निर्णय उल्टाउन नानाभाँती

के क्याबिनेटस्तरीय निर्णय भनेको बच्चाले खेल्ने भाँडाकुटीजस्तो हो ? होइन भने, १५ दिनअघि एउटा निर्णय ग¥यो, १५ दिन नबित्दै त्यसलाई उल्टाएर किन गाईजात्रा देखाइन्छ, विदेशी हँसाइन्छ ?
अघिल्लो सरकारले गरेको एउटा निर्णय उल्टाउन  प्रचण्ड मन्त्रिमण्डलका सबैभन्दा पाका सदस्य सूर्यमान गुरुङ कम्मर कसेर लागिपरेका छन् । हरेक बिहान उनको निवासमा उक्त निर्णय उल्टाइदिन माग गर्दै व्यवसायीदेखि कूटनीतिक नियोगका प्रतिनिधिको लर्काे लाग्ने गरेको छ ।
अस्ति आइतबार बिहानै जनआस्थाकर्मी गुरुङनिवास बानेश्वर पुग्दा म्यानपावर व्यवसायीको खचाखच थियो । मन्त्रालयभन्दा घरमै यसरी भेट्न आउनेको भीड लाग्ने गर्छ । ६ असारमा अफगानिस्तानको राजधानी काबुलमा भएको आतंककारी आक्रमणमा परी निर्दाेष १३ जना नेपालीले ज्यान गुमाएसँगै रोजगारीका निम्ति त्यहाँ जान पूर्ववर्ती सरकारले रोक लगाएको थियो । म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका बलबहादुर तामाङ भन्छन्, ‘सेक्युरिटी गार्डमा नेपाली कामदार बढी रोजिने भएका कारणसमेत विदेशी दूतावासका प्रतिनिधिले प्रतिबन्ध फुकुवा गर्न दैनिक  श्रममन्त्रीलाई दबाब दिइरहेका हुन् । विशेष गरी युएन एजेन्सी, युरोपियन राजदूतले यही विषयवस्तुमा केन्द्रित रहेर दैनिकजसो श्रममन्त्रीसँग भेट गरिरहेका छन् ।
तर, मन्त्रिमण्डलको निर्णयबाट रोक लगाइएको हुँदा उनी एक्लैको दाल गलेको छैन । गुरुङ भन्दै हिँडेका छन्, ‘घाउ लाग्यो भन्दैमा औंला काटेर फाल्न त मिलेन नि ?’
स्मरणीय छ, माधव नेपाल प्रधानमन्त्री हुँदाको सरकारले अफगानिस्तान, इराक, लिबियालगायत मुलुकमा कामदार पठाउन रोक लगाएको थियो । तर, विदेशी कूटनीतिज्ञ, म्यानपावर व्यवसायीको दबाब थेग्न नसक्दा १५ दिन नबित्दै सो निर्णय उल्टियो । त्यसबेला वैदेशिक रोजगार व्यवसायी महासंघको नेतृत्व सोमलाल बाटाजुले गरेका थिए ।
अवैध बाटो अफगानिस्तान पुगेका नेपालीको संख्या अहिले १२ हजारभन्दा माथि रहेको आँकलन वैदेशिक व्यवसायीको छ ।  
सरकारले असारमै अफगानिस्तान पठाउन रोक लगाएसँगै अख्तियार प्रवक्ता कृष्णहरि पुष्करकी पत्नी आभा श्रेष्ठको नेतृत्वमा पाकिस्तानस्थित कार्यवाहक राजदूत, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने र वैदेशिक रोजगार बोर्डका निर्देशकसहितको टोली वस्तुस्थिति बुझेर फर्किएको थियो । यसअघि ०६१ सालमा इराकमा १२ जना नेपालीको हत्या भएको थियो भने त्यसको १२ वर्षपछि अफगानिस्तानमा उसैगरी १३ नेपालीको हत्या भएको हो ।

टिप्पणीहरू