मध्यराति कमरेडबीच, मारमुङ्ग्री

जनयुद्धताका जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराबिना रात बिताउन नसक्ने हालतमा पुगेका छन् । चपक्क पिएर थपक्क निदाए त हुन्थ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भकुर्न तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेरै पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो । कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र महाभारत मच्चिएको छ ।
पोखरास्थित होटल मुनुको कोठा नं. १०१ मा भदौ ३० गते विप्लव अखिलका नेता बसेको कोठामा चलेको काण्ड हो यो । राति ११ः४० बजे अखिलका केन्द्रीय सदस्य पुष्प न्यौपाने मदिराले मत्थु भएर अर्काको कोठा ताक्न तम्सिए । पुष्प बसेको कोठा नं. थियो ३०४ । तर, १०१ मा पुगेर ढोकामा लात्ती बजारे । त्यो कोठामा काठमाडौं÷पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितिका संयोजक भरत मल्ल र सचिव हरिश भट्ट बसेका थिए । पुष्पले आफूभन्दा माथिल्लो स्तरका नेतामाथि पहिला गाली वर्साए । उनीहरूले नसुनेजस्तो गरेपछि झण्डै दर्जन लात्ती ढोकामा बजारे । सोही समन्वय समितिकी कोषाध्यक्ष आस्था घिमिरे ३०१ नम्बर कोठामा थिइन् । पुष्पलाई सम्झाउन कोठाबाट निस्किइन् । तर, आस्थाले भनेको पनि पुष्पले मानेनन् । ढोका खोल्न लगाइछाडे । भरतले ढोका खोल्नासाथ पुष्पले तथानाम अश्लील शब्द प्रयोग गर्दै झण्डै एक घण्टा होटलकै वातावरण अशान्त बनाइदिए । पुष्पले गरेको गाली आस्थाले आफनो मोबाइलमा रेकर्ड (१५ मीनेटसम्म) पनि गरेकी छन् । गाली खाइरहँदा पनि भरत र हरिशले पुष्पलाई सम्झाएर आफ्नो कोठामा सुत्न जान भन्दै थिए । तर, पुष्प भने सम्झाउनेमाथि हातपातमा ओर्लिए । घटना विवरणअनुसार, अत्यधिक मदिरा सेवन गरेर अर्काको कोठामा होहल्ला गर्न जाने पुष्प दोषी नै भए । अचम्म त के भयो भने, पार्टीको ‘कानुन’ पुष्पलाई सम्झाएर ‘सुत्न जानुस्’ भन्ने हरिश पनि दोषी ठहरिए । असोज २ गते केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहको अध्यक्षता र पार्टी विद्यार्थी फ्रयाक्सन इञ्चार्ज रविको विशेष उपस्थितिमा बसेको बैठकले पुष्पसँगै पटक पटक उही कमजोरी दोहो¥याउने हरिशलाई पनि अनिश्चितकालको लागि निलम्बन गरेको छ । उनीहरूलाई एक हप्ताभित्र लिखित स्पष्टिकरण दिन पनि उक्त बैठकले निर्देशित गरेको छ । केन्द्रले यस्तो निर्णय गरेको पर्सिपल्ट गत बुधबार ५ गते विश्वविद्यालय समन्वय कमिटीका संयोजक भरत र कोषाध्यक्ष आस्थाले पार्टीका नाममा एउटा चिठी लेखे, अन्यायपूर्वक निर्दोषमाथि कारवाही भएको भन्दै । ‘घटनामा संलग्न कमरेड पुष्पको स्पष्ट कमजोरी देखिएको छ । कमरेड भरत र कमरेड हरिशको यो घटनामा कुनै गल्ती नभएको पनि पार्टी हेडक्वार्टरसमक्ष जानकारी गराउँछौँ’ भन्दै उक्त पत्रमा यदि हरिषमाथिको कारवाही फिर्ता नभए केन्द्रीय अध्यक्ष पूर्णबहादुरको नेतृत्व र सम्पर्कमा विश्वविद्यालय समन्वय कमिटी नरहने चेतावनी दिइएको छ ।

टिप्पणीहरू