प्रधानमन्त्रीको गाडीमा घुसपैठियाको प्रवेश

देशको सुरक्षा प्रणाली कतिसम्म लापरवाह छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि देखियो । सरकार प्रमुखलाई त्यसै पनि चारथरि सुरक्षा निकायको घेरा, त्यसमाथि औपचारिक भ्रमणमा अलग्गै कारकेटको व्यवस्था हुँदासमेत असम्बन्धित व्यक्तिको घुसपैठ !
२९ भदौको दिउँसो भारत भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्न प्रधानमन्त्री शीतल निवास पुग्दा राजकीय भ्रमणमा मात्र प्रयोग हुने विशेष प्रकारको कारकेडभित्र गैरसुरक्षाकर्मी फेला परेका हुन् । कारकेडमा सुरक्षाकर्मीमात्र हुन्छन् । सुरक्षाकर्मीबाहेकका व्यक्ति चाहे देशका प्रधानमन्त्री र मन्त्री नै किन नहुन्, त्यसभित्र बस्ने अधिकार राख्दैनन् । अतिविशिष्ट व्यक्तिको सवारीलाई अगाडि र पछाडिबाट सुरक्षित पार्नका लागि त्यस्तो कारकेटको प्रयोग हुने गर्छ । तर, सिंहदरबारबाट प्रधानमन्त्रीको गाडी शीतल निवास पुग्दासम्म कारकेडभित्रै बसेका सुरक्षाकर्मीले पनि चिन्न सकेनन् ती गैरसुरक्षाकर्मी को हुन् । चढ्ने बेलामै ‘मैले प्रधानमन्त्रीको आदेश लिइसकेँ, गाडी हिँडाउनुस्’ भन्दै हप्कीदप्की गरेपछि सुरक्षानिकाय अलमलमा परेका थिए । कारकेड प्रधानमन्त्री चढेको गाडीभन्दा ठीक अघिल्तिर हुन्छ । ती व्यक्ति आउँदा प्रधानमन्त्री आफ्नो गाडीमा चढिसकेका थिए । यस्तोखाले सवारीमा सम्बन्धित ओहोदावाल आफ्नो गाडीमा बसिसकेपछि एक सेकेण्ड पनि आलटाल गर्न पाइँदैन । कारकेडमा बसेका सुरक्षाकर्मीले ती व्यक्तिसँग गलफत्ती गरेर सवारी बिगार्नुभन्दा शीतल निवास पुगेरै ठेगान लगाउने सोचाई बनाए । गाडी सिंहदरबारबाट हुँइकिनासाथ अघिल्लो सिटमा बसेका एकजना सईले सञ्चारसेटबाट शीतल निवासमा तैनाथ प्रहरी टोलीलाई भने, ‘मेट्रो सर्कल डबल वनलाई स्ट्याण्डबाई राख्नुस्, जरुरी छ ।’ गाडी पुग्यो, शीतल निवास । ‘मेट्रो सर्कल डबल वन’, अर्थात् प्रहरी बृत्त महाराजगञ्जको टोली त्यहाँ तयारी हालतमा थियो । कारकेटमा चढेका युवकलाई गाडीभित्रैका एक सुरक्षाकर्मीले अलिक पर लगेर सोधे, ‘तिम्रो नाम के हो ?’ उनले भने, ‘म प्रकाश रायमाझी ।’ फेरि सोधे, ‘यो गाडीमा कसले चढ्न भन्यो ?’ उनले भने, ‘प्रधानमन्त्रीले मलाई तपाईं अघि अघि जानुस्, म पछि पछि आउँछु भन्नुभयो अनि…†’ यसपछि ती सुरक्षाकर्मीले प्रकाशको गाला रन्किने गरी एक झापड हाने । अनि, महाराजगञ्जका डिसएपी गोविन्द पुरीले तिनलाई आफ्नो गाडीमा हालेर लगे, खोरतिर । खोरमा पुगेर पनि उनले सानो कुरा गरेनन् । सोझै लगेर हिरासतमा कोचिएका उनले सिपाहीहरूसँग भन्दै थिए, ‘मान्छे चिनेर व्यवहार गर । म को हुँम् ? चिनेका छौ ?’ सिपाहीले सोधे, ‘को होस् तँ ?’ उनले भने, ‘म प्रधानमन्त्रीको पर्सनल सेक्रेटरी ।’ प्रहरीले ‘पर्सनल सेक्रेटरी भए कार्ड देखाऊ त’ भने । उनले भने, ‘मेरो कार्ड हेर्ने अधिकार आइजिपीलाई मात्रै छ, सिपाहीलाई छैन ।’ यिनै व्यक्ति त्यसअघि पनि त्यही तरिकाले शीतल निवास छिरिसकेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) भेनेजुएला जान बिफ्रिङका लागि शीतल निवास पुग्दासमेत प्रकाश सँगै छिरेको पुष्टि भएको छ । प्रहरीले २९ गते रातभर सोधपुछ ग¥यो । उनले आफू अघिल्लो सरकारका मन्त्री टोपबहादुर रायमाझीको नातेदार पर्ने र माओवादी लडाकु भएको बताए । प्रहरीले भोलिपल्ट विहानै उनलाई आफ्नो नजिकको नातेदार बोलाउन भनेपछि काठमाडौंमै रहेका दाइ केशवलाई बोलाए । फाइनान्स कम्पनीमा काम गरेर जीविका चलाउने केशवले प्रहरीलाई भने, ‘यसको दिमाग अलिक ठीक छैन सर, तर मान्छे गलत होइन ।’
उता, अघिल्लो सरकारका खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह मन्त्रीकै परिचयसाथ, तर पैदल बालुवाटारमा देखिँदा सुरक्षाकर्मी हैरान छन् । गत साता एकजना प्रहरीसँग उनको गलफत्ति चल्दै थियो । प्रहरी भन्दै थिए, ‘हजुरलाई हामीले चिन्या छौँ, हजुर भूपू मन्त्री हो, वर्तमान होइन । हजुरको नाम भित्रबाट टिपाएको छैन । भित्रबाट नाम नआई छिर्न दिन्नौँ ।’

टिप्पणीहरू