जर्मनी पठाउने नाममा करोडौं ठगी, डेढ सय जना ठगिएको अनुमान

जर्मनी पठाउने नाममा करोडौं ठगी, डेढ सय जना ठगिएको अनुमान

काठमाण्डौँको बसुन्धारास्थित एभरेष्ट ग्लोबल रिक्रुटमेण्ट सर्भिसले नर्सिङसम्बन्धी विशेष तालिमका लागि युरोपेली मुलुक र अमेरिका पठाउने भन्दै धेरैजनालाई ठगेको रहस्य खुलेको छ । एभरेष्टले बेलायतमा प्रोफेशनल एक्लेरेटेड रूट (पीएआर), जर्मनीमा इम्प्लोइमेण्ट मोबिलिटी ब्रीज कोर्स र अमेरिकामा एनसीएलइएक्स तालिम कार्यक्रमको निम्ति पठाउने भन्दै ठगी गरेको बताइएको छ ।

एभरेष्टले विभिन्न व्यक्तिसँग एउटै कोर्सको निम्ति फरक दरमा रकम असुलेको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार भारतीय नागरिक राजेश मिस्काले बेलायत,जर्मनी र अमेरिका पठाउने भन्दै तीन वटा देशका लागि छुट्टाछुट्टै कोर्समा तालिम दिने बताएका थिए । तर रकम उठाएपछि अहिले उनी पनि बेपत्ता भएको बताइन्छ ।

इम्प्लोइमेण्ट मोबिलिटी ब्रीज कोर्स गर्न जर्मनी जानेहरूलाई पहिले रोमानियामा तालिम दिएर पछि जर्मनी लैजाने बताइएको उनीररूले जानकारी दिएका छन् । अहिले उक्त कम्पनीका नेपाली मालिक देउमान तामाङ र भारतीय साझेदार मिस्का गायब भएका छन् । दुई वर्ष बिते पनि उनीहरूले विभिन्न बहाना बनाउँदै आएका थिए । पछिल्लो डेढ वर्षदेखि कोरोनाका कारणले उड्न नमिलेको बताउँदै आएका तामाङ र मिस्का पछिल्ला दिनमा सम्पर्कविहीन भएका छन् ।

पीडितलाई नयाँ सम्पर्क नम्बर पनि नदिएकाले उनीहरूले कम्तिमा १ सय ५० जनालाई बिचल्ली बनाएको बुझिएको छ । केही समयअघि भारतीय नागरिक मिस्काले ह्वाट्ससएप मार्फत् पोल्याण्ड जाने भए आफूहरूले छिट्टै उडाउने बताएका थिए । तर अहिले उनै मिस्काको ह्वाट्सएप समेत ब्लक गरिएको छ ।

जर्मनी, बेलायत र अमेरिकामा नर्सिङका लागि विशेष तालिम गराउने भन्दै उनीहरूले ८ लाख, रेडियोलोजिस्टको निम्ति ४ लाख रुपैयाँसम्म तोकेका थिए । ठगिएका १ सय ५० जनामध्ये सबैसँग न्यूनतम २ लाख ४० हजार लिएको रहस्य पनि हालै खुलेको छ ।

टिप्पणीहरू