ज्येष्ठ नागरिकलाई चाहिँ खोप लाउनै नपर्ने ?

ज्येष्ठ नागरिकलाई चाहिँ खोप लाउनै नपर्ने ?

कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोपको मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

ज्येष्ठ नागरिक चिरञ्जीवी बास गिरीले स्वास्थ्य उपचारसम्वन्धी हक, ज्येष्ठ नागरिक हक तथा सम्मानित रुपमा बाँच्न पाउने हकको मागसहित रिट दिएको अधिवक्ता कीर्तिनाथ शर्माले जानकारी दिए ।

गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड कोरोना खोप दिइएपनि अहिलेसम्म अर्को डोज पाएका थिएनन् । सरकारले भारतीय कम्पनीले खोप नदिएपछि बेलायतबाट खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताए पनि अहिलेसम्म नआएका कारण चिन्ता बढेको छ ।

अघिल्लो खोपले कोभिडविरुद्ध सक्रिय रुपले काम गर्न १२ हप्ताभित्र दोस्रो डोज खोपसमेत दिनुपर्ने हुन्छ । जसअनुसार ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्ने हुन्छ । रिट निवेदक ज्येष्ठ नागरिक गिरीले पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप नपाएको दाबी सर्वोच्चमा गरेका छन् । रिटमा सुनुवाईका लागि मंगलबारको पेशी तय भएको छ।

टिप्पणीहरू