सिमाना एकातिर मात्रै छ हजुर !

द्वन्द्वकालीन घटनाका नाममा गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिइँदैन भनेर महान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगलाई बचन दिएका त छन्, तर बचनविपरित फिर्ता लिने लहरै चलेको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार श्रेष्ठले मानवअधिकार आयोगलाई ‘जानीजानी हत्या गरिएको कसुरमा ऐनले तोकेका सजायँ हुन्छन्, फिर्ता लिन पाइँदैन’ भनेर फर्किए पनि टीकापुर हत्याकाण्डका केही आरोपीको मुद्दा फिर्ता लिने चरणमा सरकार पुगेको छ । त्यस घटनाका आरोपीमध्ये २०–२५ जना जेलमा छन् । त्यसमध्येका हुन्, फोरम लोकतान्त्रिकका पोलिट्ब्युरो सदस्य लक्ष्मण चौधरी । अर्का ‘मोस्टवान्टेड’ रेशम चौधरी भेष बदलेर दिल्लीस्थित होटल ताजमा प्रचण्ड भेट्न पुगेका थिए । उक्त घटनामा सवा सयमाथि मुद्दा छ । गृहमन्त्री रहेका विमलेन्द्र निधी मुद्दा फिर्ता लिन कस्सिएका छन् । जगजाहेर छ, टीकापुरमा सशस्त्र द्वन्द्वकालीन स्थितिको जस्तो दोहोरो भिडन्त भएको होइन । प्रहरीतर्फबाट कुनै आक्रमण भएको थिएन । सम्झाउन जाँदा प्रहरीका एसएसपीसहित अधिकृतलाई लखेटेर, भाला रोपी मारिएको थियो ।
उता, ‘सब कुरा छोडेर पुच्छरमा हात’ भनेजस्तो अहिले राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी सिमाना निरीक्षणमा निस्किएकी छन् । पश्चिम सिध्याएर पूर्वतिर लागेकी हुन् । प्रश्न उठेको छ, त्यस्तो निरीक्षण गर्ने काम राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्राधिकारभित्र पर्छ कि पर्दैन ? तर, मोहना काज मिलाउँदै हप्ता–हप्ता दिनमा सरकारी खर्चमा हिँड्ने गरेकी छन् । आयोगमै चर्चा छ, ‘यदि निरीक्षण नै गर्ने हो भने पनि दक्षिणको मात्र किन, उत्तरको पनि गर्नुप¥यो !’

टिप्पणीहरू