यो सरकारमाथि अब हाम्रो समर्थन रहँदैन « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

यो सरकारमाथि अब हाम्रो समर्थन रहँदैन

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०८:१४


महेन्द्र राय यादव, अध्यक्ष– तराई–मधेस सद्भावना पार्टी


लामो समय एमालेको राजनीतिमा रहेका, मन्त्री पनि भएका महेन्द्र राय यादवले ०६४ को पहिलो संविधानसभा निर्वाचनपूर्व सांसद पदबाट राजीनामा दिँदै एमाले परित्याग गरेका हुन् । एमालेले मधेसको मुद्दा नबोकेको नाममा राजीनामा गरेका उनी पहिला महन्थ ठाकुर नेतृत्वको तमलोपामा गए । पछि पार्टी फुटाएर तराई–मधेस सद्भावना पार्टीको अध्यक्ष छन् र उनीसँग तीनजना सांसद । सर्लाहीबाट अर्का मधेसवादी अगुवा राजेन्द्र महतोलाई प्रत्यक्षतर्फ हराएर सांसद बनेका हुन् ।
मधेसी दलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणपूर्व नै संविधान संशोधन गर्ने वचन दिए, तर त्यो पूरा नगरी उनी भोलिदेखि भारत भ्रमणमा जाँदैछन् । आन्दोलनरत मधेसी दलमध्ये पनि महेन्द्र राय सरकारको यो रवैयासँग बढी नै क्रुद्ध छन् । उनले समर्थन फिर्तासम्मको स्थितिबारे विश्लेषण गर्ने गरेका छन् ।
० प्रधानमन्त्री भारत जानुपूर्व नै गर्ने भनिएको संविधान संशोधन नभई जाँदै हुनुहुन्छ । यो घटनाले सरकारलाई हेर्ने तपाईंहरूको दृष्टिकोणमा केही भिन्नता आयो कि ?
– हामीले माग गरेकोे होइन, उहाँले नै भारत जानुअघि संविधान संशोधन गरेरै जान्छु भन्नुभयो । हामीसँग भएको तीन बुँदे सम्झौतालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्छु र संविधान संशोधन नहुँदाका समस्यालाई समाधान गर्छु पनि भन्नुभयो । तर, किन बोलेको कुरा पूरा गर्नुभएन ? यो हाम्रो होइन, उहाँको समस्याको विषय हो ।
० कारण के होला ?
– नेपाली कांग्रेस यो संशोधन प्रक्रियामा जति गम्भीर हुनुपथ्र्यो, त्यस्तो हुन सकेन । ठूलो राजनीतिक दल हुनुको नाताले समस्या कांग्रेस र माओवादीबीचमै देखिन्छ । संविधान घोषणा गरेको भोलिपल्टै सुशील कोइरालाले संशोधन प्रस्ताव पेश गर्नुभयो र केपी ओलीको सरकार बनेपछि त्यो पास पनि भयो । केपीले दिल्लीमा विशेष दूतमार्फत चार बुँदा संशोधन प्रस्ताव पठाउनुभयो । हामी दिल्ली पुगेर सुष्मा स्वराजसँग भेट्दा लज्जित भयौँ हाम्रो सरकारले हाम्रो माग सम्बोधन गर्नेबारे हामीसँग होइन, सोझै दिल्लीसँग पत्राचार गर्दाेरहेछ । पछि त्यही कुरालाई निरन्तरता प्रचण्डले दिनुभयो । हामीलाई यो सरकारसँग जुन आशा थियो, त्यो अब दिनप्रतिदिन शंकाको रूपमा परिणत हुन थाल्यो ।
० सरकारको नेतृत्व माओवादीले गरिरहेको छ । तर, मुख्यतः कांग्रेस यसमा दोषी हो भन्नु भयो । कसरी ?
– उहाँहरूबीचमा सरकार आलोपालो गर्ने कुरा छ । त्यसकारण मलाई लाग्छ कि, कांग्रेस बढी जिम्मेवारीका साथ अघि बढ्नुपर्ने हो । किनभने, हामीलाई माओवादीसँग भन्दा बढी विश्वास कांग्रेससँग थियो ।
० तर, एमाले नमान्दा हुन नसकेको भन्ने सत्तारुढ दलको भनाइ छ नि †
– एमालेले औचित्यका आधारमा संशोधन गर्ने भनिसकेको छ । त्यसैले हामी उसलाई शंका गरिरहेका छैनौँ । अन्तिममा ऊ संशोधनका लागि तयार हुन्छ । तर, सबभन्दा पहिला त कांग्रेस र माओवादी तयार हुनुप¥यो । समस्या सत्तापक्षमा छ, प्रतिपक्षमा होइन ।
० एमाले संशोधनमा आउँछ भन्ने विश्वास कसरी गर्नुभयो ?
– बोल्ने एउटा कुरा हो, तर अफिसियल्ली एमालेको लाइन भनेको औचित्य र आवश्यकताका आधारमा जाने भन्नु संशोधनमा जाने कुरा नै हो । एमालेभित्र आदिवासी, जनजाति, मधेसी र थारू समुदायको नेतृत्व छ । त्यसैले ऊ यसमा आउँछ ।
० प्रचण्ड सरकारसँग यहाँहरूको दूरी अब निक्कै बढ्यो त ?
– प्रचण्डजस्तो मान्छेले हल्काफुल्का ढंगले जे बोल्नुभयो, त्यसले हामीलाई शंका लागेको छ । यसले नेपाली जनतामा अविश्वास पैदा गर्छ । यही कुरालाई लिएर उहाँले दुई छिमेकी देशमा विशेष दूत पठाउनुभयो । अन्तर्राष्ट्रियस्तरमा पनि यो कुरा गइसकेको छ । प्रधानमन्त्रीको कुरामै विश्वसनीयता भएन भने देशको स्थिति के होला ? हामी त अहिले पनि आशावादी छौँ, उहाँले बोलेको पूरा गर्नुहोला । तर, यही परिस्थिति रहिरहने हो भने हाम्रो समर्थन रहँदैन ।
० यो सरकारमा जाने त झन् कुरै रहेन होला †
– हामीले प्रगतिशील संविधान माग्याँै, बन्यो यथास्थितिवादी । यस्तो स्थितिमा बनेको सरकारमा हामी जाँदैनौँ । हाम्रो माग सम्बोधन नभइकन बन्ने कुनै पनि सरकारमा हामी जाँदैनौँ । अहिले त माग सम्बोधनको त कुरै छाड्नुस्, आफैँले व्यक्त गरेको बचनबद्दता पालना नभएको स्थिति छ ।
० एमाले सरकारका पालामा यही सहमति किन भएन ?
– एमालेले गर्न नचाहेको हो । पहिचान र सामथ्र्यका आधारमा संविधान संशोधन गर्ने कुरामा बेइमानी देखायो । यो हामीले मात्रै भनेको कुरा होइन, एमालेभित्रै केपी ओलीका बारेमा जे प्रश्न उठेका छन्, त्यसैले पनि पुष्टि गर्छ । विगतको कुरामा भन्दा पनि अहिले एमालेले प्रतिपक्षको हैसियतले मुलुक र राष्ट्रको समस्या समाधान गर्न पहल गर्नुपर्छ । मलाई पहल गर्छ भन्ने कुरामा विश्वास पनि छ । किनभने, एमालेलाई पनि मधेसमा राजनीति चलाउनु छ । त्यहाँ पनि मधेसी समुदायका प्रशस्तै नेता, कार्यकर्ता छन् । मधेसका मुद्दा मधेसमा टेबुल गर्नका लागि पनि उसले मधेसका समस्याबारेमा केही न केही कदम चाल्नै पर्छ । यदि एमाले यो मुद्दाबाट बाहिर गयो भने स्वतः समाप्त हुन्छ ।
० संविधान संशोधनमा सरकारप्रति तपाईंहरूको अविश्वास पैदा भइसक्यो । अब यसबाहेकका विषयमा यो सरकारको भूमिका कस्तो लागिरहेको छ ?
– त्यसो त अहिले नै यसबारे बोलिहाल्ने बेला भएको छैन । तर, ‘मर्निङ सोज दी डे’ भनेजस्तो विहानको संकेत राम्रो छैन ।
० मधेसी मोर्चाभित्र सरकारमा गइहालौँ र अहिले नजाऔँ भन्ने दुई कित्ता छ हैन ?
– कसैको मनमा त्यस्तो लागेको होला, तर हामी मागमा अडिग छौँ । हामी यही अवस्थामा सरकारमा जाँदैनौँ ।
० विजय गच्छेदारको पार्टीचाहिँ ?
– उहाँहरूका लागि मुद्दाभन्दा सत्ता नजिक छ । त्यसका लागि धेरै कसरत गर्नुभएको पनि छ ।
० मधेस आन्दोलन नै विभाजित हुँदा सरकारले हेप्नु स्वाभाविक होइन ?
– हिजोसम्म निर्वाचन आयोगको सूचीमा राजनीतिक दलको संख्या एक सय ६७ थियो । अझै १० वटा दल दर्ताको प्रक्रियामा छन् । त्यो हिसाबले हेर्दा मधेसमा त जम्मा १०–११ वटा पार्टीमात्र छन् । मधेस केन्द्रित पार्टी धेरै भयो भन्नु गलत कुरा हो । स्वाभाविक रूपमा मधेसी जनताको चाहना एउटै पार्टी होस् भन्ने छ । हामीले पहिलो संविधानसभामा पाएको मत संख्या १२ प्रतिशत थियो । अहिले पनि मत संख्या घटेको छैन । मात्रै प्रत्यक्ष निर्वाचनमा कम जितेका हौँ । भारतमा तालमेल गर्दा जसरी लालुजी र नितिशले सफलता हासिल गरे, मधेसमा पनि त्यस्तो सम्भावना छ । हाम्रा पार्टीहरू नमिल्ने इस्युमा हैन । पार्टीको अध्यक्ष को हुने ? पार्टीको नाम के राख्ने ? झन्डा के राख्ने ? सांसद–मन्त्री कसलाई बनाउने ? यस्ता–यस्ता कुरामा विभाजित छौँ, मधेसका इश्युमा एक छौँ । युरोपमा २२ वटा देश एउटै मुद्रामा चल्नसक्छ भने मधेसी दल मिलेर जान नसक्ने कुनै कुरा छैन ।
० उपेन्द्र यादव र अशोक राईको पार्टीबीचको एकता ठीक थियो ?
– उहाँहरूको एकता हुनुअघि र पछिको मधेस आन्दोलनको तुलना गर्दा एकतापछिको आन्दोलन बढी प्रभावकारी पाइन्छ । मधेसी नक्कली राष्ट्रवादको कुरा गरेर भारतबाट सञ्चालित छन् भन्ने मानसिकता राखिन्थ्यो । तर, उहाँहरूको एकताबाट त्यो होइन भन्ने सावित भएको छ । नभए, मधेस आन्दोलनका क्रममा हामीले धेरै दुःख पायौँ । निषेधाज्ञा लगाइन्थ्यो । धर्ना बसेको ठाउँमा बुट बजारिन्थ्यो । हामी सीमामा गएर धर्ना बस्यौँ । त्यहाँबाट पनि लात खाएर भाग्नुप¥यो । जब अशोकजीहरू यो मुभमेन्टमा आउनुभयो, अब नयाँ राष्ट्रिय एकताको आन्दोलन शुरु भयो भन्ने निश्कर्षमा हामी पुगेका छौँ । हामीले उठाएका मुद्दा राष्ट्रिय हुने, हाम्रो आन्दोलनलाई क्षेत्रीय भन्ने स्थिति रह्यो । विगतको मधेस आन्दोलनमा साम्प्रदायिकता देखिन्थ्यो । तर, यसपटक त्यस्तो भएन । पहाडेमूलका बासिन्दा पनि आन्दोलनमै थिए वा आन्दोलनको समर्थनमा मात्रै भए पनि हामीसँगै थिए । तराईका कुनै पनि राजमार्गमा मधेस आन्दोलन बिथोल्ने कुनै काम भएन । किनभने, हामी बस्नु त एउटै प्रदेशमा छ नि †
० एमाले छाड्नुभएको मुद्दाको कारणले कि व्यवहारका कारणले ?
– हामीले सातौँ महाधिवेशनबाटै गणतन्त्रको कुरा उठायौँ । म, सीतानन्दन राय, मदन ढुङ्गेललगायतका साथीहरूले यो कुरा उठाउँदा ‘यिनीहरू कहाँबाट सञ्चालित छन्’ भनेर शंका गरियो । एमालेमा मधेसको समस्या मदन भण्डारीले मात्रै बुझ्नुभएको थियो । उतिबेलै उहाँले मधेसको समस्या बुझ्नका लागि एउटा कार्यदल बनाउनुयो । पछिको नेतृत्वले त्यो कार्यदललाई वास्ता गरेन । ‘सद्भावना पार्टीले गर्ने काम हामीले गर्ने होइन’ भनेर मधेसका समस्यालाई नजरअन्दाज गर्ने काम भयो । हाम्रो असन्तुष्टि त्यतिबेलादेखि नै हो । मधेसमा जब आन्दोलन भयो, एमालेको भूमिका दमनको पक्षमा थियो । म त्यतिबेला सांसद थिएँ, एमालेबाटै । हामीले ४३ दिनसम्म संसद अबरुद्ध ग¥यौँ । मधेसका ५५ जना सांसदले हस्ताक्षर गरेर ज्ञापनपत्र पनि बुझायौँ । इमानदार कार्यकर्तालाई पाखा लगाउने काम भयो । एमालेमा लामो जीवन बित्यो । तर, उसले संघीयताको मुद्दा उठाउन हिचकिचाहट देखायो । जातीय समस्या छैन भन्ने, तर जातीय मोर्चा पनि बनाउने ढुलमुले चरित्र देखायो ।
० अहिले एमाले सुध्रियो कि ?
– एमाले सुध्रिएको भए यत्रो मधेस आन्दोलन नै चल्दैनथ्यो । भेषभूषाकै कुरा गर्नुस् न, राज्यले सबै जातजातिका भेषभूषालाई समान मान्यता दिएको छ । तर, एमालेले मधेसीले पनि दौरासुरुवाल लगाउनुपर्छ भनेर जसरी भनेको छ, त्यो विभेदकारी, अहंकारी छ । त्यो एकात्मक शासन प्रणालीको अभ्यास हो । अझै पनि महेन्द्रवादी चिन्तनमा हिँडेर एमालेको भविष्य राम्रो हुँदैन । एमालेले जनताको बहुदलीय जनवादको भावनाबमोजिम चल्न जानेन । यदि जानेको भए यो हविगत हुने थिएन ।
० संविधान जारी भएपछि राजीनामा घोषणा गर्ने तपाईंहरू अहिले पनि फेरि त्यही संसदमा छिर्दा नैतिकताको ख्याल भएन ?
– जसले त्यसो गरे, नैतिकताको प्रश्न उनीहरूलाई गर्नुस् । हामीले कहिल्यै पनि राजीनामाको कुरा गरेनौँ । राजीनामा गर्नु भनेको मधेसका हाम्रा मतदाता जनतामाथिको धोका हो । हामीले त्यहाँलाई जनताले ‘समस्या परेको बेला राजीनामा गरेर भाग’ भन्नका लागि मत दिएका थिएनन् । मधेसी मोर्चामा मै र हाम्रो पार्टीमात्रै हो, जसले राजीनामा घोषणा गरेन, दिएन पनि । जसले राजीनामा भन्यो, त्यो नक्कली कुरा थियो । आखिर आज नक्कली कुरा सावित पनि भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !