बिहे नै नगरी चाहिएको हो बच्चा ?

हिजोआज प्रत्येक आइतबार संसदमा नयाँ नयाँ लफडा देख्न पाइन्छ । कहिले समलिंगी सम्बन्धलाई मान्यता दिन संशोधन प्रस्ताव हालेर त कहिले क्रिश्चियन धर्म परिवर्तनको निम्ति छूट/सहुलियत दिन ५० बोरासम्म सुझाव पठाएर ।
यो आइतबारचाहिँ बिहे नगरी बच्चा पाउने अधिकार माग्दै मान्यज्यूहरू उफ्रिएको पाइएको छ । यसनिम्ति देवानीसंहिता उपरको छलफल जारी छ । डेढ वर्षअघि यसमा संशोधन प्रस्ताव पेश भएको थियो । अहिले बल्ल त्यसलाई टुङ्ग्याउने पालो प¥यो । यो आइतबार एकल र अविवाहित महिलाले पनि विवाहबिनै बच्चा पाउनुपर्ने विषयमा छलफल भयो । यसमा विशेषगरी एमालेका सांसदको अग्रसरता छ, शिवकुमारी गोतामेलगायत । उनी वकालती पृष्ठभूमिकी, चितवनबाट समानुपातिक सांसद हुन् । पूर्वपशुपन्छी मन्त्री तथा वाल्यकालदेखिकै एकल महिला शान्ता मानवी, तारा राई, रत्नकुमारी (मधु) गुरुङ, पेम्बा लामा यो विषयका अभियन्ता हुन् । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी (कांग्रेस) को संयोजकत्वमा विधायन समिति छ । राधेश्यामले भने, ‘कुरा गम्भीर छ । राम्ररी बहस नगरी यसलाई अघि बढाउन मिल्दैन ।’ निवर्तमान कानुन मन्त्री तथा एमाले नेता अग्नी खरेलले भने, ‘हामी पनि बहस गर्न तयार छौँ । तपाईंहरू संशोधन फिर्ता नलिने, तार्किक हिसाबले प्रस्तुत पनि नहुने । कसरी चल्छ ?’ यसपछि राधेश्यामले भने, ‘यो कुरा जस्ताको तस्तै पास गर्न सरकार मान्दैन । नारी अधिकारीप्रति हामी संवेदनशील छौँ । तर, बिना सार्वजनिक बहस यसलाई सर्लक्क स्वीकार्न गाह्रो छ ।’ आइतबार यसमै डेढ घण्टा गलफत्ती चल्यो । बिनानिश्कर्ष बैठक टुंगियो । त्यसदिनको छलफलमा कांग्रेसबाट तारिणीदत्त चटौत, कानुन सचिव टेकप्रसाद ढुंगाना, कानुन सुधार आयोगका अध्यक्ष माधव पौडेललगायतका विज्ञ थिए ।
कृत्रिम रुपमा अरुको वीर्य ग्रहण गरी टेस्टट्युब प्रविधिबाट बच्चा जन्मिए पनि पितृत्वमा जसले सहमति दिन्छ, उसको हुनुपर्ने तर्क पनि छ । कारण, त्यसरी जन्म हुने शिशुको डिएनए परीक्षणले जन्म दिने आमाका पतिलाई ‘बाबु’ भन्दैन । त्यसैले सहमतिमा बच्चा जन्माउनुपर्छ । आइतबार महिलाहरूको जिरह थियो, ‘अविवाहित महिलाले बच्चा जन्माउन नहुने ? किन चाहियो लोग्ने ?’ यसबाट बाबुबिना बच्चा जन्माउने अधिकार दिनै पर्ने हो त भन्ने जिज्ञाशा उत्पन्न भएको छ ।

टिप्पणीहरू