संसारका सबैभन्दा सफा र चिटिक्क यी शहर

संसारका सबैभन्दा सफा र चिटिक्क यी शहर

यो वर्ष पनि विश्वका १० स्वच्छ शहरको सूचीमा आइसल्याण्डको रिक्जाविक पहिलो नम्बरमा परेको छ । १ लाख २३ हजार जनसंख्या रहेको आइसल्याण्डको राजधानी रिक्जाविकमा नवीकरणीय ऊर्जाको प्रयोग गरिएको कारण शहर सँधै सफा रहेको बताइन्छ । त्यहाँ शून्य उत्सर्जन ऊर्जाको कारण वायुमण्डल सँधै स्वच्छ बनेको हो ।

द डिस्कभरका अनुसार दोस्रो स्थानमा क्यानाडाको भान्कुबर शहर रहेको छ । भान्कुबर हरियालीको निम्ति पर्यायवाची नै रहँदै आएको छ । चारैतिर जंगल,पहाड र नदीले घेरिएको उक्त शहरमा पनि अधिकतम नवीकरणीय ऊर्जाको प्रयोग हुन्छ । विशेषगरी जलविद्युतको अधिकतम प्रयोग नै कुनैपनि शहरको निम्ति उत्कृष्ट वायु गुणस्तर कायम राख्ने मापदण्ड पनि हो ।

तेस्रो स्थानमा दक्षिण अफ्रिकाको केपटाउन रहेको छ । केपटाउनलाई अफ्रिकाको सबैभन्दा पर्यावरणीय अनुकूल शहर मानिन्छ । सन् २००४ ताका यसको दिगो विकास कार्यक्रम संसारमै उदाहरणीय थियो । केप टाउनले जुन २०२० सम्म १० प्रतिशत सौर्य ऊर्जा र १० प्रतिशत नवीकरणीय उर्जा स्रोतको उपयोग गर्दै आएको थियो ।

डेनमार्कको राजधानी कोपेनहेगन सफा शहरको सूचीमा चौथो स्थानमा रहेको छ । जहाँ साइकललाई सबैले अत्यावश्यक सवारी साधन बनाएका छन् । हरियालीलाई उच्च महत्व दिइएको छ । कोपेनहेगनले सन् २०२५ सम्ममा विश्वको पहिलो कार्बन तटस्थ राजधानी बन्ने प्रयासको लागि धेरै वटा प्रयास गरिरहेको छ ।

पाँचौं स्थानमा अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड रहेको छ । संयुक्त राज्य अमेरिकामा हरियालीयुक्त शहरको संख्यामा लगातार विकास भइरहेको छ । पोर्टलैंड हरियाली,स्वच्छ वातावरण र पर्यावरणमा नयाँ शहरको रुपमा विकसित हुँदै गइरहेको छ ।छैठौं स्थानमा रहेको सिंगापुरले कडा सरसफाईका निर्देशन पालना गरेको पाइन्छ । एसियाकै सबैभन्दा धेरै सफा शहर पनि हो । यहाँ सार्वजनिक रूपमा थुक्नुलाई दण्डनीय अपराधसरह कारबाही गरिन्छ ।

विश्वका सफा शहरको सूचीमा सातौं स्थानमा अष्ट्रेलियाको एडिलेड रहेको छ । एडिलेडको आश्चर्यजनक पुनप्रयोग (रिसाइक्लिङ) प्रणालीले यसलाई उच्च श्रेणीमा पुर्याएको हो । उक्त शहरमा लगभग ८५ प्रतिशत फोहोरको पुनः प्रयोग गरिन्छ ।
लक्जमबर्गको राजधानी लक्जमबर्गले सफा शहरहरुमध्ये आठौं स्थान ओगटेको छ । लक्जमबर्गले दिगो विकास र वातावरणमैत्री शहरी योजनामा जोड दिएको छ ।

स्विजरल्याण्डको ज्यूरिच नवौं स्थानमा देखिन्छ । जहाँ प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली, फोहोरको पुनप्रयोग र कम ऊर्जा खपतमा कडा निगरानी गरिन्छ । जसका कारण शहरको भ्रमण गर्ने जो कोहीले निश्चित रूपमा अल्पाइन शहरको स्वच्छता र ताजा हावाको आनन्द लिन सक्ने बताइन्छ ।

दशौंमा क्यानाडाको अर्को शहर क्यालगारी रहेको छ । त्यहाँ पनि जलको स्वच्छता र उपलब्धता,ढल निकासको समुचित प्रणाली र फोहोरको पुनप्रयोगमा विशेष जोड दिइएको छ ।

यी सबैको एउटै निष्कर्ष छ,शहर सफा राख्न सर्वप्रथम समस्याको समाधान गर्नुपर्छ । मानव स्वास्थ्यमा खराब योगदान पुर्याउने सबैजसो फोहोरको व्यवस्थापन गर्ने हो भने हाम्रा शहर सफा राख्न कुनै गाह्रो नहुने विज्ञहरु बताउँछन् ।

टिप्पणीहरू