नमिलेका नगद दसैं मान्ने नेपालीलाई

विगतमा राजा ज्ञानेन्द्रले छोरा पारशलाई दसैंको मुखमा युवराज घोषित गराएर सर्वसाधारणको आँखामा छारो हालेझैं नेपाल राष्ट्र बैंकका ठालुहरूले पनि छपाइ बिग्रेको ५० रुपैयाँ दरको नोटलाई सटही गराउने उपयुक्त मौका प्रयोग गर्न लागेको बुझिएको छ । नयाँ ५० रुपैयाँ दरको नोट आजदेखि सर्वसाधारणलाई सटहीमार्फत वितरण गर्न नेपाल राष्ट्र बैंकले हिजो सूचना जारी गरेको छ ।
गभर्नर चिरञ्जीवी नेपालको दस्तखत रहेको नयाँ ५० रुपैयाँ दरको नोट केही दिनअघि मात्र इन्डोनेसियाली नोट प्रिन्टि¨ कम्पनी पेरुम पेरुरीबाट काठमाडौं आइपुगेको हो । गत साता मुद्रा व्यवस्थापन विभागमा आइपुगेको करोडौं थान नोट बैंकले छाप्नुअघि दिएको नमुनाबमोजिम नभएपछि हल्लिखल्ली मच्चियो । तर, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी तथा शिवराज श्रेष्ठ तथा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेललगायतले पेरुम पेरुरीसँग पछि क्षतिपूर्ति माग्ने र अहिलेलाई दसैंमा उक्त नोट सटही गराउने निर्णय गरेपछि नयाँ नोट विवादमा आएको हो । यसअघि पनि राष्ट्र बैंकले बेलायतको डेला रिउ कम्पनीलाई ५ रुपैयाँ दरको १ करोड थान र अस्ट्रेलियाको नोट प्रिन्टिङ कम्पनीलाई नमुनाबमोजिम १० रुपैयाँ दरको ४ करोड थान नोट नछापेकोमा नष्ट गर्न लगाएको थियो । तीमध्ये अस्ट्रेलियाले १ करोड थान काठमाडौंमा र बाँकी ३ करोड थान
नोट बैंक प्रतिनिधिको रोहबरमा उतै नष्ट गरेर नोट पुनः छापी बैंकलाई उपलब्ध गराएको थियो । यस्तै अप्ठ्यारो अवस्थामा सहयोग गर्न गभर्नरले सञ्चालक नियुक्ति विकेमान सिंहलाई हालै मात्र उपचारको निम्ति ८ लाख भारु, विगतमा धेरै पटक विदेश भ्रमण र अधिकांश उपसमितिमा सदस्य तथा अर्का सञ्चालक रामहरि अर्याललाई पनि सोही किसिमको सुविधा दिइएको छ । राष्ट्र बैंक सञ्चालक समितिमा हालै प्रतिनिधित्व गर्न थालेका अर्थसचिव शान्तराज सुवेदीले विषयवस्तुलाई गहन ढंगले हेरे मात्र यो नोटको विषयमा टुंगो लाग्नेछ अन्यथा भागशान्ति जय नेपालबाहेक केही नहुने उच्च अधिकृतको  दाबी छ ।

टिप्पणीहरू