पूर्वको कथा:फाइलमा प्रगति,फिल्डमा सास्ती

पूर्वको कथा:फाइलमा प्रगति,फिल्डमा सास्ती

‘एक वर्षभित्रै झापाको भद्रपुरदेखि बिराटनगरसम्म सरर्र यात्रुवाहक बसहरू कुद्नेछन् तपाईंहरू ढुक्क हुनुहोस्,अब विकास दौडने छ ।’ १० भदौ, २०७६ मा प्रदेश १ सरकारका प्रवक्ता ,आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मोरङ र झापाको सिमाना चौकीघाटमा प्रहरी चौकी उद्घाटन गर्दै भाषण गर्नुभएको थियो । उपस्थित स्थानीवासीले पनि खुशी हुँदै ‘अब अलपत्र खोलाको पुल र अपुरो सडक कालोपत्रे पनि हुने भो’ भने । तर मन्त्री कार्कीले भाषण गरेको एक वर्ष बिते पनि न रतुवा खोलामा पर्ने अलपत्र सीमा पुल सञ्चालनमा आयो न चौकीघाटदेखि आमबारीसम्मको ८ किलोमिटर सडक कालोपत्रे नै भएको छ ।

योजना कार्यालय इटहरीअन्तर्गत निर्माण भइरहेको हुलाकी राजमार्ग प्रदेश नं १ को पूर्वी सीमाना झापा,भद्रपुरको मेची पुलदेखि राजगढ, शिवगन्ज,गौरीगन्ज हुँदै मोरङको रंगेली बिराटनगर भएर सुनसरीको चिमडी, हरिनगरा, भुटाहा , लौकहीबाट पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । त्यहाँबाट कोशी ब्यारेज पश्चिम २ नम्बर प्रदेशमा सप्तरीको भारदहबाट कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्गमा जोडिएर पुनः कञ्चनपुरदेखि दक्षिण राजविराजसम्म र त्यहाँबाट पश्चिम सिरहाको सिमाना बलान खोलासम्म पुग्छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको हुलाकी राजमार्ग भारत सरकारको सहयोगमा आर्थिक वर्ष २०६५/०६६ बाट निर्माण शुरु भएको हो । उक्त सडक आगामी दुई वर्षपछि निर्माण सम्पन्न भइसक्नुपर्ने लक्ष्य छ । तर कछुवा गतिमा निर्माण भइरहेको अवस्था हेर्दा अझै प्रदेश १ र २ को सप्तरी जिल्लासम्म हुलाकी सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आउन दशकौं लाग्नसक्ने स्थानीयको बुझाई छ ।

सुनसरी बजुँगाउँपालिका पूर्व कुशाहाका कृष्ण शर्मा भन्छन्, ‘यही तालले हो भने अबको दश वर्षमा पनि हुलाकी सडकमा सरर्र मोटर चढेर हिँड्न अझै वर्षौं लाग्छ होला ।’ हुलाकी सडकअन्तर्गत २७ वटा पुल अझै निर्माण हुन बाँकी छ । निर्माण सम्पन्न भइसकेको भनिएका पुलहरू पनि कागजी रुपमा मात्र मात्र सम्पन्न भएका छन् । बास्तविकतामा पुलहरू अलपत्र अवस्थामा छन् ।

मोरङ र झापाको सीमानामा पर्ने रतुवा खोलको पुल निर्माण सम्पन्न भनिए पनि खोलाको बीचमा अलपत्र छ । सर्वसाधारण पुलमुनि अर्को बाँसको पुल बनाएर खोला वारपार गर्न बाध्य छन् । रतुवामाई नगरपालिकाले मोरङतर्फ वर्षेनी बाँसको पुलका लागि लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । सप्तरीदेखि झापासम्मको रुटमा हालसम्म झापाका साना खोलामा तीन वटा पुल मात्र निर्माण सम्पन्न भएका छन् ।

हुलाकी सडक पूर्व पश्मितर्फ झापामा ४८, मोरङमा ४२, सुनसरीमा ३० र सप्तरीमा ४६ किलोमिटर लामो छ । यसबाहेक झापा, मोरङ, सुनसरी र सप्तरीमा पहिलो चरणमा ८० र दोस्रो चरणमा ८९ किलोमिटर गरेर पूर्वपश्चिमसहित जम्मा ३ सय १६ किलोमिटर लामो सडक कालोपत्रे निर्माण हुनुपर्ने छ । यो मार्गमा पहिलो चरणका बाहेक अरु सडक निर्माण भइसकेका छैनन् । बिराटनगर–रंगेली–गौरीगन्ज खण्डमा पहिलो चरणको काम भइरहेको छ, तर त्यो निकै सुस्त छ ।

हुलाकी मार्गमा झापामा चारआलीदेखी केचनासम्म ४०, मोरङमा कानेपोखरीदेखी रंगेली २२ र सप्तरीमा कल्याणपुरदेखी बर्साइनसम्म १८ किलोमिटर सडक पहिलो चरणमा सहायक सडक निर्माण हुँदैछन् । यसैगरी दोस्रो चरणमा मोरङको पथरीदेखी भारतीय सीमा, सुनसरीको देवानगन्जदेखी भीमपुरसम्म साढे ८ किलोमिटर, अनि सप्तरीको राजविराज कुनौली १२ र कठौनापातो १८ किलोमिटर सहायक सडक निर्माण हुनेछ ।

हुलाकी मार्ग निर्माणमा २७ वटा पुल र १८ वटा सडक खण्डमा विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता गरि ४५ वटा प्याकेजमा काम भइरहेको छ । तर कामको गति भने अति नै सुस्त देखिन्छ ।

सुनसरीको बर्जु गाउँपालिका प्रमुख रधुनन्दन चौधरी हुलाकी सडक निर्माण भएर सूचारु भए आफनो गाउँपालिकामा पर्ने प्रसिद्ध बर्जु तालमा पर्यटक बढ्ने मात्र नभएर विकासले धेरै फड्को मार्ने आपेक्षा लिएको बताउँछन् । तर निर्माण कार्य भने अति नै सुस्त भएको उनी पनि स्वीकार्छन् । उनले भनेका छन् ‘हाम्रोमा कुनै विवाद छैन तर कामको अति नै सुस्त छ ।’

सुनसरी हरिनगरा गाउँपालिका प्रमुख गफार अन्सारीले पनि हुलाकी सडकबारे मुआब्जा र रुटकालागि कुनै विवाद नभएको तर भुटाहा र हरिनगरा जोडने पुल समेत निर्माण नभएको बताएका छन् । सडक निर्माणको गति अति सुस्त रहेको बताउँदै अन्सारी भन्छन्, ‘कतैकतै नाला बनाउने र ट्रयाकअनुसार केही ठाउँमा बाटो फराकिलो पार्ने बाहेक अरु काम भएको छैन । किन ढिलाई भएको हो आयोजनाका हाकिमहरूलाई नै थाहा होला ?’

हुलाकी राजमार्ग योजना कार्यालय सुनसरी ईटहरीका ईन्जिनियर आषुतोष कर्ण जग्गा मुआब्जा विवाद, बजार क्षेत्रमा घर भत्काउनुपर्ने, बिजुली र टेलिफोनको तार सार्नुपर्ने लगायतका कारणले सडक निर्माणमा ढिलाइ भएको बताउँछन् ।

कर्णका अनुसार मेचीदेखी सप्तरीको बलानखोलासम्म हुलाकी सडक निर्माणको लागत १६ अर्ब रुपैयाँ तोकिएको छ । जसमध्ये मुख्य र सहायक सडक एवम् पुल निर्माणमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ । तर चालु वर्ष भने निर्माणले तीब्रता पाएकाले ५५ प्रतिशत प्रगति भइसकेको दाबी आयोजना कार्यालयको छ । हालसम्म हुलाकी राजमार्ग निर्माण कार्यमा ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

तीब्र गतिमा काम गर्न घर भत्काइयो, तर जस्ताको तस्तै

हुलाकी सडक तीब्र रुपले निमाण गर्ने भनेर मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रका एक सय घर बिना मुआब्जा डोजर लगाएर भत्काएको थियो । त्यो बेला स्थानीयहरूको चिल्लीबिल्ली भएको थियो । तर त्यहाँ अझै निर्माण सम्पन्न भएको छैन । त्यहाँ पनि नाला निर्माण गर्ने काम भएको बताइन्छ ।

यसैगरी गत वर्ष नै भद्रपुरदेखी बिराटनगरसम्म यात्रुवाहक बसहरू सञ्चालन हुने भनेर प्रदेश १ का मन्त्री हिक्मत कार्कीले भाषण गरेपनि अझै मोरङको रतुमाई नगरपालिकको आमवाडी चोकदेखी चौकीघाटसम्मको ८ किलोमिटर सडक कालोपत्रे भएको छैन । झापाको गौरीगञ्जसँग जोड्ने रतुवा खोलाको पुल कागजी रुपमा निर्माण सम्पन्न भएपनि अझै अलपत्र अवस्थामा नै छ ।

रतुवामाई नगरपालिका उपप्रमुख दमयन्ता चुँडालका अनुसार उनले पनि चालु वर्षदेखी कालोपत्रे गर्न शुरु गर्ने सुनेको मात्रै हो । उनले भनिन् ‘खै हुलाकी राजमार्ग कागजमा बनिसक्यो भन्छन् तर उपभोक्ताले सेवा चाँही कहिले पाउने हुन् थाहा छैन ।’

बिराटनगरदेखी सुनसरी रुट अझै विवादमा

मोरङको बिराटनगर महानगरपालिकाको हाटखोलादेखी सुनसरीतर्फ हुलाकी राजमार्गमा कुन रुटबाट लाने भन्ने विवाद अझै स्पष्ट भएको छैन । पहिले हाटखोलादेखी बिराटनगरको मध्यभाग केशलिया मार्ग भएर सुनसरीको सीतागन्ज हुँदै चिमडी बजारसम्म लाने रुट कायम भएको थियो । तर पछि फेरि पहुँच र स्वार्थले गर्दा रुट परिवर्तन गरेर हाटखोलादेखी बरगाछी हुँदै कुशाहा र चिमडी निकाल्ने गरेर रुट परिवतन गरिएको थियो ।

रुट परिवर्तन भएपछि गत वर्ष स्थानीयले इञ्जिनियर सन्तोष देवलाई नियन्त्रणमा लिएर जालझेल गरेर हुलाकी रुट परिवर्तन गराएको भन्दै हातपातको प्रयास गरेपछि निर्माण कार्य नै स्थगित भएको थियो ।

बिराटगनगरको बरगाछी हुँदै पश्चिम इकराहीबाट सुनसरीको पूर्वकुशाह मार्गबाट चिमडी लाने सडक साढे दुई किलोमिटर स्तरोन्नती भएपछि स्थानीयले बिरोध गरे र त्यो काम नै रोकियो । स्वीकृत डिपीआर अनुसारको रुट नभएको भन्दै निर्माण कम्पनी काठमाण्डौंको शर्मा बिकोई र सूर्या जेभीले झुक्किर गल्ति भयो भन्दै माफी मागेर काम बन्द गरेको थियो ।

उक्त्त रुटमा हालसम्म निर्माण कार्य अगाडी बढ्न सकेको छैन । पूरानो रुटअनुसार बिराटनगरको हाखेलादेखी केशलिया मार्गहुँदै सुनसरीको अमाहिबेल्हा भएर चिमडी पुग्छ । डिपिआर अध्ययन गरेर टेण्डर स्वीकृत गराउने ‘ए’ लेभलको निर्माण कम्पनीले झुक्किएको भन्नु हास्यास्पद भएको भन्दै चलखेल गरेर रुट परिवर्तन गराउन खोजेको आरोप स्थानीयको छ ।

स्थानीयको बिरोधपछि हाल केशलिया मार्गपश्चिम अमाहीबेल्हासम्म सडक कालोपत्रे गरिए पनि हुलाकी मार्गको रुट कुन भन्ने यकिन भइसकेको छैन । यद्यपी स्थानीयले भने हुलाकी राजमार्गको सक्कली रुट भएकाले सोहीअनुसार निर्माण कार्य अगाडी बढ्नुपर्ने अडान लिएका छन् । पूरानै रुट कायम गराउने नागरिक सघर्ष समितिका अगुवा परमानन्द मेहता भन्छन्, ‘रुट परिवर्तन हुन दिँदैनौं, गर्न खोजेमा हामी मर्न पनि तयार छौं ।’

हुलाकी राजमार्ग निर्माण आयोजनाको इटहरीस्थित कार्यालयका आयोजना प्रमुख कर्ण भन्छन्, ‘हाटखोलादेखी सुनसरीको चिमडीसम्म केशलिया वा जामुनगाछी कुन रुटबाट लाने अझै क्लियर भइसकेको छैन ।’ उता सुनसरी बर्जु र हरिनगरगाउँपालिका प्रमुखहरू भने जामुनगाछी मार्ग नै क्लियर भइसकेको र सोही रुट नै उपयुक्त्त हुने बताउँछन् ।

उता बर्जुगाउँपालिकाको दक्षिणी क्षेत्रमा बसोवास गर्ने र देवानगन्ज गाउँपालिकामा बसोवास गर्ने स्थानियहरू भने हुलाकी मार्गको रुट पूरानै कायम हुनुपर्ने अडानमा छन् । देवानगन्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता भन्छन, ‘जालझेल गरेर लगेपछि कसको के लाग्छ र तर हुलाकी राजमार्गको रुट पूरानै कायम हुनुपर्छ ।’

अमाहीबेल्हास्थित सीतागन्ज एभरेष्ट साइन्स सेन्टरका सञ्चालक दिलिप अधिकारी हुलाकी मार्गको रुट पूरानै सही भएको र सोहीअनुसार नै कायम हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हुलाकी मार्ग भनेर राणाकालदेखी कायम भएको रुट नै केशलिया मार्ग हुँदै जाने हो, यसैले अहिले आएर परिवर्तन गरेर हुँदैन ।’

सप्तरीमा कालोपत्रे १५ किलोमिटर मात्र

हुलाकी राजमार्गअन्तगर्तको सडक निर्माण सप्तरीतर्फ पनि सुस्त छ । सिरहा र सप्तरीको सीमाना वलान खोलादेखी पूर्व १५ किलोमिटर मात्र पहिलो लेयरको कालोपत्रे भएको छ । थप ११ किलोमिटर कालोपत्रे हुन बाँकी नै छ । सस्तरीमा कोशी ब्यारेजदेखी कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्गलाई नै हुलाकी रुटमा गाभिएको छ । कञ्चनपुरदेखी राजविराज हुँदै राजमार्ग पश्चिम बलान खोलातर्फ रुट लगिएको छ । त्यता भर्खर ग्राभेलको काम मात्र सकिएको छ । सप्तरीको पूर्वपश्चिम राजमार्गको कठौनादेखी दक्षिण पातोसम्मको सडक पनि भर्खर ग्राभेल मात्र भएको छ ।

तीब्र गतिले निर्माण भइरहेको आयोजनाको दाबी

हुलाकी राजमार्ग आयोजना कार्यालय सुनसरी इटहरीका इन्जिनियर आशुतोष कर्ण आयोजना धेरै पहिले शुरु भएपनि भारतीयहरू आफैँले निर्माण गर्न थालेको तर विभिन्न विवादले गर्दा काम गर्न नसक्दा ढिलाई भएको बताउँछन् । उनका अनुसार हाल भारत सरकारको सहयोगमा निर्माण भइरहेको भए पनि हुलाकी मार्ग नेपाल सरकार आफैंले निर्देशनालय मार्फत् २०७३÷०७४ देखि सरकारले आफैं निर्माण गर्ने योजना बनाएको हो । आर्थिक वर्ष २०७६/०७७ देखि सबै पुल र प्याकेजमा सडक निर्माण गर्न ठेक्का लगाएको हो ।

ठेक्का लागेपछि हाल धमाधम सडकको चौडाईं बिस्तार गर्ने र पुल, कल्भर्टहरू निर्माण गर्ने काम भइरहेको छ । इन्जिनियर कर्ण भन्छन्, ‘समग्रमा हेर्दा निर्माण ढिलो भएको देखिए पनि चालु वर्षदेखी भने कामको गती तीब्रं भएको छ । यही हिसाबले काम भए आगामी वर्ष हुलाकी राजमार्ग निर्माण पूरा हुन्छ ।’

टिप्पणीहरू