नेपाल प्रहरीमा व्यापक हेरफेर

नेपाल प्रहरीमा व्यापक हेरफेर

नेपाल प्रहरीमा १६ जना डिआइजी र एसएसपीको सरुवा भएको छ । आज गृह मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवामा अख्तियारका डिआइजी अरुणकुमार बिसीलाई १ नम्बर प्रदेश,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका उमेश रञ्जितकारलाई २ नम्बर प्रदेश र विशेष ब्युरोका प्रकाशजंग कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडा लगिएको छ ।

त्यसैगरी अपराध अनुसन्धान विभागका दिवेश लोहनीलाई गण्डकी प्रदेश,हेडक्वार्टरको अन्वेषण योजना तथा विकास निर्देशनालायका मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशको प्रहरी कार्यालय दाङ,गणेशबहादुर ऐरलाई प्रदेश समन्वय निर्देशनालयबाट कर्णाली प्रदेश (सुर्खेत), मानवस्रोत एवम् प्रशासन विभागका पुरुषोत्तम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी डिआईजी बसन्तकुमार पन्तलाई अख्तियार,घनश्याम अर्याललाई पोखराबाट विशेष व्युरो,उत्तमराज सुवेदीलाई उपत्यका प्रहरी कार्यालय, रविन्द्रबहादुर धानुकलाई दाङबाट अपराध अनुसन्धान,बसन्तकुमार लामालाई हेटौंडाबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

त्यसैगरी,प्रकाश अधिकारीलाई महानिरीक्षकको सचिवालयबाट मानवस्रोत तथा प्रशासन विभाग, धिरजप्रताप सिंहलाई २ नम्बर प्रदेशबाट केन्द्रीय अनुसन्धान ब्युरो,ईश्वरबाबु कार्कीलाई १ नम्बर प्रदेशबाट अन्वेषण योजना तथा विकास निर्देशनालय र सहकुलबहादुर थापालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ ।

आजै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ । १५ जना एसएसपीमध्ये मीरा चौधरीलाई हेटौंडाबाट १ नम्बर प्रदेश तालिम केन्द्र बिराटनगर,श्यामलाल ज्ञवालीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा,उमाशंकर पञ्जियारलाई अपराध अनुसन्धान विभागबाट प्रदेश प्रहरी कार्यालय, वीरगञ्ज लगिएको छ ।

जनकराज पाण्डेयलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर,गोविन्दकुमार साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाबाट प्रदेश कार्यालय धरान, कृष्णहरी शर्मा पोखरेललाई अन्वेषण योजना तथा विकास निर्देशनालयबाट प्रदेश कार्यालय, पोखरा सरुवा गरिएको छ ।

त्यसैगरी, हृदय थापालाई अख्तियारबाट हेडक्वार्टरको अन्वेषण योजना तथा विकास निर्देशनालय, टेकबहादुर तामाङलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरबाट अख्तियार, नलप्रसाद उपाध्यायलाई प्रदेश कार्यालय महेन्द्रनगरबाट हेडक्वार्टरको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश कार्यालय धरानबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

आज भएको सरुवामा उमेशराज जोशीलाई प्रदेश प्रहरी कार्यालय बनेपाबाट हेडक्वार्टरको अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखामा, दिपक थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ नम्बर प्रदेशको शान्ति सुरक्षा महाशाखा, चन्द्र कुबेर खापुङलाई प्रदेश प्रहरी कार्यालय दिपायलको शान्ति सुरक्षा महाशाखाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा, विक्रमबहादुर चन्दलाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल र प्रहरी प्रदेश कार्यालय पोखराका नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले डीआईजी र एसएसपीको सरुवाको गृहकार्य थालिएको झण्डै १० दिन भएको थियो । प्रहरी महानिरीक्षकले आफ्ना विश्वासपात्र वरिष्ठ अधिकतहरुसँग अनौपचारिक छलफल गर्ने भएकाले पनि गृहकार्य कहिलेकाँही ढिलो भएको बताइन्छ । यसबीचमा गृहमन्त्री समेत फेरिएकाले डिआईजी सरुवाको कार्यक्रममा असर परेको स्रोतको दाबी छ ।

प्रदेशमा रहेका डीआईजीहरुको यसअघि सरुवा भएको १३ महिना भइसकेको थियो । उनीहरु सबैको अघिल्लो वर्षको बैशाखमा सरुवा भएको थियो । नेपाल प्रहरीमा प्राविधिक समेत गरेर १७ जना डिआईजी छन् ।

डीआईजी सरुवामा बालुवाटारले केही दिन हलो अड्काएको भन्ने सन्दर्भमा प्रहरीको उच्च स्रोतले अस्वीकार गरेको छ । उसले भनेको छ ‘प्रहरी प्रधान कार्यालयको सिफारिशपछि पनि लामो समय गृह सचिवकोमा गएर फाइल अड्किएको हुनसक्छ । त्योभन्दा माथि पनि समय लाग्न सक्छ ।’

यसबीचमा सुनसरीलगायत केही जिल्लाका एसपीका कामकारबाहीको बारेमा सर्वसाधारणले समेत प्रश्न चिन्ह उठाएपछि कारबाही हुने अड्कल गरिएको छ । तर, प्रहरी प्रधान कार्यालय स्रोतले भने त्यसबारे अनभिज्ञता देखाउँदै भन्यो ‘प्रमाण फेला परेमा कसैलाई पनि बाँकी राखिँदैन ।’

टिप्पणीहरू