चेलीहरू दूतावासबाट चिच्याउँदै

ओली सरकारद्वारा कार्यक्षमतामाथि प्रश्न उठाउँदै फिर्ता बोलाइएका दीपकुमार उपाध्याय फेरि राजदूत बनेर दिल्ली जाँदैछन् । तर, त्यसअघि नै उनीसमक्ष त्यहाँ तैनाथ महिला कूटनीतिज्ञले उजुरीको पोको पठाइदिएका छन् । त्योचाहिँ हाल कार्यवाहक राजदूत रहेका सहसचिव कृष्णप्रसाद ढकालमाथि लक्ष्यित छ ।
यी मातहत कर्मचारी, विशेषगरी महिलाको शत्रु नै रहेको दिल्लीस्थित दूतावासको निश्कर्ष छ । जस्तै, नासु सिर्जना अधिकारीलाई ‘यो खतरनाक मान्छे हो, पंधेर्नी हो, झगडा लाउँछे, योसँग जोडिनु हुन्नजस्ता’ आरोप छ । त्यस्तै, सशस्त्रका पूर्वआइजी सनत बस्नेतकी छोरी शिवानीविरुद्ध अख्तियारमा उजुर हालेको, अस्मिता, बुद्धमाया, बृन्दालगायतका कर्मचारीको हुर्मत लिने गरेको, खाडीतिर उड्ने महिला कामदारलाई एनओसी (नो अब्जेक्सन लेटर) दिने सम्बन्धमा सोध्न जाँदा खासै जवाफ नदिएर हैरान पार्ने गरेकोजस्ता आरोप छन् । प्रथम सचिव तीर्थ वाग्लेलाई त उनले सबैका सामु ‘तँ अपराधी होस्, तेरा शाखा–सन्तान नाश हुन्’ भनेर सरापेको समेत उजुरीमा उल्लेख छ । परराष्ट्रले दुई वर्षअघि नै दायित्व नबढोस् भनेर दूतावासमा कार्यरत स्थानीय कर्मचारीलाई सुविधासहित अवकास दिई करार नियुक्तिका निम्ति निर्देशन दिएको थियो । कलकत्तास्थित महावाणिज्यदूतावासले सरकारी निर्देशन कार्यान्वयन गरिसक्दा पनि दिल्लीको कानमा भने अझै बतास लागेको छैन । त्यहाँ तैनाथ ३० जना लोकल स्टाफमध्ये १० जनाको दरबन्दी कटौती भएको छ । पोहोर असारमै यीमध्ये केहीलाई अवकास दिएर कतिपयलाई करारमा बदलिसक्नुपर्ने थियो । ‘अब जे गर्छ, दीपकुमार आएर गर्छ, मेरो के टाउको दुखाई’ भनी ढकाल पन्छिने गरेका छन् । यसअघि तीन महिने काजमा गएका उपसचिव हरि ओडारीसँग आफ्नै निवासमा झण्डै कुर्सी हानाहान गरेपछि यहाँबाट सेवा लम्सालको नेतृत्वमा छानवीन टोली पठाइएको थियो । त्यसको सिफारिसका आधारमा कमल थापाले फिर्ता बोलाउन लागेका थिए । तर, बीचैमा सरकार फेरिनाले ढकालको ढलिमली जारी रहेको हो । शिवानी त सोर्सफोर्सवाला थिइन् र बिहेको बहानामा स्वदेश फर्किएर ढकालको थप कोपभाजनमा पर्नबाट जोगिइन् । तर, अब जान लागेकी पूजा जोशीसहित दिल्लीमै कार्यरत अन्य महिला कर्मचारीले ढकालको ज्यादतीलाई के कसरी झेल्दै जाने हुन्, हेर्न बाँकी नै छ ।
यसबीच, माओवादीले वर्षौं तातोपानी भन्सारमा रहेर कुस्त कमाएका भुपाल शाक्यलाई बढुवाको दुई वर्ष नपुग्दै भैरहवा भन्सार जिम्मा लगाएको छ भने सूर्य सेढाई वीरगञ्जस्थित सुख्खा बन्दरगाह पठाइएका छन् ।

टिप्पणीहरू