थुनामा ज्वाला सङ्ग्रौलाको तीन दिन म्याद थप

थुनामा ज्वाला सङ्ग्रौलाको तीन दिन म्याद थप

हिजो पक्राउ परेकी “सामाजिक अभियन्ता” ज्वाला संग्रौलालाई अनुसन्धानको लागि तीन दिन म्याद थप गरिएको छ । आज काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताउनुभएको छ ।

गत साताको मंगलबार सामाजिक सञ्जाल ट्विटरमा कार्य क्षेत्र (महाराजगन्ज) मा खटिएका ट्राफिक प्रहरी सहायक निरीक्षक ( असई ) माथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै आलोचित बनेकी संग्रौलालाई युवा संघमा आवध्द खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेको आरोपमा दिइएको किटानी जाहेरीका आधारमा हिजो नियन्त्रणमा लिइएको थियो ।

संग्रौलासहितका केही व्यक्तिले खुश्बुलाई गत ज्येष्ठ १४ गते गौरिघाटमा कुटपिट गरेको बताइएको छ । यता,रंगभेदमा परेका असई मणिनन्द झा भने मुद्दा हाल्ने पक्षमा नगएको महानगरीय ट्राफिक महाशाखा काठमाण्डौँका प्रवक्ता कृष्ण अधिकारीले बताउनुभएको छ ।

ट्राफिक प्रहरीको पूर्ण साथ रहने बताउँदा पनि भोलि यस्तो ग्याङ्गले दु:ख दिइरहने तर बिभागबाट दु:खमा साथ नपाइने हुँदा मुद्दा दर्ता गर्न झाले नमानेको अधिकारीको भनाई छ । झाले निवेदन दिएमा ट्राफिक प्रहरीले कुनै पनि हालतमा उनलाई बच्न नदिने बताउनुभएको छ । यस बिषयमा झासँग कुराकानी भने हुन सकेन ।

झालाई संग्रौलाले ‘तँमधेसी,अब उता मधेसतिरै जा,खेती किसानी गर् । ट्राफिकको जागिर खाएर काम छैन ।’ भन्दै सरुवा गरिदिने पनि धम्की दिएकी थिइन् । उक्त धम्कीपश्चात उनको बग्गिखानामा काज सरुवा भएको थियो ।

टिप्पणीहरू