यो पढेर मन रुन्छ कि तपाईंको ? « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

यो पढेर मन रुन्छ कि तपाईंको ?

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०८:२३


राजेन्द्र स्थापित


वह पास रहे या दूर है
नजरों में समाए रहते है
इतना तो बता दे कोइ हमें
क्या प्यार इसीको कहते है ।
छोटी सी बात मोहब्बत की
और वह भी कही नहीं जाती
कुछ वह सरमाए रहते है
कुछ हम सरमाते रहते है ।
वरिष्ठ पत्रकार तथा पूर्व राजदूत कमल कोइरालाले अक्सर गुन्गुनाइरहने हिन्दी गीत हो यो । हुन पनि यो गीत उनैको युवावस्थामा निर्मित चलचित्र ‘बडीबहन’ को हो, जुन सन् १९४९ मा प्रदर्शित भयो । सन् १९४० र ५० को दशककी सबैभन्दा लोकप्रिय नायिका सुरैया उर्फ सुरैया जमाल शेखले गाएकी थिइन् । नायिका पनि उनै । चलचित्रमा गीत आफैं गाउँथिन् । त्यसबखत उनका प्रत्येक गीतमा दर्शक मन्त्रमुग्ध हुन्थे । ‘सोचा था क्या, क्या हो गया’, ‘ओ दूर जाने वाले’, ‘तू मेरा चाँद, मै तेरी चाँदनी’, ‘मुरलीवाले मुरली बजा’, ‘यह कैसी अजब दास्ताँ हो गइ, छुपाते छुपाते बयाँ हो गइ’, ‘दिल ए नादाँ तुझे हुआ क्या है’ सबैभन्दा चर्चित छन् ।
सन् १९४८ मा निर्माता प्रताप ए. रानाले ‘विद्या’ शुरु गरे । निर्देशनको जिम्मा गिरिश त्रिवेदीलाई दिए भने नायक र नायिकामा देवानन्द (देव आनन्द) र सुरैयालाई लिए । सुरैया त्यसबेलासम्ममा स्थापित नायिका बनिसकेकी थिइन् भने देव आनन्द मुम्बई चलचित्र उद्योगमा नयाँ थिए । त्यसो त ‘हम एक है’, ‘मोहन’, ‘आगे बढो’, ‘जिद्दी’ प्रदर्शित भइसकेको थियो तर चर्चित थिएनन् । छायांकनको पहिलो दिनमै नायक र नायिकाबीचको प्रेमदृश्य थियो । ‘रोमान्सिङ विथ लाइफ’ पुस्तकमा देव आनन्दले लेखेका छन्, ‘सुटिङ हुनु अगाडि नै सोच्न थालेको थिएँ कि मुलुकभरिकै युवाकी ड्रिम गर्लले आज मलाई अंगालो मार्नेछिन् । कति सुखद् हुनेछ, यदि त्यस क्षणलाई कसैले क्यामेरामा कैद गरिदिए भने !’ छायांकन शुरु हुनुअघि नै ‘अलि ध्यान राखेर मेरो कपाल छुनू ।’ कुरो सुनेर सुरैया खितिखिती हाँसिन् र भनिन्, ‘ठीक छ, तिम्रो जुल्फी खराब पार्दिन ।’
देव आनन्दले पहिलो दिनमै सुरैयालाई मन पराए । पटक–पटक नजर आफूतिर पर्ने गरेको देखेपछि सुरैयाले सोधिन्, ‘तिमी मलाई किन यसरी हेर्दै छौ ?’ उनले जवाफ दिए, ‘मेरो मनभित्र अनेक प्रश्न उब्जिरहेको छ । ती प्रश्नको जवाफ तिम्रो अनुहारमा हेरेपछि मिल्ने गर्छ । त्यसैले तिमीलाई हेरिरहुँ जस्तो हुन्छ तर विश्वास गर, सबै कुरा एकदिन भन्ने छु ।’
चलचित्रको एउटा दृश्यमा देव आनन्दले सुरैयाको हात चुम्छन् र फ्लाइङ किस दिन्छन् । जवाफमा सुरैयाले देव आनन्दको हात चुम्छिन् । यो दृश्य दिएपछि दुवै झनै नजिकिए । अर्को एउटा दृश्य डुंगामा छायांकन हुँदै थियो । अचानक डुंगा पल्ट्यो । सुरैया पानीमा डुबिन् । देव आनन्दले पौडी खेलेर बचाए । सुरैयाले धन्यवाद दिँदै भनिन्, ‘आज तिमीले नबचाइदिएको भए मेरो जीवन समाप्त हुन्थ्यो ।’ देव आनन्दले तुरुन्तै जवाफ फर्काए, ‘तिम्रो ज्यान गएको भए मेरो जीवन पनि समाप्त हुने थियो ।’
सुरैयाकै भनाइअनुसार यो घटनापछि उनलाई पनि देव आनन्द मन पर्न थाले । अब ‘डेटिङ’ शुरु भयो । ‘डिनर’ का लागि बाहिर जान थाले । सोही क्रममा एकदिन देवले भने, ‘तिमी मलाई कुन नाउँले बोलाउन चाहन्छौ ? त्यसो त सबैले माया गरेर देव भन्छन् ।’ तर, सुरैयालाई त्यो नाउँ त्यति मन परेन । नयाँ नाउँ राखिन्, ‘स्टिभ’ । देवलाई सुरैयाको नाक अलि लामो लाग्थ्यो, त्यसैले नाउँ राखिदिए, ‘नोजी’ । देव घरबाट बसमा आउँथे । चर्च गेट स्टेशनमा झर्थे । पैदल कृष्णा महलतर्फ जान्थे, जहाँ सुरैया बस्थिन् । सुरैयाको ‘दर्शन’ पाउन सडक पारी ठूलो भीड लाग्थ्यो । सडक जाम हुन्थ्यो । कहिलेकाहीं त प्रहरी लाठीचार्ज गर्न पुग्थ्यो । उनलाई मन पराउने एक प्रेमी बिहे गर्न पाउनुपर्ने माग अघि सारेर घरमुनि धर्नासमेत बसे । सुरैयाले सम्झाउँदै भनिन्, ‘तिम्रो प्रेम चोखो छ भने मेरोनिम्ति भए पनि कृपया अनशन रोक ।’ ती व्यक्ति पाकिस्तानी नायिका वीणाका भाइ थिए । त्यस्तै पाकिस्तानका अर्का प्रेमी जन्ती लिएरै कृष्णा महल पुगे । प्रहरीको हस्तक्षेपपछि बल्ल फर्के । विनोद नामक मेकअपम्यान ‘दिल्लगी’ चलचित्र हेरेपछि सुरैयाको प्रशंसक बने । सुटिङको समय सधैं सुरैयालाई हेरी बस्थे । एकदिन सुरैयाले निर्देशकलाई गुनासो गरिन् । पछि थाहा पाइन् कि सुरैयालाई हेर्न ती मान्छे लाहोरदेखि रेलवे लाइनबाट हिँडेर मुम्बई पुगेका रहेछन् । पछि उनैलाई सुरैयाले आफ्नो निजी मेकअपम्यान बनाइन् । कलकत्ताकी एक युवती आफ्नो बाउसँग सुरैयाको घर पुगिन् । सुरैया त्यसबेला घरबाट हिँडिसकेकी थिइन् । बाउछोरी ‘दिवाना’ को सुटिङ भइरहेको स्टुडियो पुगे । युवतीको स्वास्थ्य निकै नाजुक थियो । हात बरफजत्तिकै चिसो । सुरैयालाई नदेखेसम्म पानीसमेत नपिउने अड्डी लिएर बसेकी रहिछन् । सुरैयाले डाक्टर बोलाइन् । युवतीको रक्तचाप अति नै न्यून भइसकेको रहेछ । फलफूल ख्वाएर पठाइन् ।
सुरैयाको घरमा आमा मुमताज बेगम, बज्यै (आमाको आमा) बादशाह बेगम र मामा मोहम्मद जहुर बस्थे । सुरैयाको सबै काम बज्यै र मामाले सम्हाल्थे । देव आनन्दका साथीहरु बादशाह बेगमलाई गफमा भुलाएर राख्थे । देव र सुरैया घरका अन्य सदस्यको आँखा छलेर छतमा जान्थे, एउटा कुनामा बसेर घण्टौं कुराकानी गर्थे । केही समयपछि नै चलचित्र क्षेत्रमा दुवैको प्रेम सम्बन्धबारे चर्चा हुन थाल्यो । बादशाह बेगमको टाउको दुख्यो । देवलाई घर पस्न प्रतिबन्ध लगाइन् । त्यसो त सुरैयाकी आमा देवलाई मन पराउँथिन् तर घरमा उनको केही चल्दैनथ्यो । बादशाह बेगमदेखि डराउँथिन् । नातिनी सुरैया र देवको सम्बन्धप्रति बादशाह बेगमको पूर्ण असहमति थियो । सुरैयालाई मन पराउने कतिपय युवाले धर्मको कुरा उछाल्न थालेका थिए किनभने देव हिन्दु थिए । बादशाह बेगम नातिनीको बिहे एक हिन्दुसँग गराइदिन तयार थिइनन् । यसर्थ सुटिङमा बाहेक देवसँग नभेट्न सुरैयालाई चेतावनी दिइन् ।
सन् १९४९ मा सुरैया र देव आनन्दले एकैपटक दुईवटा चलचित्र ‘सनम’ र ‘जीत’ को लागि सम्झौता गरे । त्यसबेलासम्म सबै सुटिङमा सुरैयासँग बादशाह बेगम पनि जान थालिसकेकी थिइन् । देव र सुरैयाबीच प्रेमालापको दृश्य छायांकन हुँदा क्रोधित बन्थिन् । दृश्य हटाउन निर्देशकमाथि दबाबसमेत दिन्थिन् । यसका बाबजुद सुटिङको समय मौका छोप्दै देव–सुरैया भेट्थे । प्रेम गर्थे । यसबीच देव आनन्दले दाजु चेतन आनन्दसँग मिलेर निर्माण संस्था ‘नवकेतन’ बनाए । उक्त कम्पनीको पहिलो चलचित्र ‘अफसर’ को नायिकाका लागि सुरैया छनोट भइन् । नायक देव आनन्द नै बने । यो खबर सार्वजनिक हुनेबित्तिकै दुवैको प्रेमप्रसंग फेरि चर्चामा आयो । बादशाह बेगमले नातिनीलाई उक्त चलचित्रमा नखेल भन्न सकिनन् तर देव र सुरैया सँगै देखापर्ने हरेक दृश्यको सुटिङमा अवरोध खडा गरिन् । यहाँसम्म कि सुटिङ पहिला र पछि भेट्नसमेत रोक लगाइदिइन् । भेटघाटमा प्रतिबन्ध लागेपछि पत्रमार्फत मनको बह पोख्न थाले । प्रेमपत्र ल्याउने–पु¥याउने जिम्मेवारी क्यामेराम्यान दिवेचा, अभिनेता ओमप्रकाश र अभिनेत्री कामिनी कौशलले उठाए । पत्रमा एकले अर्कालाई स्टिभ र नोजीको नाउँबाट संबोधन गर्थे । एउटा पत्रमा देवले लेखे, ‘नोजी, जाआंै भागेर बिहे गरौं । हाम्रो जोडी सबैका लागि उदाहरण बनोस् ।’ पत्रमा सुरैया लेख्थिन्, ‘हाम्रो एउटी पुतली जस्ती छोरी होस्, जसलाई म राम्रो–राम्रो लुगा लगाइदिन पाऊँ ।’ देवले सोध्थे, ‘तिमीसँग खेल्नलाई त्यत्रो पुतली छन् फेरि अर्को पुतली किन चाहियो ?’ सुरैया जवाफ दिन्थिन्, ‘हैन हाम्री छोरीको नाउँ देविना राख्न ।’
देव आनन्द लोकप्रिय नायक बनिसकेका थिए । अक्सर चलचित्रमा कालो सुट लगाउँथे, जसलाई देखेर युवतीहरु मरिहत्ते गर्थे । तर, देव आफैं भने सुरैयासँग मात्र प्रेम गर्थे । सुरैयाका आदर्श अभिनेता थिए– अमेरिकी अभिनेता ग्रेगोरी पेक । सुरैयाले आफ्ना प्रेमी देवलाई उनै पेकको हेयर स्टाइल र उनैको जस्ता लुगा लगाउन दिएकी थिइन् । यही हेयर स्टाइल र लवाइले देवलाई महिला दर्शकको प्रिय अभिनेता बनाइदियो । स्मरणीय छ, एकेडेमी अवार्ड, गोल्डेन अवार्डलगायत दर्जनौं पुरस्कार जितेका पेक सुरैयालाई भेट्न उनैको घर पुगेका थिए । चलचित्र ‘जीत’ मा नायक र नायिकाबीच बिहे हुन्छ । बादशाह बेगमको व्यवहारबाट क्षुब्ध देव र सुरैयाले बिहेको मण्डपमा सक्कली पण्डितलाई बसालेर साँच्चैको बिहे गर्ने निधो गरे । सुटिङमा सक्कली पण्डित पुगे पनि तर चलचित्रका सहायक निर्देशकले बादशाह बेगमको सामु रहस्य प्रकट गरिदिए । बेगमले ठूलो हंगामा मच्चाइन् । नातिनी सुरैयालाई तानेर घर लगिन् । उक्त घटनापछि नातिनीको बिहे गराइदिन अग्रसर भइन् र त्यसबेलाका चर्चित पटकथाकार तथा काजल, चौदहवींका चाँद र बहुबेगमजस्ता सफल फिल्मका निर्देशक एम. सादिकलाई रोजिन् । सुरैया मानिनन् । देवसँग बिहे गरे मुलुकमा हिन्दु–मुस्लिमबीच दंगा हुने र देव मारिने धम्की दिइयो ।
कुरा सुनेर सुरैया डराइन् । परिवारका सदस्यले साँच्चै देवको ज्यान लिन सक्छन् भन्ने सोचिन् । त्यसैले चलचित्र ‘निली’ को सुटिङका बेला प्रेमीको मृत्युको कारण बन्न नचाहेकाले आफूलाई बिर्सन भनिन् । देवले प्रेमिकालाई धम्कीबाट नडराउन भने । कोर्ट म्यारिज गर्ने प्रस्ताव अघि सारे । तर, सुरैया टसमस भइनन् । देवलाई रिस उठ्यो । गालामा थप्पड हानिदिए । सुरैया क्वाँ क्वाँ रोइन् । देव सुटिङ छाडेर हिँडे । घर पुगेपछि पश्चाताप गरे । भित्तामा मुड्की बजार्न थाले । यसपछिको केही दिन भेट भएन । सुरैयाले पत्र लेखिन् । घरमा बसेर रोइरहेको, भेट्न चाहेको, भोलि साँझ फोनको नजिक बसेर प्रतीक्षा गरिरहने बताइन् । तर, जब भोलिपल्ट देवले फोन गरे, उनै बज्यै बादशाह बेगमले उठाइन् । फेरि फोन गरेमा वा कुनै तरिकाबाट भेट्ने कोसिस गरेमा प्रहरीमा रिपोर्ट दिने चेतावनी दिइन् । यसका बाबजुद देवले फोन गर्न छाडेनन् तर हरेकपटक उनै वृद्धाले उठाइन् । एकपटक भने आमा मुमताजले उठाइन् । सुरैया पनि भेट्न उत्सुक रहेको बताइन् । भोलिपल्ट कृष्णा महलको छतमा आउन भनिन् । कृष्णा महल मरिन ड्राइभमा थियो । भवनको अगाडि समुद्र । सुरैया यस भवनको भुइँ तलामा बस्थिन् । देवलाई मुमताजप्रति विश्वास थियो तर बादशाह बेगमप्रति थिएन । त्यसैले साथी प्रहरी इन्स्पेक्टर तारासँग कृष्णा महल पुगे ।
छतमा सुरैया थिइन् । दुवै धेरै बेरसम्म अंगालो हालेर रोए । सुरैया रुँदै ‘आइ लभ यु, आइ लभ यु’ भन्न थालिन् । देवले बिहे गर्न राजी छौ ? भनेर सोधे । सुरैयाको सकारात्मक जवाफ पाएपछि बजारमा गएर तीन हजारमा हिराको औंठी किने । औंठी सुरैयालाई लगाइदिन चाहन्थे । त्यसैले फोन गरे तर बादशाह बेगमले नै उठाइन् । त्यसैले औंठी सुरैयासम्म पु¥याउने जिम्मा क्यामेराम्यान दिवेचालाई सुम्पे । सुरैयाको घर सजिलै जान सक्ने दिवेचाले औंठी सुरैयालाई दिए, जसमा तीनवटा हिरा जडिएको थियो । साथमा सन्देश थियो, ‘मगनीको औंठी सम्झेर जतनसँग राख्नू ।’ सुरैयाले पनि दिवेचामार्फत प्रेमीलाई सन्देश पठाइन् । पत्रमा ‘गहिरो प्रेम गर्ने गरेको, भेट्न नपाएर पागल बनिरहेको’ उल्लेख थियो । दिवेचा गएपछि औंठी ओछ्यानमुनि लुकाइन् । देवसँग मगनी भएकै ठानिन् । निकै दिनसम्म कुनै सन्देश आदान–प्रदान भएन । सुरैयाको अवस्था बुझ्न देवले फेरि दिवेचालाई पठाए । तर, उनको भेट बादशाह बेगमसँग नै भयो । आइन्दा घर नआउन चेतावनी दिइन् । देवले दिएको औंठी देखिसकेकी रहिछन् । जबर्जस्ती उतार्न लगाइन् । र, खोसिन् । सुरैयाका अनुसार उक्त औंठी बज्यैले समुद्रमा फ्याँकिदिइन् । त्यो रात सुरैयाले रोएरै काटिन् । कलाकारहरु ओमप्रकाश, दुर्गा खोटे, गुरुदत्तलगायतले सुरैयालाई भगाएर देवसँग बिहे गराउने योजना बनाए तर बज्यैको क्रोध राम्रोसँग जानेकी सुरैया त्यसरी भाग्न मानिनन् । देवले उनलाई ‘कातर’ को आरोप लगाए तर पूरा जिन्दगी देवको सम्झनामा कुमारी भई बिताउन राजी भइन् । सन् १९५४ मा देवले कल्पना कार्तिकसँग बिहे गरेपछि एकान्त जीवन बिताउन थालिन् । सन् १९६३ मा प्रदर्शित अन्तिम चलचित्र ‘रुस्तम सोहराव’ पछि सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन छाडिन् । घरमा आउने कसैलाई भेट्दैन थिइन् । यसरी एकान्त जीवन जिउन थालेको ४० वर्षपछि ७४ वर्षको उमेरमा सन् २००४ को जनवरी ३१ मा निधन भयो । स्मरणीय छ, देवले आफ्नी छोरीको नाउँ सुरैयाले इच्छाएको ‘देविना’ नै राखे ।
सुरैयाको सम्झनालायक एउटा चलचित्र ‘मिर्जा गालिब’ पनि हो । चलचित्रमा एउटा गीत छ, मिर्जा गालिवको जुुन सुरैयाले गाएकी थिइन्,
‘ये न थी किस्मतके विशाल ए–यार होता
अगर और जिते रहते, यही इन्तजार होता
तेरे वादे पर जिए हम तो ये जान झूठा जाना
के खुशीसे मर ना जाते अगर एतवार होता ।’
यो चलचित्रले राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री जवाहरलाल नेहरुलाई सुरैयाद्वारा गाइएको उक्त गीत मन परेको रहेछ । व्यस्त कार्यक्रमको बाबजुद कार्यक्रममा उपस्थित भएका उनले पूरै चलचित्र हेरे । र, अन्त्यमा सुरैयालाई मिर्जा गालिबको आत्मालाई अमर तुल्याएको भन्दै धन्यवाद दिए । पञ्जाब (वर्तमान पाकिस्तानको भूभाग) मा जन्मेकी सुरैया आमाबाबुको एक्लो सन्तान थिइन् । आठ वर्षकै उमेरमा अल इण्डिया रेडियोमा गाउन थालेकी । संगीतकार मदनमोहन र अभिनेता राजकपुरले रेडियो स्टेसन पु¥याएका थिए । दुवै सुरैयाका बाल्यकालका साथी । राजकपुरले त समय–समयमा सुरैयाको कपाल तान्दै ‘काली कलुटी’ भनी जिस्क्याउँथे । संगीतको औपचारिक प्रशिक्षण नलिएकी सुरैयालाई संगीतकार नौशादले शिखरमा पु¥याएका हुन् । सन् १९४१ मा १२ वर्षकै उमेरदेखि चलचित्रमा अभिनय गरिसकेकी उनी त्यस समयकी सबैभन्दा महँगो गायिका–नायिका थिइन् । देव आनन्द र उनले सातवटा चलचित्रमा अभिनय गरेका छन् । देवबाहेक उनलाई नायकद्वय रहमान, सुरेश र निर्देशक एम. सादिक एकोहोरो प्रेम गर्थे । उनको प्रशंसकमध्येका एक धर्मेन्द्र पनि हुन्, जसले उनको चलचित्र ‘दिल्लगी’ २० पटक हेरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !