झन बन्देज,झन बिश्वभर विरोध

झन बन्देज,झन बिश्वभर विरोध

कोरोना महामारीको बेला विश्वका अधिकांश मुलुकमा निषेधाज्ञा लागू गरिएपछि हिंसात्मक प्रदर्शन कम हुनुपर्नेमा झन् बढ्दो छ । सन् २०२० को मार्चदेखि २०२१ को जुन महिनासम्म निषेधाज्ञाका बाबजुद विश्वभर ५ हजारभन्दा बढी बिरोध प्रदर्शन भएका छन् ।

द इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार कोभिडको पहिलो लहरमा मान्छे घरमै अड्किएपछि हिंसामा कमि आएपनि महामारी फैलिन थालेपछि नाटकीय रूपमा जनअसन्तोष बढेको छ ।

अघिल्लो वर्षको तुलनामा २०२० मा हिंसात्मक प्रदर्शन १० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विश्वभर १४ हजार ८ सय ७१ हिंसात्मक प्रदर्शन भएका थिए ।

विशेषगरी भारत,चिली,इटाली, फ्रान्स,जर्मनी र दक्षिण अफ्रिकामा यस्ता दंगा र प्रदर्शन भएका हुन् । ती सबै प्रदर्शन कोभिडसँग सम्बन्धित नभएको र धेरैजसो जनजीविकासँग जोडिएको बताइन्छ । भारतको किसानसम्बन्धी नयाँ ऐन र बेलारुसको चुनावले धेरै हिंसा निम्त्याएको प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष पनि सन् २००८ देखि शान्तिमय देशको रूपमा रहँदै आएको आइसल्याण्ड नै शान्त रहेको छ भने बेलायत गत वर्षभन्दा ६ स्थान माथि उक्लेर ३३ औं स्थानमा पुगेको छ ।

लगातार ४ वर्षदेखि सबैभन्दा धेरै अशान्त मुलुकमा अफगानिस्तान दर्ज भएको छ । यमन,सिरिया , सुडान र इराकले अफगानिस्तानलाई पछ्याएको देखिन्छ ।

यसबीच सबैभन्दा धेरै हिंसा बढेको क्षेत्र उत्तर अमेरिका हो । त्यहाँ राजनीतिक अस्थिरता,हत्या र हिंसात्मक प्रदर्शन ह्वात्तै बढेको छ ।

टिप्पणीहरू