दिल्लीको सिंगडा

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत किन जानुभयो ? उहाँ भारत गएदेखि देशमा यही चर्चा छ । किनभने उहाँ भारत जानुको कारण अझै स्पष्ट भएको छैन । त्यसो त आफू भारत किन जान लाग्या भनेर त उहाँलाई पनि थाहा छैन । बोलाएपछि जानु परिहाल्यो, कुरो त्यति मात्रै हो । किन, कहाँ, कसरी, कुन प्रयोजन त उहीं पुगेर थाहा हुने हो ।
पूर्वप्रधानमन्त्री केपी ओलीले अस्ति एक ठाउँ प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीज्यू भारत किन जानुभएको ? सिंगडा खान ?’
वास्तवमा भारतले नेपालका प्रधानमन्त्रीलाई आफूकहाँ बोलाउने त सिंगडा खुवाउन पो रहेछ । पूर्व प्रम ओलीबाट यति कुरा थाहा लाग्यो । ६ महिनाअघि मात्रै उहाँ पनि सिंगडा जो खाएर फर्कनुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुनै जमानामा चिया बेच्नुहुन्थ्यो रे † चिया सँगसँगै सिंगडा पनि बेच्नुहुन्थ्यो होला । उहाँ अहिले भारतको प्रधानमन्त्री हुनुहुन्छ । तर, सिंगडा बेच्नचाहिँ अझै छोड्नुभएको रहेनछ ।
आखिर नरेन्द्र मोदीको सिंगडामा के त्यस्तो जादू छ जो नेपालका प्रधानमन्त्री घरी–घरी खान गइरहन्छन् ? सिंगडा पसल त नेपालमा पनि प्रशस्तै छ । तर, नेतालाई दिल्लीकै सिंगडा खानुपर्ने किन होला ?
त्यसको एउटा कारण हुन सक्छ । त्यो हो यो सिंगडा पक्कै पनि ‘पतञ्जली आँटा’ बाट बनेको हुनुपर्छ । त्यसैले प्रधानमन्त्री दाहाल यसपटक पतञ्जली आँटा उत्पादक श्री रामदेवको आँटा कारखाना पुग्नुभयो । एउटा सिंगडाको कमाल हेर्नुस्, मानिसलाई आँटा कारखानासम्म डो¥याइरहेको छ । वाह मोदी सिंगडा !

टिप्पणीहरू