साम्राज्य जित्नेलाई दिल जित्न सास्ती

भारतमा मुगल साम्राज्यको जग बसालेका बाबरको वास्तविक नाउँ जहिरुद्दिन मोहम्मद हो । तैमुर वंशका । राजा तैमुर (सन् १३३६–१४०५) तुर्क–मंगोल थिए । उज्बेकिस्तानको केशमा जन्मेका उनले पर्सिया (इरान) देखि मध्यएसियासम्म राज गरे । बाबरकी आमा कुतलघ निगार खानुम मंगोल सम्राट चंगेज खाँको वंशकी थिइन् भने बाउ उमर शेख मिर्जा फरगनाका शासक । फरगना उपत्यका पूर्वी उज्बेकिस्तानमा पर्छ । उज्बेकिस्तान, किर्घिजस्तान र ताजिकिस्तानको सीमामा ।
बाबर पाँच वर्षको हुँदा बिहे समरकन्द र बुखाराका राजकुमारी आयशासँग गरिदिने तय भयो । आयशाका बाउ सुल्तान अहमद मिर्जा । समरकन्द र बुखाराका राजा । बाबरका आफ्नै काका । आयशा सुल्तान अहमदकी पहिली पत्नी कुतघ बेगमकी साहिँली पुत्री । समरकन्द त्यसबेला तैमुरको राजधानी । उज्बेकिस्तानको तेस्रो ठूलो यो नगरमाथि अलेक्ज्याण्डर महानले इशापूर्व ३२९ र मंगोल सम्राट चंगेज खाँले सन् १२२० मा कब्जा जमाएका थिए । तर, तैमुरले जितेपछि यसलाई राजधानी बनाए । बाबर सानैदेखि महत्वाकांक्षी । बाउको मृत्युपछि १२ वर्षकै उमेरमा फरगनाको राजा बने । समरकन्द जित्ने प्रवल इच्छा थियो । राजा बनेको दुई वर्षमै सन् १४९७ मा समरकन्द जिते । तर, उज्बेकहरुको शत्रुताले गर्दा टिक्न सकेनन् । वायसुन्कुरले कब्जामा लिए । आयशा शत्रुको कब्जामा परेको थाहा पाएपछि पुनः फौज लिएर समरकन्दतर्फ बढे र नगरलाई घेरा हाले ।
अन्त्यमा वायसुन्कुर समरकन्दबाट भागे । उक्त नगर बाबरको कब्जामा गयो । तैपनि उनले प्रेमिकालाई भेट्न सकेनन् । सामाजिक मर्यादाको ख्याल गरी चुप बसे । बिहेअघि वर–वधुको भेट निषेध थियो । भेटेमा अनर्थ हुने चेतावनी दिइएको हुन्थ्यो । परिवार र नातेदार पनि रिसाउँथे । नुयान कुकलदास बाबरका मिल्ने साथी । एक साँझ बाबरको कक्षमा गए । कोठामा मशाल बलिरहेको थियो, त्यसको मधुरो प्रकाशमा बाबर दुःखी भई बसेका थिए । तर, नुयानलाई देख्नेबित्तिकै प्रसन्न भए । यसअघि उनले नुयानलाई आयशा कहाँ छिन्, कस्ती छिन् ? सबै खबर ल्याउनु भनी पठाएका थिए । नुयानले पनि आयशाको सम्पूर्ण खबर मात्र लिएर आएका थिएनन्, साथमा एउटा झोला पनि थियो, दुईवटा हिरा भएको । नुयानले कुन प्रयोजनका लागि हिरा ल्याएको, बाबर अनभिज्ञ थिए । नुयानले भने, ‘यसलाई उल्ट्याएर हेर्नुस् !’ बाबरले झोला उल्ट्याए । स–साना बहुमूल्य रत्नजडित झोलाको भित्री भागमा रेशम धागोबाट एउटा वाक्य काढिएको थियो, ‘मेरा मुक्तिदाताका लागि ।’
बाबर उक्त वाक्य पढेर दंग परे । प्रेमपत्रभन्दा पनि प्रिय माने । आयशा बाल्यकालदेखि नै कपडामा बुट्टा भर्ने काम गर्थिन् । कैदमा रहँदा पनि यही काम गरेर समय बिताइन् । आशा गर्थिन्– एकदिन बाबर मुक्तिदाताको रुपमा देखा परेर आफूलाई कैदबाट मुक्त गर्ने छन् । त्यो साँझ बाबरको मन चञ्चल बन्यो । शायरी लेख्न जान्दथे । मिर अलशेरबाट शायरी लेख्न सिकेका थिए । आफ्नी मंगेतर आयशाको सन्देश पढेपछि लेखे,
‘तिम्रो रुपको चर्चा हुन्छ जताततै चन्द्रमुखी,
तिम्रो हाम्रो भेट हुन्छ कहिले चन्द्रमुखी !’
बाबर समरकन्दमा सय दिन बसे तर आयशासँग आमने–सामने एकदिन पनि भएन । रीतिरिवाज बाधाको रुपमा थियो नै त्यसमाथि बाबर लजालु थिए । यसबीच शत्रुले फरगानाको सिमाना जोडिएको नगर अन्दिजानलाई घेराउ गरेपछि समरकन्दबाट हिँड्ने निर्णय गरे । तर, एकाएक टाइफाइडबाट थला परे । २०–२५ दिनसम्म हलचल गर्नै नसक्ने भए । यस्तो अवस्थामा पनि घोडा चढेर जान तम्से । बल्ल तीन घोडाले तान्ने बग्गीको व्यवस्था भयो । त्यसमा चढ्न सिपाहीहरुले मनाए । बग्गी हिँड्न थालेदेखि नै बाबर पर्दा सारेर पछाडि बरोबर हेर्थे । बग्गीको तीन मिल पछाडि एउटा अर्को बग्गी आइरहेको थियो, जसमा बाबरकी काकी मेहर निगार खानम र आयशा थिइन् । साथमा घोडचढी सेनाको ठूलो फौज पनि । मेहर निगार र आयशा तासकन्द जान चाहन्थे, जहाँका शासक बाबरका मामा महबुब खाँ थिए । जिज्जाभ नाउँ गरेको स्थानमा बास बसे । चारैतिर पहाडैपहाड र बीचमा ठूलो मैदान । सोही मैदानमा बाबर र आयशाको अलग–अलग क्याम्प खडा गरियो । दुवैको क्याम्प एक–अर्कोदेखि निकै टाढा । अर्कोदिन बिहानै मेहर निगार र आयशा तासकन्दतर्फ रवाना भए भने बाबर सानो थुम्कोमा उभिएर उनीहरु गएको हेर्दै बसे । अचानक एउटा गजल सम्झे । त्यो दिन पूरै बग्गीमा बसेर त्यही गजल गुन्गुनाइरहे । भावार्थ हिन्दीमा यस्तो थियो,
‘सिर न पहुँचा तेरे जानू तक तो चला जाएगा,
लेकर जहाँ मुझको मुकद्दर माहरु !’
(माहरुको अर्थ चन्द्रमुखी अर्थात् चन्द्रमाको जस्तो रुप भएकी) ।
अन्दिजानलाई शत्रुबाट रक्षा गर्न जाने क्रममा त्यहींकै हरम (जनाना घर) मा पहिलोपटक आयशासँग भेट भयो । आयशा एक हप्तादेखि उनैको बाटो हेरेर बसेकी थिइन् । तर, त्यसबीच स्थितिमा निकै उथलपुथल भइसकेको थियो । बाबरको राज्य फरगाना दुई भागमा विभाजित भयो । अन्दिजानको युद्धमा बाबर सख्त घाइते भए । उनका आफ्नै भाइ मिर्जा जहाँगिरले विद्रोहको झण्डा उठाए । पारिवारिक झगडा सुल्झाउन बाबर र जहाँगिरकी सानीआमाले एउटा प्रस्ताव दुवैसमक्ष राखिदिइन्, ‘आखसी जहाँगिर र अन्दिजान बाबरले लिने ।’ आमा कुतलघ निगार खानुम पनि बहिनीको प्रस्तावमा सहमत भएर बाबरलाई भनिन्, ‘यतिखेर हामीसँग मिल्नुको विकल्प छैन । राज्यकै बारे मात्र सोचेर बस्ने समय पनि हैन किनभने तासकन्दमा तिम्रो मंगेतर छट्पटाएर बसेकी छन् ।’ बाबरसँग कुनै जवाफ थिएन किनकि उनी आफैं पनि आयशासँग भेट्न आतुर थिए ।
तर जब अन्दिजानमा आयशासँग भेट भयो, उनी प्रसन्न हुनुको साटो निराश भए । आयशा चन्द्रमुखी परी जस्ती होलिन् भन्नेसोच थियो । तर, त्यस्तो रुपमा पाएनन् । अक्सर बिरामी भइरहने भएकाले शरीर सुकिसकेको थियो । अशक्त पनि । यसबीच उनले निकै कष्ट भोगेकी थिइन् । मन पनि प्रफुल्ल थिएन । जसले गर्दा बाबरलाई आकर्षित गर्न सकिनन् । बाबर भने आयशालाई भेट्न आतुर थिए । महिनौंदेखि मनको पीडालाई कागजमा उतार्न थालेका थिए । हरेक दिन कम्तीमा एउटा गीत लेख्थे । गीत लेखिएको एउटा कागज आयशालाई दिए । आयशाले खोलेर हेरिन्, चार लाइनको एउटा गीत थियो । भावार्थ हिन्दीमा यस्तो थियो–
‘तख्तसे चिमटे है, इनका आसरा कुछ भी नहीं,
हाय दुनियाँ ! अब तो कानुने वफा कुछ भी नहीं
बन जा मुफलिस बेग तू बाबर कि बेहतर होगा यह
एक और शाह दो, इससे बुरा कुछ भी नहीं !
बाबर र आयशाबीच कुराकानी चलिरह्यो । बाबर फेरि पनि समरकन्द जित्न चाहन्थे तर आयशा त्यसो नगर्न भनिरहेकी थिइन् । भनिन्, ‘ओह, मलाई डर लाग्छ… गाडी (बग्गी) देखि अनि बाटोदेखि ।’
बाबरले भने, ‘बेगम, त्यसोभए म तिमीलाई बोकेर लान्छु ।’
आयशाले भनिन्, ‘ठट्टा नगर्नुस्, म यसको लायक छैन ।’
बाबरले आयशाको उक्त कथनमा मिठास देखे । प्रेमले भरिपूर्ण । आफूलाई सम्हाल्नै सकेनन् । त्यस साँझ दुवैको शरीर एक भयो । आयशाले यसअघि यस्तो प्रेमको अनुभूति कहिल्यै गरेकी थिइनन्, त्यसैले सजिलै समर्पित भइदिइन् । यसलगत्तै सन् १४९९ को अगस्तमा दुवैको बिहे भयो । त्यसबेला बाबर १६ र आयशा १४ की थिइन् । बिहेपछि आयशा फरगनाकै दरबारमा बस्न थालिन् तर बाबरको स्वभावमा अचानक परिवर्तन देखाप¥यो । किन हो कुन्नि, निकै लजालु बने । आयशाको कोठामा जान हिच्किचाउन थाले । बिहेलगत्तैको शुरुशुरुकै दिन पनि १०–१५ दिनमा एकपटक मात्र पत्नीको शयनकक्षमा छिर्थे । निकै दिन बितिसकेपछि पनि स्वभावमा कुनै परिवर्तन देखा नपरेपछि कुतलघले झपारिन् । जबर्जस्ती बुहारीको कोठामा जान दबाब दिइन् । तर, पनि बाबर मान्दैन थिए । यसैको परिणाम, बिहे गरेको तीन वर्षपछि बल्ल आयशाले छोरी जन्माइन् तर ४० दिनमै फखर–उन–निस्सा (स्त्रीको शान) को मृत्यु भयो । बाबर छोरीलाई औधी माया गर्थे । तसर्थ छोरीको मृत्युलाई लिएर पतिपत्नी दिनहुँ झगडा गर्न थाले । दुई वर्षपछि आयशा सधैंका लागि घर छाडेर तास्कन्द गइन् । बाबरको भनाइ थियो– आयशा दिदी राबिया सुल्ताना बेगमको षड्यन्त्रमा सामेल भइन्, उक्साहटमा लागिन् र उनैको योजनाअनुरुप घर छाडिन् ।
बाबर र आयशाको सम्बन्ध बिग्रनुको बेग्लै कारण भएको केही इतिहासकार बताउँछन् । पाँचौं शताब्दीदेखि दक्षिण र मध्यएशियाका मुसलमानमा समलिंगी सम्बन्ध विकसित भएको उनीहरुको दाबी छ । बाबरले आयशासँग बिहे गरे पनि १०–१५ दिनमा बल्ल शयनकक्षमा जानुको एउटा प्रमुख कारण उनी पनि समलिंगी हुनुपर्ने उनीहरुको ठोकुवा छ । स्त्रीसँग भन्दा बढी पुरुषसँग सम्बन्ध जोड्न रुचाउने गर्थे । हरममा हजारभन्दा बढी स्त्री हुन्थे तर पुरुषको पनि हरम स्थापना गरेका थिए । नोकर–चाकरमा पनि बढी हिजडा (तेस्रो लिंगी) नै हुन्थे । युद्धमा हारेका राज्यहरुबाट युवकलाई पक्रेर ल्याइन्थ्यो र हिजडा बनाइन्थ्यो । हिजडालाई नोकर राख्ने चलन पछिसम्म पनि रह्यो । उनीपछि मुगल साम्राज्यका पाँचै सम्राट हुमायुँ, अकबर, जहाँगिर, साहजहाँ र औरंगजेबको दरबारका अधिकांश दासदासी हिजडा नै थिए । कसैकसैले त यहाँसम्म भन्ने गरेका छन् कि बाबरी नाउँको युवक जसलाई बाबर पागलसरह प्रेम गर्थे, बाबरी मस्जिद उनैको नाउँमा बनाइएको हो ।
आयशासँग विछोडपछि बाबरले सन् १५०४ मा जैनाब सुल्ताना बेगमसँग बिहे गरे । जैनाव पनि आयशाजस्तै बाबरका अर्का काका सुल्तान मोहम्मद मिर्जाकी पाँचौं पुत्री थिइन् । बाबरको बाबुका सात पत्नी र चार छोरा थिए भने बाजे अबु सइद मिर्जाका ९ पत्नी र ११ छोरी, १० छोरा आए । सुल्तान मोहम्मदका पनि सात पत्नीबाट ६ छोरा र ९ छोरी थिए । जैनाब तिनीहरुमध्येको थिइन् । बाबर जैनाबलाई मन पराउँदैनथे किनभने उनी घमण्डी थिइन्, माइतको धाक लगाउँथिन् । बाबर उनीसँग बिहे नै गर्न चाहन्नथे तर आमाको दबाबमा परे । सुल्तान मोहम्मदले पनि दबाब दिए त्यसैले पछि बाबर आफ्ना काकालाई घृणा गर्न थाले । जैनाबले लोग्नेको मन जित्न नसके पनि हरममा भएका दासीहरुको प्यारी थिइन् । तर, बिहे गरेको तीन वर्षमै बिफर रोग लागेर सन् १५०७ मा निधन भयो ।
बाबरले जैनाबको निधन हुनुपहिल्यै सन् १५०६ मा हाजरा वालिद उर्फ माहम बेगमसँग बिहे गरे । पछि मुगल सम्राट बनेका हुमायुँ उनैका छोरा हुन् । माहम बाबरको पछिसम्म पनि प्रमुख रानी बनिरहिन् । दरबारको मामिला र राजनीतिमा प्रमुख भूमिका खेलिन् । बाबरको निधनपछि राजमाता बनेर शासन गरिन् । बाबरले सन् १५०७ मा मासुमा सुल्तानासँग बिहे गरे । मासुमा पनि आयशा र जैनाबजस्तै काकाकी छोरी थिइन् । आयशा र मासुमा दुवैका पिता सुल्तान अहमद मिर्जा हुन् । अहमदका पाँच पत्नी थिए । आयशा जेठी पत्नी कुतघकी छोरी थिइन् भने मासुमा पाँचौं पत्नी हबिबा सुल्तानकी । सन् १५०६ मा बाबरले समरकन्द र अन्दिजान हारेपछि हबिबा छोरी मासुमाको साथमा हेरात (अफगानिस्तान) पलायन भइन् । एकदिन बाबर प्रदेशहरु जित्ने क्रममा खोसरान पुगे । त्यहीं हबिबा मासुमालाई लिएर आइरहेकी रहिछन् । मासुमालाई देखेपछि बाबर मोहित भए । दर्जनौं प्रेमपत्र आदान–प्रदानपछि बिहेको निधो गरे । उनैका एक नातेदार पायान्दा सुल्ताना बेगमले बिहेका लागि हबिबालाई राजी गराइन् र काबुल पु¥याइन्, जहाँ बाबर पहिल्यै पुगिसकेका थिए । मासुमाको निधन छोरी जन्माउने क्रममा दुई वर्षपछि नै भयो । बाबरले यसपछि गुलरुख, दिल्दार अघा बेगम, सहिला सुल्ताना, हज्जारा गुल्नार अघाचा, नाझगुल अघाचा, बेगा बेगम (मुबारक युसुफजाइ) सँग बिहे गरे ।
बाबर फरगनाबाट धपाइएपछि काबुल पुगेका थिए । त्यहाँ मुकिम बेगमद्वारा सताइएका प्रजाहरुले उनको स्वागत गरे । उनीहरुकै सहयोगमा सानो सेना खडा गरेर २३ वर्षको उमेरमा काबुलमाथि नियन्त्रण जमाए । त्यहाँ २० वर्ष राजकाज चलाएर शक्ति सुदृढ पारी भारतमाथि आक्रमण गरे । सन् १५२६ मा मुगल साम्राज्य खडा गरे । जुन साम्राज्य सन् १७०७ अर्थात् १ सय ८१ वर्षसम्म कायम रह्यो ।

 

टिप्पणीहरू