । लामो लामो दर्जनौं पत्र लेख्थिन् तर पानोभलाई लेख्न झ्याउ लाग्थ्यो । कहिलेकाहीं मात्र दुई लाइनको सन्देश पठाउँथे । यसबीच साइबेरिया थिएटरले ‘डन क्विजोट’ नृत्यनाटक तयार पा¥यो । प्रमुख भूमिकामा गालिना र पानोभ अनुबन्धित भए । गालिना निकै खुशी भइन् । पर्मबाट फर्कने समय पानोभले किरोभ नृत्य कम्पनीमा सामेल गराउने प्रतिज्ञा गरे । एक वर्ष बित्यो । गालिनाले पत्र लेख्यालेख्यै गरिन् तर कुनै जवाफ पाइनन् । अचानक एकदिन टेलिफोनको घण्टी बज्यो । पानोभले यति मात्रै भने, ‘लेनिनग्राद आउनू, कम्पनीका निर्देशक तिम्रो नृत्य हेर्न चाहन्छन् ।’
गालिना तुरुन्तै लेनिनग्राद पुगिन् । थाहा पाइन् कि कम्पनीका अन्य नर्तकीले पानोभ र उनको प्रेमकथालाई फूलबुट्टा भरेर प्रचार–प्रसार गरिसकेका रहेछन् । तर, निर्देशकले कम्पनीमा नर्तकीहरुको कमी नभएकाले बाहिरकालाई काम दिन नसक्ने अड्डी कस्न थाले । पानोभले गालिनाको नृत्य सबैको भन्दा भिन्न रहेकाले उनलाई लिनुपर्ने दबाब दिए । यो कुराले पानोभ पनि आफूलाई चाहन्छन् भन्ने सोच गालिनाले बनाइन् । पानोभको ठूलो दबाबका बाबजुद गालिनालाई कम्पनीले लिएन । लगत्तै गालिनाले मस्को दूरदर्शनको आयोजनामा ‘स्वान–लेक’ नृत्यनाटकमा भाग लिने मौका पाइन् । नृत्यपछि पानोभले टेलिफोन गरेर भने, ‘यो तिम्रो जीवनकै उच्चकोटिको नृत्य हो ।’ गालिना मक्ख परेर सुनिरहिन् । अचानक पानोभले सोधे, के तिमी मसित बिहे गछ्र्यौ ?’ गालिना बोल्नै सकिनन् । फेरि भने, ‘तिमी तुरुन्त आऊ, हाम्रो बिहे हुँदै छ ।’ गालिना तुरुन्तै लेनिनग्राद पुगिन् । स्टेशनमा पानोभ पर्खी बसेका थिए । गालिनालाई सानो घरमा लिएर गए । रातभरि दुवै मीठा–मीठा कुराकानीमा व्यस्त रहे । गालिनाले सोधिन्, ‘तिमी मसित किन बिहे गर्न चाहन्छौ ?रुसबाहिर जाने तिम्रो चाहनामा म बाधक हुन सक्छु ।’
पानोभ केही सुन्न तयार थिएनन् । भने, ‘तिमीबिना म शून्य छु, गाल्या । सधैं तिम्रो साथमै हुन्छु ।’ गालिनाले पानोभलाई हेरिन् । उनमा सत्यता र इमान्दारिता देखिन् । र, भनिन्, ‘तिमीजस्तो चाहन्छौ, गर । यदि रुस छाडेर अन्त जान चाहन्छौ भने म पनि सँगै जान्छु ।’ गालिना यति भन्दै पानोभको काँधमा टाउको टेकाएर रुन थालिन् । पानोभले किरोभ नृत्य कम्पनीले गालिनालाई लिन सहमत भएको खुशीको खबर सुनाए । भोलिपल्टै गालिनाले दुईवटा पत्र लेखिन् । पर्म थिएटरलाई लेखेको पत्रमा ‘आफू एक साता बाहिरै रहने’ सूचना दिइन् भने आमालाई ‘बिहे गर्न गइरहेको’ खबर सुनाइन् । सोही दिन (सन् १९७० मार्च १२) मा सादा नीलो लुगा लगाइन् र दुवै पञ्जिकाधिकारी कार्यालय पुगे । पाँच–छ मिनेटमै बिहे सम्पन्न भयो । पानोभ ३२ र गालिना २० वर्षका थिए । घर फर्केर दुवैले चरमसुखको अनुभव गरे । एक हप्ता सँगै बसेर गालिना पर्म गइन् । हप्ता दिनमै लेनिनग्राद फर्किइन् । गालिना खाना बनाउन जान्दैन थिइन् । संकोच मान्दै माफी माग्थिन् । पानोभ भन्थे, ‘चिन्ता नगर, म तिमीसित सुखी छु । गहिरो प्रेम गर्छु ।’
केही दिनपछि उनीहरुलाई इजरायल पठाउन सरकार राजी भएको खबर आयो । रुसबाहिर जाने सुवर्ण अवसर पाउँदा ती दंग परे । स्मरणीय छ, पानोभ रुसमा जन्मेका इजरायली हुन् । त्यसैले बाहिर जाने अनुमतिपत्रको लागि प्रार्थनापत्र (निवेदन) दिने निर्णय गरे । तर, योभन्दा अगाडि किरोभ नृत्य कम्पनीका निर्देशकबाट अनुमति लिनु जरुरी थियो । अतः निर्देशकसमक्ष निवेदन पेश गरे । तर, यो निर्णय उनीहरुकै निम्ति बज्रपात सावित भयो । निवेदन पाएलगत्तै निर्देशकले गालिनालाई फोन गरे । ‘के तिमीलाई थाहा छ ? तिम्रा लोग्ने यहुदी हुन् भन्ने ? ऊसित इजरायल जाने कुरो सपनामा पनि सोच्नु हुँदैन । तुरुन्त सम्बन्धबिच्छेद गर । भोलि नै तिमीले दोस्रो लोग्ने पाउनेछौ, अझ चाहे तेस्रो पनि ।’ गालिना त्यस समय घरमा एक्लै थिइन् । रुसमा बिहेको खासै अर्थ हुँदैन भन्ने थाहा पाउँदापाउँदै रिस उठ्यो । तैपनि रिस थामेर बोलिन्, ‘मेरालागि एउटै लोग्ने काफी छ । जीवनमा के गर्नुपर्छ, म आफैं तय गर्छु ।’
भोलिपल्ट सत्तारुढ कम्युनिष्ट पार्टीको युवा संगठन कोम्सोमोलको कार्यालयबाट फोनमा गालिनालाई गाली गर्दै भनियो, ‘स्तालिनले थाहा पाए, तिमीजस्ता स्त्रीलाई गोली हान्थे ।’ गालिनाले यस्तो धम्की पाइरहिन् तर पर्वाह गरिनन् । एकदिन थिएटरमा अभ्यासरत रहँदा गुण्डाहरुको प्रवेश भयो । पानोभलाई देखाउँदै गालिनालाई भनियो, ‘उसलाई छोड, बिग्रेका मान्छे हुन् । यहुदी हुन् । तिमीलाई प्रमुख नर्तकी बनाउन सरकार तयार छ ।’ गालिना केही बोल्नै सकिनन् । आँशुको बलिन्द्रधारा बग्न थाल्यो । सबै नर्तकी आश्चर्यचकित भएर भित्तामा अडेस लागी बसे । पानोभ मूर्तिझैं उभिइरहे । गालिना रुँदै पानोभ नजिक पुगिन् । आफ्नो हात लोग्नेको छातीमा राखिन् तर त्यहाँकी प्रमुख नर्तकी चिच्याएको आवाज दुवैले सुने । भन्दै थिइन्, ‘जाऊँ, निस्कौं । यी गद्दारहरुसँग बस्नु पनि पाप हो ।’ सबै बाहिर निस्के । हलमा उनीहरु दुई जना मात्र बाँकी रहे ।
यसपछि उनीहरुका निम्ति सन्त्रासको दिन शुरु भयो । कहिले गुप्तचर प्रहरीले त कहिले गुप्तचर संस्था केजिबीले फोन गथ्र्यो । त्यसमा गाली र धम्कीबाहेक केही हुन्नथ्यो । मनोबल गिराउने उद्देश्य थियो सबैको । भोलिपल्ट घरमै सन्देश आइपुग्यो कि ‘पानोभ अब नृत्यका लागि योग्य रहेनन् । त्यसैले किरोभ नृत्य कम्पनीबाट बर्खास्त गरियो ।’ यसपछि दुवै गालिनाका आमालाई भेट्न गए । पानोभसँग विदेश जाने अनुमति दिन गालिनाले आग्रह गरिन् । लारिसाले पनि राज्यबाट पहिल्यै धम्की पाइसकेकी रहिछन् । मनोबल टुटिसकेको रहेछ । छोरीको कुरो सुन्दै नसुनेझैँ गरिन् । एकछिनपछि छोरीको कपाल लुछ्दै पिट्न थालिन् । भनिन्, ‘मलाई धिक्का छ, तिमी मेरी छोरी हौ ।’ यहाँसम्म कि पानोभलाई जेल नपठाइकन चुप लागेर नबस्ने धम्की दिइन् । भनिन्, ‘स्टालिन नमरेको भए निश्चित छ, तिमीलाई पनि गोली हान्ने थिए ।’ लारिसाको रणचण्डी रुप देखेपछि पानोभको आँखा आँशुले भरियो । पत्नी गालिनालाई सासूको हातबाट छुटाउँदै भने, ‘गाल्या, भयो अब घर फर्कौं । आमासँग कुरा गर्नुको कुनै फाइदा छैन ।’ लारिसा एकदमै आतंकित बनिसकेकी थिइन् । प्रहरीको दबाबमा परेर ज्वाईंविरुद्ध उजुरी दर्ता गरिन् । आफूमाथि हातपात गरेको आरोप लगाइन् । भोलिपल्ट बिहानै प्रहरी घर पुगेर पानोभलाई पक्रिए । प्रहरीले गालिनालाई धम्की दिए कि पानोभसित वैवाहिक सम्बन्ध बिच्छेद नगरे उनी पनि कम्तीमा तीन वर्ष जेल पर्नेछिन् । तर, गालिना टसमस भइनन् ।
धन्न, पानोभ धरौटीमा रिहा भए । किरोभ नृत्य कम्पनीले गालिनालाई फोनमा भन्यो, ‘पानोभको जिन्दगी त सकिइ नै सक्यो तर हामीले तिमीलाई तत्काल निश्कासन नगर्ने भएका छौं । समय छ, सोच आफ्नो बारे ।’ पानोभको जागिर गइसकेकाले गालिनालाई घरखर्च चलाउन गाह्रो भयो । त्यसैले तत्काल जागिर छाड्ने निर्णय त्यागेर काममा जान थालिन् ।
थिएटरको तर्फबाट एउटा टोली स्पेन जाने भयो तर अनुशासनहीन भन्दै गालिनालाई पठाइएन । त्यति मात्र होइन, खाइपाइ आएको मासिक तलब पनि दुई सयबाट १ सय ५० रुबलमा झारियो । थिएटरमा २ सय नर्तकी र कर्मचारी कार्यरत थिए तर सबै गालिनासँग बोल्न छाडे । सहानुभूति प्रकट गर्नु त परै जाओस्, उल्टै सबै महिला साथी पानोभलाई गाली गरेर थाक्दैनथे । साह्रै भएपछि एकदिन गालिना साथीहरुप्रति यसरी खनिइन्, ‘हेर, तिमीहरुका पनि लोग्ने छन् । तिमीहरु उनलाई के यति थोरै मात्र माया गर्छौ ? विवाहको बारेमा सबैको यही सोचाइ हो ?’ साथीहरुले न उनको कुरा सुने न जवाफ नै दिए । सबै एक–एक गरेर बाहिरिए । गालिनालाई साथीहरुको हेपाहा व्यवहार र कम्पनीको नियतदेखि दिक्क लागिसकेको थियो । त्यसैले कम्पनी जान छाडिदिइन् । कम्पनीले पटक–पटक काममा फर्कन आग्रह ग¥यो । उनीप्रति कुनै गुनासो नभएको भन्दै आश्वस्त पार्न खोज्यो । पानोभसँग सम्बन्ध बिच्छेद गरे पहिलाजस्तै सबै ठीक हुने भनियो । तर, गालिनाले जवाफमा यति मात्र भनिन्, ‘मेरो लोग्नेको पुनर्बहाली हुने भए मात्र म पनि आउँछु, नभए आउँदिन ।’ क्रमशः

टिप्पणीहरू