गर्भवती दलित महिलामाथि कुटपिट गर्नेलाई छुट

गर्भवती दलित महिलामाथि कुटपिट गर्नेलाई छुट

-आशिका लम्साल

दलित भन्ने थाहा पाएपछि कोठा भाडामा नदिने काठमाडौंकी घरधनीलाई चौतर्फी दबाबपछि प्रहरीले पक्राउ गरेको छ । तर मोरङमा गर्भवती दलित महिलालाई मानसिक सन्तुलन गुम्नेगरी जातीय गालीगलौज गर्दै कुटपिट गर्ने चार जना आरोपीलाई प्रहरीले हालसम्म पक्रेको छैन ।

मोबाइलको सिमकार्ड चोरी गरेको आरोपमा छिमेकी गर्भवती दलित महिला शोभा दर्जीलाई जातीय विभेदको शब्दका साथ गालीगलौज गर्दै जेठ १ गते मानसिक सन्तुलन गुम्नेगरी कुटपिट गर्ने मोरङ कानेपोखरी गाउँपालिका ५, चिसाङका पुष्पा,निर्मला,चन्द्रमाया र बबिता मगरलाई प्रहरीले हालसम्म केही नगरेको हो ।

असार ४ गते इलाका प्रहरी कार्यालय,पथरीले आरोपीहरुविरुद्ध जातीय विभेद तथा छुवाछुतको कसुरमा किटानी जाहेरी दर्ता गरेपनि पक्राउ गर्नेतर्फ चासो नदेखाएको बताइन्छ । जसकारण आरोपीहरु उल्टै पीडित परिवारलाई मिलापत्र नगरेमा जे पनि हुनसक्ने आशयको चेतावनी दिएर गाउँमा खुलेआम घुमफिर गरिरहेको स्थानीयको आरोप छ ।

उनीहरुले शोभाको सबै उपचार खर्च तिरिदिने र क्षतिपूर्तिवापत केही रकम समेत दिने उल्लेख गर्दै जाहेरी फिर्ता लिन धम्की दिइरहेको बताइन्छ । घटना मिलापत्र गराउन केही जनप्रतिनिधिसमेत लागिरहेका छन् । शोभाकी आमा देवी दर्जीले कुटपिट गर्नेहरुलाई जोगाउने आशयले गाउँको समस्या गाउँमै मिलाउनुपर्ने, अन्यथा भोलिका दिनमा मिलेर बस्न गाह्रो हुने चेतावनी सबैतिरबाट आएकाले शान्तसँग बस्न समेत गाह्रो हुँदै गएको बताइन् ।

जातीय विभेद फौजदारी अपराधको अनुसूची १ भित्रको कसुर भएकाले शून्यसहनशीलता अपनाएर आरोपीहरुलाई तुरुन्तै पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताइन्छ । तर, मोरङ जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भिरतापूर्वक लिएको देखिँदैन । कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले सबै आरोपीहरु अनुसन्धानको प्रक्रियासँगै पक्राउ पर्ने बताएका छन् ।

सहयोग गर्ने मनकारीको खाँचो

यता अस्पतालमा भर्ना भएकी शोभाको उपचारमा आर्थिक अभाव देखिएको छ । वडा अध्यक्षले उपलब्ध गराएको १० हजार रुपैयाँ एम्बुलेन्स भाडा र शुरुको उपचारमा खर्च भइसकेको छ । चिकित्सकहरुले शोभाको ‘सिटी स्क्यान’ गराउन सल्लाह दिएका छन् । तर अस्पताल बाहिर ‘सिटी स्क्यान’ गराउन र औषधी खरिद गर्ने रकम नभएकोले उपचार अघि बढ्न नसकेको शोभाका श्रीमान् उमेशले बताए ।

‘गिट्टी कुटेर गुजारा गर्ने हामीसँग धितो राख्ने सम्पत्ति पनि छैन, ऋण पनि कसैले दिँदैनन् अब कसरी उपचार गराउने होला ?’ उनले भने । धामीझाँक्री लगाउँदा र स्थानीय क्लिनिकहरुमा देखाउँदा आफूसँग भएको अलिअलि पैसा पनि सबै सकिएकाले थप उपचारमा खर्च जुटाउने कुनै उपाय नभएको आमा देवीले पनि बताएकी छन् ।

पहिले पूर्ण स्वस्थ रहेकी २५ वर्षिया शोभाको कुटपिटपछि मानसिक सन्तुलन गुमेको बुझिएको छ । हाल उनमा कडा खालको मनोरोग देखिएको छ । धरानस्थित विपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

टिप्पणीहरू