अन्त गएकी कलिली केटीको प्राणान्त

हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् † आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लगनखेलस्थित साथीको घर नजिकै छाडेको । तर, विहान फोन आउँछ, मीनभवनस्थित सिभिल अस्पतालबाट । फोन गर्नेले भन्छन्, ‘उनको डेथ भइसक्यो, जिम्मा लिन आउनुहोला…!’
१७ वर्षकी कलिली छोरी । पढ्छु, केही गर्छु भनेर बुबा र दाजुसँगै काठमाडौं बसेकी । तर, एउटाकहाँ भनेर अर्कै साथीकहाँ जाँदा छोरी कहिल्यै फर्किइनन् । उनी कसरी मरिन् ? मारिइन् कि आत्महत्या गरिन्, पत्तो छैन । तर, अर्काकहाँ ज्यालादारी गरेर, ठूलो कष्ट र प्रेमका साथ हुर्काइएकी सिराहाका राजेश साहकी ती प्यारी छोरी अनुराधा सोमबार चूपचाप आर्यघाटमा खरानी बनिन् ।
ललितपुरको मानभवनस्थित क्यास्पियन कलेजमा व्याचलर पढ्दै गरेकी आयुष्मा श्रेष्ठ दाइ अनन्तकी साथी । त्यही कारण उनी पनि आयुष्मासँग नजिक थिइन् । शनिबार साँझ परेपछि अनुले आयुष्माकहाँ जाने इच्छा गरिन् । अनन्तले ‘जाने भए जाऊ, तर एक्लै नजाऊ’ भने । त्यसपछि साथीको स्कुटी मागेर अनन्त आफैँले बहिनीलाई लगनखेल चोकमा छाडिदिए । आयुष्माको घर लगनखेल चोकबाट अलिकति भित्र छ । बहिनीलाई चोकमा छाडेर हिँडेका अनन्त ढुक्क थिए, बहिनी त्यहीँ गएको हो । फेरि अनुराधाको मोबाइलको डिस्प्ले बिग्रिएको थियो । आएको फोन उठाउन मिल्ने, तर चाहेको फोन गर्न नमिल्ने । भोलिपल्ट बिहानै फर्किन्छु भनेकी अनु आइनन् । सोध्न खोज्दा फोन पनि लागेन । अनन्तले आयुष्मालाई फोन गरे । तर, उनले बहिनी आफूकहाँ नआएको बताइन् । यसपछि बल्ल कहाँ, के भन्ने खोजी भयो । खोजी हुँदाहुँदै अपरिचित नम्बरबाट फोन आयो, सिभिल अस्पतालमा बोलाउँदै । लगत्तै बुबा राजेशलाई प्रहरीले फोनमा भने, ‘तपाईंकी छोरी सिरियस छ । अहिले सिभिल अस्पतालमा । छिटो आउनुस् †’ परिवारका सदस्यहरु पुग्दा अनुले धर्ति छोडिसकेकी थिइन् । उनलाई शान्तिनगर गेटमा डेरा बस्ने १९–२० वर्षका युवक आशिष हमालले मृत अवस्थामा अस्पताल पु¥याएका रहेछन् । अर्थात्, आयुष्माकहाँ जान्छु भनेर हिँडेकी अनु पुगेकी रहिछन्, आशिषकहाँ । तीनकुने प्रहरीले आशिषलाई तत्कालै नियन्त्रणमा लियो । आशिषका अनुसार, अनुलाई उनको कोठामा स्कुटर चढेर आएका एकजना साथीले छाडिदिएका हुन् । अनुसँग साथीहरुमार्फत सामान्य चिनजान भएको उनले प्रहरीलाई बताएका छन् । रातको समयमा उनले आशिषको कोठाभित्र बान्ता गरिन् । आशिषले भनेअनुसार, बान्ता गरेको ओछ्यान सफा गरेर भुँइमा अर्को ओछ्यान लगाई अनुलाई सुत्ने व्यवस्था मिलाएर कोठा बाहिर निस्किए । फर्कंदा मस्त निद्रामा भएजस्तो लागेर बोलाएनन् । तर, भोलिपल्ट बिहान बोलाउँदा अनु उठिनन् । शरीर छाम्दा चिसो भइसकेको थियो । मुटुको धड्कन बन्द थियो । अनि बल्ल अस्पताल लगे । तर, अनुको परिवार आशिषको यो बयान पत्याउने पक्षमा छैन । अनुको परिवारका कुनै पनि सदस्यले आशिषलाई चिनेका छैनन् । अनुको हत्या हो या आत्महत्या ? पोष्टमार्टम रिपोर्टले पनि हालसम्म यकिन गर्न सकेको छैन । भिसेरा रिपोर्टको परीक्षण नभई केही भन्न नसकिने तीनकुने प्रहरी बृत्तका डिएसपी नारायण चिमोरिया बताउँछन् । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा अनुको मुखमा नङले चिथोरेको दाग छ । चिउँडोमा खत लागेको सानो घाउ पनि छ । पेटमा तीन सय ५० एमएल सेतो पदार्थ छ । कीटनाशक औषधी भए डाक्टरले सुँघेर थाहा पाउँथे, तर त्यस्तो पनि होइन । डाक्टरहरुले खानासँगै मिसिएको सेतो पदार्थ भनेका छन् । परीक्षणका लागि त्यो पदार्थ ल्याबमा लगिएको छ । यौनजन्य क्रियाकलाप भए÷नभएको पनि बुझ्न पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू