कसको के लाग्छ र मर्न रहर गरेपछि « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

कसको के लाग्छ र मर्न रहर गरेपछि

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०८:११


सन् १९७० नोभेम्बर २५ मा मिशिमा नुहाएर तयार भए । पत्नी योको छोराछोरीलाई स्कुल छाड्न हिँडिसकेकी थिइन् । मिशिमाले सधैं लगाउने लुगामाथि तातेनोकाइको पोशाक लगाए । अटैची ब्यागमा छुरा, दुवैतिर धार भएको कटारी, कागज र एउटा लामो सामुराइ तरबार राखे । कुर्सीमा ठूलो खाम थियो, जसमा उनले लेखेको उपन्यास ‘सी अफ फर्टिलिटी’ को अन्तिम भाग थियो । यो उपन्यास लेखनमा ६ वर्ष लगाएका थिए । त्यसपछि केही पत्रकारलाई फोन गरे । ठूलो घटना हुन लागिरहेकाले तयार रहन भने ।
१० बजे छिवी कोगा नामक विद्यार्थी घरभित्र पसे । मिशिमाले सामान बोक्न भने । कम्मरमा तरबार भिरेर गाडीमा बस्न गए । गाडी पूर्वी टोकियोस्थित इचिगायातर्फ दौडियो । इचिगाया, जहाँ सन् १९५४ मा गठित एकीकृत सेनाको पूर्वी कमाण्ड मुख्यालय थियो । त्यहाँका जर्नेलसँग भेटघाटको समय पहिल्यै तय गरिएको थियो । त्यसैले मिशिमा तथा उनका चारैजना साथी हिरोसी कोगा, मासायोसी कोगा, मासाहिरो ओगावा र मासाकात्सु मोरितालाई जर्नेल माशिताको कक्षमा पुग्न कुनै गाह्रो भएन । मिशिमाका सहयोगी कोगाद्वय कानागुवा विश्वविद्यालय, ओगावा मेइजी विश्वविद्यालय र मोरिता वासेडा विश्वविद्यालयमा अध्ययनरत छात्र थिए । जर्नेल माशिताले पाँचैजनालाई उठेर स्वागत गरे । औपचारिक कुराकानीपछि मिशिमाले साथीहरुलाई इशारा गरे । अचानक चारैजना ज¥याकजुुरुक उठे र जर्नेललाई समाते । डोरीले कुर्सीसँगै बाँधिदिए । जर्नेल जिल्लाराम परे । लगत्तै मिशिमा, छिबी उर्फ मासायोसी, मासाहिरो, मासाकात्सु र हिरोसी पाँचै जनाले कोठामा भएको टेबुल–कुर्सी ढोकामा राखेर मोर्चाबन्दी गरे ।
तर, सँगैको कोठामा अन्य सैनिक भएको थाहा पाएनन् । दुई कोठाको बीचमा एउटा प्वाल रहेछ, जहाँबाट सैन्य अधिकृतहरुले जर्नेलको कोठामा भइरहेको सम्पूर्ण गतिविधि थाहा पाए । मिशिमाबाहेक कोही कसैले पनि योजनाबारे पूर्ण जानकारी पाएका थिएनन् । उनीसँगै सहभागी चार जना पनि उनको निर्देशनानुसार मात्र चल्दै थिए । यथार्थमा मिशिमा सैनिकलाई उक्साएर विद्रोह गराउन चाहन्थे र सेनालाई सम्राटको मातहत राख्न चाहन्थे । उनको भनाइ थियो, दोस्रो विश्वयुद्धपछि सम्राटलाई कमजोर बनाइयो । सेना राष्ट्रको सुरक्षा गर्न असमर्थ भयो । स्मरणीय छ, दोस्रो विश्वयुद्धपछि गठित एकीकृत सेना रक्षा मन्त्रालयमातहत सञ्चालन हुन्थ्यो । मिशिमाले जर्नेल माशितालाई आदेश दिए, ‘ब्यारेकको परेड ग्राउण्डमा एक हजार सैनिकलाई उपस्थित हुन लगाउनू ।’ उनी सेनालाई संबोधन गर्न चाहन्थे तर अचानक सैन्य अधिकृतहरुले ढोका ढक्ढक्याउन थाले । ‘ढोका खोल्नु, भित्र के भइरहेको छ’ भनी कराउन थाले । बाहिरबाट एकैसाथ धक्का दिएपछि ढोका खुल्न नदिन राखिएको टेबुल–कुर्सी लड्यो, सबै भित्र पसे ।
मिशिमाले तरबार उज्याउँदै कराए, ‘जाऊ सबै बाहिर निस्क ।’ सैन्य अधिकृतहरु निहत्था थिए । मिशिमाका एकजना साथी जर्नेल माशिताको गर्धनमा छुरा तेस्र्याएर उभिएका थिए । सैन्य अधिकृतहरु एक–एक इञ्च गरी अघि बढ्दै थिए । अचानक तरबार नचाउँदै मिशिमा अघि बढे । ‘निस्क, बाहिर निस्क’ भन्दै आक्रमण गर्न थाले । सेनाको लुगामा रगतको छिटा पर्न थाल्यो । केही सैनिक घाइते भएपछि बाँकी सैनिक घाइतेलाई घिसार्दै बाहिर निस्के । सबैजना हैरान थिए, यी सबै किन र केका लागि भइरहेको छ । मिशिमा वास्तवमा के चाहन्थे, कसैलाई थाहा थिएन । जर्नेल माशिता त्यतिञ्जेलसम्म पनि मिशिमाहरुकै कब्जामा थिए । एकछिन पछि सैनिक अधिकृतहरु फेरि ढोकानेर पुगे तर केही गर्न सकेनन् । आफ्ना हाकिमको दुर्दशा हेरेर बसिरहे । मिशिमा फेरि कराए, ‘हेर, राम्रोसँग हेर ! तिमीहरु यहाँबाट गएनौ भने जर्नेल माशिताको ज्यान लिइदिन्छु ।’
सैनिकहरु मौन खडा थिए । मिशिमा आँखा रातो पार्दै पुनः चिच्याए, ‘अन्तिमपटक चेतावनी दिँदैछु, निस्क । हैन भने साँच्चै मिशिमाको ज्यान लिइदिन्छु ।’ सैन्य अधिकारी कुरो गर्दै विस्तारै भित्र पाइला चाल्दै थिए । यसपछि मिशिमाले फेरि पनि तरबार चलाएर अधिकृतहरुलाई घाइते पारे । विवश भएर उनीहरु बाहिरिए । ढोका बन्द भयो । फर्निचर सारेको आवाज सुनियो । एकजनाले माशिताको मुखमा कपडा कोचिदिए । अर्कोले मागपत्र पढेर सुनाउन थाले । उनीहरुको माग थियो–
१)    ३२ औं इन्फेन्ट्री रेजिमेन्टअन्तर्गतका एक हजार सैनिक भवनअगाडिको मैदानमा भेला होउन् ।
२)    मिशिमाले उनीहरुलाई संबोधन गरेर भाषण दिनेछन् ।
३)    भाषण दिइरहेको समयमा कसैले बाधा–अवरोध नपु¥याउन्, शान्तिपूर्वक सुनेर बसुन् ।
४)    क्याम्पबाहिर बसिरहेको जेइताइका ४० सदस्यलाई पनि भित्र पस्न दिइयोस् ।
५)    नब्बे मिनेटको युद्धविराम गर्ने, यसबीच सेनाले मिशिमामाथि आक्रमण नगर्ने । यसपछि माशितालाई सुरक्षित सेनालाई सुम्पने । कसैले युद्धविराम तोड्ने कोसिस गरे वा कुनै खतरा देखिए माशितालाई मारेर मिशिमा आफैं पनि हाराकिरी गरेर मर्ने ।
उक्त सन्देश सेनाको मुख्यालय, प्रहरी सबैलाई दिइयो । एकछिनपछि हेलिकप्टर उड्न थाल्यो । मैदानमा भेला भएका एक हजार सैनिक ठूलो स्वरमा हल्ला गर्न थाले । मिशिमाका सहयोगीले जापानी अक्षर लेखिएको कपडाको लामो ब्यानर बाल्कोनीबाट तल झुण्ड्याइदिए । त्यसपछि पर्चा फ्याँके । लेखिएको थियो, ‘सशस्त्र सेना जापानको आत्मा हो तर देशको नेतृत्वले यसलाई खेलौनासरह  दुरुपयोग गर्दै छ । हाम्रो मूलभूत मूल्य खण्डित भइरहेको छ । राष्ट्रको सम्मान दाउमा छ, सम्राटलाई उचित सम्मान दिन छाडिएको छ । हामी सशस्त्र सेनाले विद्रोह गर्छन् भन्ने व्यर्थको आशा लिएर बसिरहेका छौं । हामीले जापानलाई उसको सही स्थान दिलाउनु छ, यसप्रति न्यौछावर होऔं !’
मैदानमा एकत्रित सेना चिन्तित थिए । सबै युवा तर युद्धको अनुभव नभएका । ठीक १२ बजे मिशिमा बरण्डामा देखापरे । त्यसलाई नाघेर बलेसीमा उभिए अनि भाषण दिन थाले, ‘मलाई भरोसा थियो एकीकृत सेना जापानको अन्तिम आशा, जापानी आत्माको अन्तिम आधार हो तर आजभोलि सबै धन कमाउने धन्दामा मात्र लाग्न थालेका छन् । हाम्रो राष्ट्रिय भावना कता गयो ? राजनेता सबै सत्ताको पछाडि मात्रै दौडिए । उनीहरू कसैलाई मुलुकको परवाह छैन… तर…’
सैनिक चिच्याउन थाले । हेलिकोप्टरका कारण त्यसै पनि केही सुनिएको थिएन । सैनिक मिशिमालाई गाली गर्न थाले । मिशिमाले धेरै कोशिश गरे तर भाषण जारी राख्न सकेनन् । सेनालाई विद्रोहका लागि उक्साउन खोजेको भाषण खिसी र गिज्याउनमै सीमित भयो । ‘यसलाई गोली हान’ सैनिक चिच्याउन थाले । निराश मिशिमा कोठामा पसे । ‘उनीहरुले मेरो कुरा सुनेनन्,’ सहयोगीलाई बताए । त्यसपछि लगाइराखेको ज्याकेट फुकाले । उनी अब कम्मरमाथि नांगो भए । कोठामा बिछ्याइराखेको कार्पेटमाथि घुँडा टेकेर बसे । जर्नेल माशिता उनीभन्दा ६ फुट टाढा । मिशिमाले पाइन्ट फुकाले । भित्र सेतो अण्डरवेयर थियो । मासाकात्सु मोरिता पछाडि उभिन पुगे । मिशिमाले एक फुट लामो छुरा उठाए । ओगावा एक पाना कागज र ब्रस लिएर अघि बढे । मिशिमा रगतले केही सन्देश लेख्न चाहन्थे तर एकाएक मन बदलियो । ‘अब यसको आवश्यकता छैन’ भन्दै पेट मुसार्न थाले । छुरा पेटमा टिकाए । मोरिताले तरबार उज्याए । उनको निशाना मिशिमाको गर्धन थियो तर उनी पसिना–पसिना भए । तरबार समाइराखेको हात काँप्न थाल्यो ।
मिशिमाले जर्नेललाई हेर्दै भने, ‘…म तिमीलाई मार्छु, आफू पनि हाराकिरी (पेट चिरेर आत्महत्या गर्ने प्राचीन जापानी शैली) गरेर मर्छु ।’ यति भनी सम्राटको जयजयकार गरे । काँध झुकाएर फोक्सोबाट हावा निकाले । ओ…ओ गर्दै चिच्याए अनि पूरा बल निकालेर छुरा पेटमा घुसारे । छिनभरमै अनुहार नीलो भयो, बायाँ हात काम्न थाल्यो । रगतको फोहरा छुट्यो । गर्धन लट्कियो । मोरिता तरबार उज्याएरै बसेका थिए । मिशिमाले उनीहरुलाई पहिल्यै भनिराखेका थिए कि ‘मलाई छट्पटाउन नदिनू ।’ मोरिता कामेर बसेका थिए । त्यसबेलासम्म मिशिमा घोप्टो परेर कार्पेटमा लडिसकेका थिए । मोरिताले डर मान्दै प्रहार गरे तर गर्धनमा परेन । काँध र पिठ्युँमा प¥यो ।
‘फेरि गर !’ मिशिमा कराए । उनको शरीर रगताम्य थियो । आन्द्रा बाहिर निस्किसकेको थियो । मोरिताले फेरि प्रहार गर्दा पनि निशाना चुक्यो । काँध र पिठ्युँमै प¥यो । मिशिमाले ‘फेरि’ भनेपछि तेस्रो प्रहार गरे । यसपटक प्रहार ठीक ठाउँमा प¥यो तर गर्धन आधा मात्र छिन्यो । मासायोसी अघि बढेर भने, ‘खोइ तरबार देऊ ।’ र, एकैपटकमा गर्धन छिनाइदिए । बाँकी चारै जनाले घुँडा टेकेर प्रार्थना गर्दै रुन थाले । यसबीच मोरिताले ज्याकेट फुकाले । हिरोसीले मिशिमाको पेटमा अड्किरहेको छुरा झिकेर दिए । मोरिताले सम्राटको जयजयकार गर्दै छुरा पेटमा घुसार्न खोजे तर घाउ भएन । मासायोसी पछाडि उभिन गए । र, एउटै प्रहारमा मोरिताको गर्धन छिनाइदिए । रगतको फोहरा छुट्यो । घटनाको विवरण सुनेर सम्पूर्ण जापानमा खैलाबैला मच्चियो । मासाहिरो र हिरोसी पक्राउ परे । चार वर्षपछि छुटे ।
युकियो मिशिमा किमिताके हिरोओकाको साहित्यिक नाउँ हो । जापानका लोकप्रिय साहित्यकार । उपन्यासकार, कवि, नाटककार, अभिनेता र निर्देशक । सन् १९६८ मा जब यासुनारी कावाबाताले साहित्यमा नोबेल पुरस्कार जिते, सबैले ठानेका थिए, पुरस्कारका हकदार यथार्थमा मिशिमा हुन् । उनीद्वारा लिखित उपन्यास ‘मकुन्डोको स्वीकारोक्ति’ र ‘सुनौलो छतयुक्त मन्दिर’ तथा निबन्ध संग्रह ‘सूर्य र इस्पात’ जापानी साहित्यका सर्वश्रेष्ठ कृति हुन् । परम्परागत साहित्यिक लेखनलाई तोड्दै यौन, मृत्यु र राजनीतिक परिवर्तनको पक्षमा कलम चलाएका लेखक । उग्र राष्ट्रवादी । तातेनोकाइ नाउँको निजी सशस्त्र संगठन निर्माण गरे । संगठनका अधिकांश सदस्य विद्यार्थी हुन्थे । सेनालाई विद्रोहका लागि उक्साउन सफल हुन्छु भन्ने ठान्थे । जबकि दोस्रो विश्वयुद्धपछि जापानी सेनाको भूमिकालाई गौण तुल्याइसकिएको थियो तर उनी भने रगतको होली खेल्न चाहन्थे । दुःखी बाल्यकाल, अतृप्त प्रेम, मोरितासितको समलिंगी सम्बन्ध र दुवैले आत्महत्या गरेर परस्पर प्रेमलाई गौरवान्वित तुल्याउने सोचकै परिणाम थियो– उनले गरेको हाराकिरी । हाराकिरी गर्दा ४५ वर्षका थिए ।
जन्म टोकियोमा, बाबु आजुसा हिरोओका सरकारी जागिरे आमा सिजुए प्रिन्सिपलकी छोरी । मिशिमा जेठो छोरा । एउटी बहिनी र भाइ । मिशिमा बाल्यकालमै खुशी थिएनन् । बज्यै नात्सुकोले बाबुआमाबाट खोसेर लिइन् । दूध ख्वाउनलाई मात्र बुहारी सिजुएलाई बोलाउँथिन् । बालक मिशिमालाई घरबाहिर जानै नदिने । खेल्ने–कुद्ने दिन बूढी र रोगी बज्यैको अँध्यारो कोठामा बिताउन बाध्य । छोरीमान्छेसरह पुतलीसँग खेलेर बस्ने । सानैदेखि लेख्न–पढ्न रुचाउँथे । त्यसैले जब १२ वर्षको उमेरमा आमा–बाबुको घर फर्के र स्कुल जान थाले, पहिलो कथा लेखे । रेमण्ड रोडिगुयट, आस्कर वाइल्ड, रेनर मारिया रिल्केलगायतको साहित्य पढे । जर्मनी, फ्रेञ्च र अंग्रेजी सिके । ६ वर्षे स्कुले जीवनपछि नै साहित्यिक समाजको सम्पादकमण्डलको सदस्य बने । उनी लेखक मिचिजो ताचिहाराको प्रशंसक थिए, उनैको प्रोत्साहनबाट ‘वाका’ कविता लेखे । लगत्तै गाकुसुन पत्रिकाले लघु कथा लेख्न अनुरोध ग¥यो । उनले लेखे, ‘हानाजाकारी नो मोरी अर्थात् कोपिलाले भरिपूर्ण जंगल’ लघुकथा । उक्त कथालाई गुरुहरु सबैले मन पराए । यो कथा प्रकाशित भएपछि लेखन कला र उमेरलाई मध्यनजर राख्दै साथीहरुले उपनाम राख्न सुझाए । २६ वर्षको उमेर, सन् १९४१ मा युकियो मिशिमा बने । मिशिमा त्यो शहरको नाउँ हो, जहाँबाट फुजी पर्वतको शिखर स्पष्ट देखिन्छ । त्यस्तै युकिको अर्थ हो– हिम । उनले यही नाउँबाट ३४ उपन्यास, ५० नाटक, २५ लघु कथा संग्रह, ३५ निबन्ध संग्रह, एक गीतिकाव्य र एउटा चलचित्रको कथा लेखे । सिन्चो, किशिदालगायत दर्जनौं पुरस्कार जिते । ‘मृत्युदेखि डर’, ‘युकुकु’, ‘हितोकिरी’ र ‘कालो माउसुली’ चलचित्र खेले ।
उनी मृत्युलाई राम्रो मान्थे । रगत बगाउने मानिसहरुको वर्णनमा अभिरुचि लिन्थे । यस्ता दर्जनौं नाटक लेखे, जसको अन्त्यमा नायक हाराकिरी गरेर मर्छन् । यसबाहेक सामन्ती परम्परालाई श्रेष्ठ मानेर गुणगान गर्थे, त्यसैले त्यहाँका कम्युनिष्टहरुले कहिल्यै मन पराएनन् । तरबारको प्रतीकलाई नै जापानीको शुद्ध भाव मान्थे । स्मरणीय छ, उनले भारोत्तोलन सिके । तरबार नचाउने परम्परागत जापानी कला ‘केन्दो’ मा निपूण बने । वर्तमान महारानी मिचिको सोदासँग प्रेम गरे, बिहे गर्न प्रयत्नसमेत गरे । टोकियोमा खटिएका ‘दि टाइम्स’ पत्रिकाका तत्कालीन ब्युरो चिफ हेन्री स्कटले पनि यो कुराको पुष्टि गरेका छन् । बिहेको प्रस्ताव मिचिकोको परिवारले नमानेपछि निराश बने । उनले सन् १९५८ को जुनमा योको सुगियामासँग र मिचिकोले तत्कालीन युवराज अकिहितोसँग सन् १९५९ को जनवरीमा बिहे गरिन् । मिशिमाका एक छोरी नोरिको र एक छोरा इचिरो छन् । बिहेअघि ‘निषेधित रंगहरु’ उपन्यास लेख्ने क्रममा गे–बारमा गएर समलिंगी सम्बन्धसमेत राख्न थालिसकेका थिए । लेखक जिरो फुकुसिमाले पनि मिशिमा र आफ्नो समलिंगी सम्बन्ध भएको प्रकाश पारेका छन् । उनले दुई जनाबीच आदान–प्रदान भएका १५ वटा पत्र सार्वजनिक गरेपछि मिशिमाले ‘वैयक्तिक कुरो’ चुहाएको भन्दै मुद्दा दायर गरेका थिए । मिशिमाको मृत्यपछि उनका सम्पूर्ण साहित्य ३६ खण्डमा प्रकाशित भयो ।
 


प्रतिक्रिया दिनुहोस !