राष्ट्रपति र प्रधानमन्त्रीका कारण लोकतन्त्र खतरामा पर्यो : देउवा

राष्ट्रपति र प्रधानमन्त्रीका कारण लोकतन्त्र खतरामा पर्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरात असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्रमाथि नै खतरा पैदा भएको बताउनुभएको छ ।

विपक्षी गठवन्धनले आज सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको अन्तरक्रियामा बोल्दै देउवाले प्रतिनिधिसभाका बहुमत १४९ सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि गरिएको दाबीलाई स्वेच्छाचारी ढंगले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिएको टिप्पणी गर्नुभयो ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरात असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ । प्रतिनिधिसभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ, हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौँ’, देउवाले भन्नुभयो ।

प्रधानमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण अहिले संविधान संकटमा परेको देउवाले आरोप लगाउनुभयो । असंवैधानिक रूपमा दुई पटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्र समाप्त गर्न खोजेको उहाँले उल्लेख गर्नुभयो ।

‘उहाँले असंवैधानिक रुपमा दुई–दुईपटक प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्नेजस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’, देउवाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेलेकाले सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी रहेको बताउनुभयो ।

देउवाले लोकतन्त्रको रक्षाका लागि नेपाली मिडियाको योगदानको प्रशंसा पनि गर्नुभएको छ । विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाका विरुद्ध तथा लोकतन्त्रको पुनःस्थापनाका लागि नेपाली जनताको आन्दोलनमा राज्यको चौथो अंगको रुपमा स्थापित नेपाली सञ्चारजगतले महत्वपूर्ण योगदान गर्दै आएको उहाँले बताउनुभयो ।

मिडियाले लोकतन्त्र, मानवाधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पहरेदारको भूमिका निर्वाह गरेको भन्दै उहाँले सञ्चारजगतको निर्भिक सक्रियताले संघीय लोकतान्त्रिक गणतन्त्रमाथिका प्रहार र खतरालाई चिर्न सार्थक योगदान पुर्याउने विश्वाससमेत जनाउनुभएको छ ।

टिप्पणीहरू