रेखा थापाको प्रश्न जसले बूढा नेताहरूलाई पोल्दैन

रेखा थापाको प्रश्न जसले बूढा नेताहरूलाई पोल्दैन

कलाकारितासँगै राजनीति गरिरहेकी अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । कुनै जमानामा चल्तीको नायिका रहेकी थापा अहिले राप्रपाको राजनीतिमा छिन् । उनै थापाले राप्रपाले हिजो गठन गरेको केन्द्रीय विशेष समितिको औचित्यमाथि प्रश्न उठाउँदै कुन चाहिँ राप्रपाले देश हाँक्ने हो भनेर सोधेकी छन् ।

राप्रपाको केन्द्रीय विशेष समितिमा बूढा नेताको बर्चस्व रहेको र समावेशी नभएको टिप्पणी भैरहेका बेला थापाले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेकी छन्, ‘कुनचाहिँ राप्रपाले देश हाँक्ने हो ? त्यो राप्रपा जसले देशमा को–को मान्छे बस्छन् थाहा पाएको हुन्छ । न्यूनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक,वैचारिक नमुना पेश गर्छ, सभ्यताको मागअनुसार इतिहासको उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।

राप्रपाको निर्णयले महिलालाई बहिष्करणमा पारेको,श्रमिक, मजदुर,युवा र किसानलाई उपेक्षा गरेको आरोप लगाउँदै अभिनेत्री थापाले विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गराइएको बताएकी छिन् ।

‘त्यो रा.प्र.पा.जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर,किसान,श्रमिक र युवासँग डराउँछ,बिरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिदैन- सम्झौतावादी राजनीति गर्छ,अवैज्ञानिक रुपमा पार्टी सन्चालन गर्छ,आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ,जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ,उनले भनेकी छिन् ।

थापाले थप प्रश्न गरेकी छन्, ‘कुन चाहिँ राप्रपा बैकल्पिक शक्ति बन्ने हो ? कुनचाहिँ राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुनचाहिँ राप्रपा उदाउँदो राप्रपा हो ? कुन चाहिँ राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाहिँ राप्रपा व्यवहारमा- वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?’

यसअघि तत्कालीन माओवादी पार्टीमा रहेकी अभिनेत्री थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कम्मर मर्काइ-मर्काइ नाचेर चर्चामा आएकी थिइन् ।

टिप्पणीहरू