म्याद नथप्दा मध्यरातसम्म बालुवाटार

म्याद नथप्दा मध्यरातसम्म बालुवाटार

सशस्त्रका सुदूर पश्चिम हेर्ने डीआईजी प्रवीण श्रेष्ठको म्याद हिजो साँझको क्याबिनेट बैठकले नथपेको बुझिएको छ । आज राती १२ बजेसम्म सेवा कायम रहेका श्रेष्ठले मध्यरातबाट स्वतः अवकाश पाउँदैछन् । म्याद थपेको भए श्रेष्ठ महानिरीक्षकको लाइनमा रहन्थे ।

हिजो साँझ बालुवाटारमा बसेको क्याबिनेट बैठक साढे सात बजे सकिएको थियो । बैठकले म्याद नथपेको थाहा पाएपछि वनमन्त्री नारदमुनी राना र विघटित प्रतिनिधि सभाकी सांसद निरु पालले श्रेष्ठलाई लिएर राती अबेर बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको स्रोतको दाबी छ । श्रेष्ठको म्याद थपको लागि मन्त्रीपरिषद् बैठकको निर्णयमा मुख्यसचिवले दस्तखत नगरुन्जेल थपघट गर्न सकिने भएकाले राना र पालले अन्तिमपटक त्यहि कोशिस गरेको बताइन्छ ।

मन्त्री राना रातो पासपोर्ट काण्डमा परेका सांसद हुनुहुन्छ जसले पछिल्लो संसदीय निर्वाचनमा कैलालीमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजू राणा देउवालाई पराजित गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्रीनिकट समानुपातिक सांसद निरु पाल कञ्चनपुरकी हुनुहुन्छ । उहाँ प्रतिनिधिसभामा महिला तथा सामाजिक समितिको सभापतिसमेत हुनुहुन्थ्यो ।

यसअघि सुदूरपश्चिमकै सशस्त्रका पूर्व डीआईजी सुरज श्रेष्ठलाई पनि म्याद नथपी घर पठाइएको थियो । सुरज पनि म्याद थपिएको भए स्वतः आईजीपीको लाइनमा हुनुहुन्थ्यो ।

टिप्पणीहरू