बा त ठिकै हुन् सासू नै खत्तम ! « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

बा त ठिकै हुन् सासू नै खत्तम !

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०७:४४


यमुना अर्याल (काफ्ले)


वैशाखमा तामझामसाथ बिहे गरेकी छिमेकी दिदीले आमालाई फोन गरिन् । आमाले हालखबर र घरपरिवारबारे सोधिन् । दिदीले दिक्क लाग्ने गरी सुनाइन्, ‘ससुरा बा त ठिकै छन्, करकर गर्दैनन्, देवर–जेठाजु पनि ठिकै छन्, सासूको कुरा नगर्नू आमा, खत्तम छिन् । अझ नन्द, आमाजू र जेठानीको त नाम लिन पनि वाक्क लाग्छ । घर मात्र देखेर के गर्नु आमा, घरका मान्छे खत्तम, बहिनीको बिहे गर्दा सासू र नन्द, आमाजू नभएको घर हेर्नुपर्छ है !’ आमाले एकोहोरो सुनिन् मात्र, ‘छोरी अस्ति भर्खर बिहे भा’की यस्ता कुरा गर्नु हुँदैन, शत्रु लाग्छन्, महिलाले त धर्ती भएर सहनुपर्छ बाबै † घरको कुरा बाहिर कहिल्यै भन्नुहँुदैन । अनि ज्वाइँले के भन्नुहुन्छ नि †’ आमाले सोधिन्, ‘के भन्थे नि ज्वाइँ ? उनकै आमा, भाउजू, दिदी–बहिनी प्यारा हुन्छन् नि † तिमी पनि महिला नै हौ क्यारे आमा–भाउजू जस्तै, उनीहरूसँग मिलेर बस्नुपर्छ काम गर्नुपर्छ, सानातिना कुरा मलाई नसुनाऊ भन्छन् नि भन्नुभन्दा नभन्नु बेस । यत्रो घर पनि बेला–बेलामा कारागारजस्तै लाग्छ, सासूले केही काममा जस नदिने, जेठानी उस्तै’ …..ती दिदीले खाली सासू, जेठानी र नन्द–आमाजूलाई मात्र खोट लगाएपछि आमाले सम्झाउँदै भनिन्, ‘के गर्छेस् छोरी, हामीले पनि सासू, नन्द–आमाजूका त्यस्तै वचन सहेर यो उमेर पार गरियो, तिमीहरूको पालामा त केही कुराको कमी छैन, मिलेर बस्नुपर्छ, हामी महिलाको शत्रु त घरभित्रकै महिला हुन् नि † हामीले बुहारीलाई यस्तो व्यवहार नगरौँला, तेरी भाउजूलाई मैले जति राम्रो गर्दा पनि कहिल्यै राम्रो मुख देख्दिन यस्तै हो ।’
केही दिनअघि भारतको एक उच्च घरानाकी महिलाले दोस्रो सन्तान छोरी जन्मिएको भन्दै हत्या गरिन् । पहिलो छोरी आठ वर्षकी भएकाले जप, होम, व्रत जे–जे गर्नुपथ्र्यो सबै गरिन् तैपनि छोरा जन्मिएन । छोरी जन्मिएको चार महिनापछि उनले चक्कुले प्रहार गरेर हत्या गरिन् । एउटी महिलाले अवोध शिशु छोरी भएकै कारण यतिसम्म हिंसा गर्न सक्छन् भने अरू हिंसाको के कुरा ? नौ महिनासम्म कोखमा राखेको पीडा बिर्सेर, ४ महिनासम्म लालनपालन गरेको छोरीको एकरत्ति पनि माया लागेन ती निर्दयी आमालाई । सौतेनी आमाले रिसले सौताका छोराछोरी मारेको त सुनिएको थियो तर आफैंले जन्माएको सन्तान छोरी भएकै कारण मारिएका विरलै सुनिने घटनामध्ये पछिल्लो घटना हो यो । आफू छोरी भएर धर्ती टेकेको बिर्सिइन् र निर्दोष छोरीलाई संसार हेर्ने अवसरबाट सदाका लागि बिदा गरिन् । आफूलाई जन्म दिने आमा त छोरीका लागि आफ्ना हुँदैनन् भने महिलामाथि हिंसा भयो, अन्याय भयो भनेर कसलाई सुनाउने ? छोराछोरी एक हुन् भन्ने भावना जबसम्म आमाको आत्मामा हुँदैन तबसम्म महिला र छोरीमाथिको हिंसा रोकिँदैन ।
महिलाले सधैँभरि आफ्नो शत्रु पुरुषसिवाय कसैलाई देखेका छैनन् र देख्दैनन् पनि । महिलाको भविष्य बिगार्ने, महिलामाथि थिचोमिचो र अन्याय–अत्याचार गर्ने, महिलामाथि हिंसा थोपर्ने काम पुरुषबाहेक कसैले गर्न सक्दैन भन्ने ठोकुवा गर्न पनि महिला पछि पर्दैनन् । अझ महिला अधिकारवादीका कुरा सुन्ने हो भने त पुरुष यतिसम्म पनि गर्छन् र ? भन्न बेर लाग्दैन । मानौं महिला यो धर्तीका सबैभन्दा सोझा प्राणी हुन्, उनीहरूले केही गल्ती गर्दैनन् र महिलामाथि कुनै नराम्रो भाव राख्दैनन् ।
आजसम्म न कुनै महिला अधिकारवादीले महिलाले महिलामाथि गरेको हिंसाको सवालमा आवाज उठाए न त अन्य महिलाले नै यसबारे बोल्न आँट गरे । आँट र हिम्मत गरे पुरुषमाथि दोष थोपर्न मात्र । महिलाले आफ्ना कमजोरी कहिल्यै उजागर गरेको पाइएन । आफ्ना कमजोरी सार्वजनिक नभएसम्म आफूभित्रको शत्रु चिन्न सकिँदैन । यो आममहिलालाई थाहा भएर पनि थाहा नपाएको विषय हो । महिला अधिकार क्षेत्रमा काम गर्ने कति जनाको आफ्नै घरबार भताभुंग भएको छ । पहिले आफ्नो घर सपारेर अनि मात्र अरूको चिन्ता गर्नतिर लाग्न सुझाव छ ।
महिलाको सबैभन्दा ठूलो शत्रु महिला नै हो । छोरी, बुहारी, आमा, सासू जे हुँदा पनि महिलासामु ठूलो शत्रु महिला नै हुन्छन् । यसो भनिरहँदा महिला अधिकारवादीको टाउको दुख्ला तर वास्तविकता यही हो । एउटा घरमा नयाँ बुहारी भिœयाउने भनेपछि त्यसमा सबैभन्दा बढी चासो सासू, नन्द, आमाजू, देउरानी जेठानी, छरछिमेकका महिलालाई बढी हुन्छ । नयाँ बुहारी कस्ती आउने हो ? के कस्तो आनीबानी छ ? कति दाइजो ल्याउँछे, कस्तो खानदानकी हो ? काली–गोरी कस्ती छ ? गहना कति लाएर आउने हो ? यस्ता अनगिन्ती विषयमा चाहिनेभन्दा नचाहिने चासो हुन्छ । नयाँ बुहारी भित्रिसकेपछि उसको बारेमा देवर, जेठाजु, ससुरा, काका, मामा, छिमेकका अन्य पुरुषलाई भन्दा बढी चासो महिलालाई हुन्छ । छोरो, भाइ, भतिजो, भान्जो जे–जे नाता पर्ने हो उनीहरूले धेरै चासो राख्दैनन् । बिहे गरेका छोरी–चेली र नगरेका छोरीहरूले आमालाई नयाँ भाउजू–बुहारीबारे नानाथरी प्रश्न गर्छन् । जेठानी–देउरानी पनि त्यही महिलाबारे अनेक चासो राख्छन् । कति दाइजो ल्याई, वरपरकाले भन्दा कम ल्याई कि बढी ? कति पढेकी ? झट्ट हेर्दा काली कि गोरी ? आफ्नो दाइ भाइभन्दा राम्री भए त केही नभन्लान् नत्र यस्ती आइमाई के देखेर ल्याएको भन्दै तिनै महिला खेदो खन्न पछि पर्दैनन् । जागिरे बुहारी रहिछ भने पनि सुख हुँदैन । घरको काम केही गर्दिन, जागिर खाने भन्दै हिँड्छे भन्न तिनै नन्द आमाजू पछि पर्दैनन् । अझ जेठानी जागिर नगर्ने, देउरानी गर्ने खालकी परिन् भने त दिनभर देउरानी अफिस जेठानी, सासू र वरपरका महिलाको काम त्यही जागिर गर्ने बुहारी उडाउनेभन्दा केही हुँदैन । नपढेकी, जागिर नगर्ने रहिछ भने पनि व्यवहार ठीक त्यस्तै हुन्छ ।
महिलाको चासो महिलाले नै धेरै लिन्छन् र महिलामाथि हिंसा पनि पुरुषको दाँजोमा महिलाबाटै बढी हुन्छ, यो सत्य हो । दाइजो कम ल्याई भनेर कुनै बुहारीमाथि ससुरा, जेठाजु र देवरले आरोप लगाउँदैनन् । छोरीहरूले आमालाई उकास्छन्, आमाले छोरालाई भए÷नभएका पोल लगाउँछिन्, आमाको कुरा सुन्ने खालको छोरा रहेछ भने त्यसैमा सही थापेर श्रीमतीमाथि हिंसा गर्छ । बुहारीमाथि हिंसा गराउन सासू तातिन्छिन् । उनलाई थाहा हुँदैन कि म पनि एकदिन बुहारी नै थिएँ, म पनि बुहारीजस्तै महिला हँु । महिलामाथिको हिंसा कम गर्ने हो भने सर्वप्रथम महिला सच्चिनुपर्छ । एउटी महिलाले अर्की महिलामाथि हेर्ने नजर सकारात्मक नभएसम्म अरूलाई दोष दिएर केही हँुदैन । महिलाले चाहे भने जे पनि गर्न सक्छन्, महिलालाई पुरुषले दबाएर राखे भन्दै बाहिर चर्का नारा लगाउने, घरेलु कामदारका रूपमा महिलामाथि शोषण गर्ने उच्चपदस्थ महिलाको पनि कमी छैन । आफ्ना छोरीको जति माया बुहारीलाई गर्न सक्ने हो भने छोरी र बुहारीमा विभेद हुँदैन । जहाँ विभेद हुँदैन, त्यहाँ स्वाभाविक रूपमा हिंसा हुँदैन ।
एउटी महिला उच्च पदमा पुग्नासाथ अर्कीलाई ज्वरो आउँछ । उसलाई सहयोग र सद्भाव त कता हो कता उल्टै अनेकन लाञ्छना लगाउन महिला नै पछि पर्दैनन् । एउटा कार्यालयमा हाकिम भएर कुनै महिला जाँदासाथ अरू महिलालाई कानेखुसी गर्ने काम थपिन्छ । पुरुष कर्मचारीबाट सहयोग होला तर महिला कर्मचारीबाट चाहेजति हुँदैन । घरमा बुहारी गर्भवती भएदेखि सासूलाई तनाव हुन्छ । नाति जन्माउँछे कि नातिनी भन्नेमा । पेटमा के छ त्योसँग मतलव छैन तर सासूका लागि नाति जसरी पनि जन्माउनै पर्छ । सासूले भनेजस्तो भएन भने नाति पाउनकै लागि छोरालाई अर्की बुहारी भिœयाउन दबाब आउँछ । एउटी महिलामाथि योभन्दा अत्याचार के हुन्छ ? छोराकै लागि छोरीको ताँती लगाउन पनि मुख्य दबाब महिलाबाटै आउँछ । यदि, घरमा सासू, नन्द आमाजूले सकारात्मक भूमिका खेल्ने हो भने एकाध अबुझ होलान् नत्र सबै त्यस्ता पक्कै हुँदैनन् । उनीहरूले कुरा बुझ्छन् र यस्ता रूढीवादमा विश्वास गर्दैनन् । लगातार छोरा जन्माउनकै लागि दबाब दिने काम महिलाबाटै बढी आउँछ । ती महिलाले आफू पनि नारी हुँ भन्ने बिर्सन्छिन् र छोराका लागि जति हिंसा गर्न पनि पछि पर्दिनन् चाहे सामान्य वा उच्च घरानियाँ परिवार नै किन नहोस् ।
एउटी महिलामाथि अर्की महिला जानाजान सौता बनेर जान्छिन् र उनले आफ्नी सौतामाथि सक्नेसम्म हिंसा गर्छिन् । एउटी महिलामाथि आफू सौता बन्न जाँदिन भन्ने महिला छैनन्, जानाजान कान्छी बन्न पाएपछि उनीहरूलाई केही चाहिँदैन । भोलि महिला अधिकारबारे ठूला कुरा गर्ने उनीहरू नै हुन्छन् । एउटी महिलामाथि आफूले गरेको हिंसा र अत्याचारबारे उनीहरू बेखबर हुन्छन् । एउटी महिलामाथि हिंसा हुँदा अर्की महिलाले रमाउने अवस्था छ अनि दोषचाहिँ पुरुषमाथि † सानातिना कुरालाई भुसको आगो बनाएर घर भाँड्नमा मुख्य भूमिका महिलाकै हुन्छ, पुरुष त्यसमा सहयोगी मात्र देखिन्छन् । यसर्थ, महिलाले पहिले आफूभित्रको शत्रु चिन्नेतिर ध्यान दिनुपर्छ । पुरुषलाई मात्रै दोष दिएर केही उपलब्धि हुँदैन ।


प्रतिक्रिया दिनुहोस !