कसरी आफ्नै रहिरहुन् ? « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

कसरी आफ्नै रहिरहुन् ?

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०८:०५


देशैभरका हिन्दू महिला तिजको उल्लास र रौनकमा झुमिरहँदा मेरो आङमा घाम लागेको छैन । कारण, मैले दीर्घायुको कामना गर्दै व्रत बसिदिनुपर्ने ‘पतिदेव’ साथमा छैनन् । जसले जन्माए÷हुर्काए, नौ धारा दूध पिलाए, तिनै आफ्नो भएनन्÷रहेनन् भने एक चिम्टी सिन्दूर सिउँदोमा हालिदिएकै भरमा आफ्ना बनेका कसरी आफ्नै रहिरहुन् ?
अहिलेको जस्तो ‘ब्रोइलर’पिरती गाउँमा पुगिसकेको थिएन, त्यो बेला । १४ वर्ष बितेछ विवाह भएको । ०५८ सालमा मागीविवाह भएको हो । रातमाटे, नुवाकोटका दीपेन्द्रसँग विवाह हुँदा उमेर १६ वर्ष मात्रै थियो । परिवारको खुशीको खातिर के मात्र गरिनँ ? आफ्नो सारा खुशी, रहर, इच्छालाई तिलाञ्जली दिएँ । कैयौं समय आफ्नो खुशी पर्खिएँ पनि तर फर्काउन सकेन त्यो घरले मेरो एकचिम्टी हर्ष ।
सरकारी जागिर खाएको केटा हात माग्न घरकै दैलो टेक्न आएपछि बाबुआमाले पनि नाइँनास्ती गर्नुभएन । उहाँहरूको चाहना थियो, छोरीले जीवनभर सुख पाओस्÷खुशी रहोस् । तर, जोबाट सुख र शान्तिको अपेक्षा गरिएको थियो त्यसको एक अंश पनि पूरा हुन सकेन । बाबा–आमाको घरबाट ‘पराइको घरमा’ खुशीसाथ जिउने सपना र वाचाका साथ प्रवेश गरिएको थियो । जुन अपेक्षा गरेर बुबा–आमाले हात दिनुभयो, त्योअनुसारको व्यवहार फिटिक्कै पाउन सकिनँ । विवाहको दिन मण्डपमा लगाइदिएको मंगलसूत्र र तिलहरी मेरालागि जिन्दगीको ‘हत्कडी’ सावित हुन पुग्यो । त्योभन्दा कठिन परीक्षा त्यसपछि शुरु भयो । र, जिन्दगीभर त्यही परीक्षासँग जुधिरहेँ÷जुधिरहेकै छु । कतिसम्म भने ५ वर्षसम्म त जन्मेको घरमा फर्किनै पाइनँ ! १२ वर्ष बित्यो यसरी नै †
मैले देखेको र भोगेको दुःख, कष्ट सुनाउन केको अप्ठ्यारो ? विवाहदेखि भोगेको यातना, न्यायको कथा र संघर्ष सबै सुनाउँदै छु दिल खोलेर, ताकि मजस्ता पीडित महिला श्रीमान््ले छाडेपछि मानसिक रूपमा कमजोर नभई यो समाजमा बस्न सकुन् । विवाहपछि समेत श्रीमान््सँग दोहोरो कुराकानी धेरै हुन सकेन । अहिले सम्झिन्छु, म बुहारीका रूपमा होइन, खेताला÷कामदारको रूपमा त्यो घर पुगेकी रहिछु । घरपरिवारले कुरा लगाउन थाले । श्रीमान्ले माया गर्न छाडे । घरको काम गर्न मात्र लगेको व्यवहार देखाउन थाले । यत्रो बज्रपात पर्दा पनि माइती पक्षले मेरो कुरा सुनेन । माइती गएको बेला सुनाउँथेँ आफूमाथि भएको दुखेसो÷टोकसो । तर, बिहे भएको घर छाड्न हुन्न भन्ने दबाब थियो ममाथि । श्रीमान्को घरमा अघोषित दास बनेर धेरै समय बिताएँ ।
जागिरे श्रीमान् बाहिरै बस्थे । माया गर्न छाडे । छोरा थियो । पछि श्रीमान् जागिर छाडेर विदेश गए । म सबथोक सहेरै बसेकी थिएँ । विदेशमा हुँदा पनि टर्चर घरपरिवारबाट भइरह्यो । बाहिर जानै नदिने । कसैसँग बोलेको देखे शंका गर्ने । त्यस्तो त कति सहेँ–सहेँ । पछि माइतमा आफन्तको मृत्यु भयो । गएँ । काम सकेर घर फर्कें । घर जाँदा सासूले ढोग्न दिइनन् । त्यसैबेला बिरामी भएँ । पैसा थिएन । जेनतेन उपचार गरँे । ०६८ सालमा त घरमै पस्न दिइएन । म घरबाहिरै सानो बच्चासँग बसँे । त्यसपछि छोरा बोकेर माइत फर्किएँ ।
यो पीडाको कहानीपछि आफ्नो आत्मविश्वास बलियो पारेर न्याय खोज्न भौंतारिएँ । त्यसबेला ओरेकको नाम सुनेको थिएँ । उक्त संस्थामा काम गर्ने रचना दिदीले धेरै सहयोग गर्नुभयो । मान्छेका लागि सबैभन्दा ठूलो सहयोग आत्मविश्वास जगाइदिनु नै रहेछ । तिनताक ममा कुनै जोश, जाँगर थिएन । म ओइलाएको सागझैं भएकी थिएँ । रचना दिदीले पानी हालिदिनुभयो, मलजल गरिदिनुभयो र अहिले हरियो हँुदै गएकी छु । आत्मविश्वासले जरा गाडेको छ । पछि त्यो संस्था र दिदीहरूको पहलमा मुद्दा दर्ता भयो । अंशसहित छोडपत्रको मुद्दा चल्दै थियो । मैले यहाँ सीप सिक्दै थिएँ, सिलाइ÷कटाइ र बुनाइ । अदालतले ६ महिनामै मुद्दाको किनारा लगायो । ५ का १८ धुर जग्गा मलाई दिने र छोडपत्र गर्ने फैसला सुनायो । मुद्दा फैसला हुने दिन म र ससुरा मात्र अदालतमा थियाँै । मन बेचैन थियो । उपस्थित भएको केही समयमा न्यायाधीशले फैसला सुनाउनुभयो ।’
अहिले मसँग सीप छ । काम पनि प्रशस्त छ । महिला सामुदायिक संस्थामा आबद्ध छु । यहाँबाट सिलाइ, कटाइ र बुनाइका सामग्री उत्पादन गर्दै आएका छौँ । सीप सिकेको कारण अब त जहाँ पनि टिक्न सक्ने भएकी छु । गलत गर्नु हँुदैन । अन्याय पनि सहेर बस्नु हँुदैन । न्यायका लागि आफैँले पहल थाल्नुपर्छ । सायद मेरो भाग्यमा मर्न लेखेको थिएन । म त्यो बेला धेरै निरास थिएँ । मान्छे किन बौलाउँदा हुन् भन्ने लागेर आउँथ्यो । कसैसँग आफ्ना कुरा भन्न सक्दैनथेँ । तर, आज मेरो बाटो नै फेरियो ।
शुरुमा यहाँ आउँदा के गरेर ज्यान पाल्ने भन्ने चिन्ताले खान थालेको थियो । अहिले मेरो जीवनको अनुभवले सिकाएको छ कि सीप भएपछि ज्यान पाल्न सकिन्छ । त्यही पछाडि  सिलाउन थालेँ, कपडा र बुन्न थालेँ अनेकन सपना । यहीँबाट सुरु भयो जिन्दगीको नयाँ अध्याय । त्यसयता यही ठाउँ र यही नै जीवन निर्वाहको आधार बन्दै आएको छ । सुनेकी छु श्रीमान् कान्छी लिएर बसेका छन् । भावीले भाग्यमा के कोरिदिएको छ, त्यो जान्न चाहन्नँ । आफ्नो र सन्तानको खुशीका खातिर परिआए जस्तोसुकै दुःख, कष्ट र चुनौती व्यहोर्न तयार छु । निराश जीवनलाई कमजोर बनाउनुको साटो न्याय खोज्नतर्फ अग्रसर हुनुपर्छ । सीपलाई नै आधार बनाएर खुशीसाथ जीवन बिताइरहेकी छु । कुनै बेला आफूलाई कमजोर ठान्थेँ । आजकल आफैँप्रति गर्व गर्छु । र, आत्मविश्वाससाथ अरूमाझ प्रस्तुत हुन्छु । अहिले गरिखाने भएकी छु । टाटा बसिसकेको घाउ कन्याउने कुनै रहर थिएन । बस्, धेरै दिदी–बहिनी श्रीमान् तथा घरपरिवारबाट पीडित हुनुहुन्छ र आफ्नो हातमा सीप छ भने जहाँ गएर पनि ज्यान पाल्न सकिन्छ, आत्मसम्मानसाथ बाँच्न सकिन्छ । र, यो समाजमा केही गरेर देखाउन सकिन्छ ।
– रूपा दाहाल, नुवाकोट

 


प्रतिक्रिया दिनुहोस !