कोरोनाको असर घट्यो,जोखिमचाहिँ उस्तै

कोरोनाको असर घट्यो,जोखिमचाहिँ उस्तै

शिब अधिकारी 

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण र तथ्याङ्कलाई आधार मान्ने हो भने एक महिना यता दोस्रो लहरको संक्रमणदर घट्दै गएको पाइन्छ । जेठ महिनाको पहिलो हप्तासम्म दोस्रो लहरको महामारीले थला पारेकोमा अहिले संक्रमणदर र मृत्युदरमा कमि आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङलाई हेर्दा ‘हालसम्म ३२ लाख ६९ हजार २ सय ६६ जनामा पिसिआर तथा १ लाख ४२ हजार ५ सय ६२ जनामा एन्टिजेन गरी कूल ३४ लाख ११ हजार ८ सय २८ जनामा परिक्षण गरिएको छ । तीमध्ये ६ लाख ४७ हजार ६ सय ५१ जनामा संक्रमण फेला परेको छ भने ८ हजार ७ सय २६ जनाको ज्यान गएको छ । त्यसैगरी ५ लाख ५६ हजार ७ सय ९८ जना निको भएका छन् ।’

जेठको पहिलो सातासम्म दैनिक १० हजारभन्दा बढिमा संक्रमण फेला परेकोमा २ सय बढिले ज्यान गुमाएका थिए । एक महिनापछि उक्त संख्या घटेर क्रमशः २ हजार बढि र ५० जनाको वरिपरि देखिएको छ । यसबीच निको हुनेको संख्या पनि ह्वात्तै बढेको छ ।

जेठ पहिलो साता र हालको तथ्याङ्कलाई विश्लेषण गर्दा संक्रमणदर ८० प्रतिशतले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

कसरी ह्वात्तै घट्यो संक्रमण र संक्रमणबाट मृत्यु हुनेको दर ?

कोरोना महामारीको दोस्रो लहरले विश्व आक्रान्त बनाइरहँदा अहिले नेपाललगायतका देशमा संक्रमण दर घट्दोक्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमण र मृत्युदर ह्वात्तै घट्नुको कारण के हो भन्ने जनआस्थाको जिज्ञासामा मन्त्रालयका प्रवक्ता पौडेलले भन्नुभयो, ‘हामीले निषेधाज्ञा जारी गरेर आवागमनलाई प्रभावकारी ढंगले रोक्यौँ, त्यसले संक्रमणको चेन ब्रेक गर्न धेरै मद्दत गर्यो ।’

उहाँले महामारीमा जारी निषेधाज्ञाको पहिलो महिनामा अस्पतालमा बेड अभाव, अक्सिजन अभावलगायतका चुनौती सामना गर्ने क्रममा कैयौले ज्यान गुमाएको तर धेरैले घरमै बसेर कोरोनालाई परास्त गरेको पनि बताउनुभयो । त्यहि कारण व्यक्तिबाट अर्कोमा संक्रमण सर्ने जोखिम कम हुँदै गएको सरकारी दाबी छ । अहिले संक्रमणदर २० प्रतिशतमा झरे पनि जोखिम उत्तिकै रहेको प्रवत्ता पौडेल पनि स्वीकार्नुहुन्छ ।

कर उठाउन संक्रमणदर घटायो भन्नु निराधार

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा सरकारले कर उठाउन संक्रमणदर घटाएर निषेधाज्ञा खुकुलो बनाउन लागेको भन्ने समाचार निराधार रहेको प्रवक्ता पौडेलले बताउनुभएको छ । पछिल्लो एक महिनामा संक्रमण र मृत्युदरमा क्रमिक रुपमा गिरावट आएको उहाँले दाबी गर्नुभएको छ ।

अहिले पनि परीक्षणको दायरा उत्तिकै रहेको मन्त्रालयले जनाएको छ । अस्पतालमा कोरोनाका लक्षण देखा परेकाहरुको परीक्षण भइरहेकाले सर्वसाधरणलाई महामारीको जोखिमतर्फ सचेत रहन प्रवक्ताले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अब चाडपर्वहरु नजिकिन थालेको र निषेधाज्ञा पनि खुकुलो हुँदै गएकाले थप सचेत हुनुहोला ।’

अर्थविद्को आफ्नै तर्क

कोरोना महामारीकाबीच सरकारले कर उठाउन निषेधाज्ञा खुकुलो बनाएको हल्ला निराधार रहेको सरकारी धारणाप्रति अर्थविद् तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आशंका व्यक्त गर्नुभएको छ । सरकारले १० खर्ब कर उठाउने लक्ष्य राखेकोले उक्त लक्ष्य पूरा गर्न पछिल्लो रणनीति अपनाएको हुनसक्ने आशंका गर्न सकिने ठाउँ प्रशस्त रहेको उहाँको भनाई छ ।

महामारीमा ठूला व्यवसायले जस्तोसुकै भए पनि कर बुझाउनसक्ने अवस्था रहन्छ । तर, तोकिएको समयभित्र कर तिर्न गरिएको आदेशले साना व्यवसायीलाई मर्का पर्ने देखिएको हो । यसअघि निषेधाज्ञा लगाएको बखत ठूला व्यवसायीले सरकारलाई कहिले खोल्ने भन्दै प्रश्न गरेको तर कर बुझाउने समयमा किन खोल्ने भनेर गरेको प्रश्नले उनीहरुको भूमिकालाई समेत शंकाको घेरामा पुर्याएको छ ।

एकथरिले ठूला र बहुराष्ट्रिय कम्पनीले तिर्नैपर्ने अरबौंको कर छुट दिने सरकारले महमारीमा हजारमा तिर्ने साना व्यवसायीको करप्रति आँखा लगाउनु पनि दोहोरो मापदण्ड भएको बताएका छन् ।

नेपालमा नयाँ भेरियण्ट छैन

नेपालमा महामारीको दोस्रो लहरमा फेला परेको भनिएको नयाँ भेरियण्ट अरु नभएर भारतमाझैँ डेल्टा भाइरस भएको मन्त्रालयका प्रवत्ता पौडेलले जानकारी दिनुभएको छ । छिमेकी मुलुकमा पनि त्यहि भाइरसले नसोचेको विनाश गरेको थियो । नेपालमा पनि झण्डै एक महिना त्यस्तै तहल्का मच्चाएको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्ष्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएका नमूनामध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको बताइन्छ । प्रवक्ता पौडेलका अनुसार ४७ वटा नमूनामा डेल्टा भेरियन्ट भेटिए पनि ९ वटा नमूनामा के ४१७ एन म्युटेसन भेटिएको बताइएको छ । जुन डेल्टाभन्दा पनि खतरा मानिएको छ । बेलायतले नेपाल भेरियन्ट भनेर प्रचार गरेको भाइरस डेल्टाको त्यहि म्युटेसन रहेको उहाँको दाबी छ ।

तेस्रो लहरको पूर्व तयारी

कोरोना महामारीको पहिलो र दोस्रो लहरको स्वास्थ्य आतङ्क मत्थर हुँदै गर्दा मन्त्रालयले तेस्रो लहरको जोखिम न्यूनीकरणको तयारी शुरु गरेको छ । पहिलो लहरको महामारीमा वृद्ध तथा दोस्रो लहरले बालबालिकामा बढी प्रभाव पारेको देखिएकाले तेस्रो लहरको निम्ति आवश्यक तयारी थालिएको मन्त्रालयले बताएको हो ।

पौडेलले अहिले अस्पतालमा बिरामीको चाप कम भएको र महामारीको दर पनि घट्दै गएकाले तेस्रो लहरको तयारीतर्फ आफूहरु केन्द्रीत रहेको बताउनुभएको छ । मन्त्रालयले बालबालिकाको लागि अस्पतालमा बेड थप गर्ने, अक्सिजन प्लान्ट जडान गर्ने, जनशक्ति थप गर्ने, प्रदेशस्तरमा हेल्प डेस्क स्थापना गर्ने, आईसीयू, एचडियू थप्ने कार्य भइरहेको बताइन्छ ।

थप खोपका लागि पहल

दोस्रो लहरको महामारीपछि सर्वसाधारणले कोरोनाविरुद्धको खोपको तीब्र चाहना देखाएका छन् । सरकारले पनि खोपको खरिद प्रक्रिया अघि बढाएको बताइन्छ । सबै प्रक्रियामा रहेकाले कहाँबाट, कहिलेसम्म र कति खोप खरिद गरिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय आफैँ अन्योलमा देखिन्छ ।

खोप खरिद प्रक्रियामा छ, तर कहाँबाट आउँछ र कहिलेसम्म आइपुग्छ भन्न सकिने अवस्था छैन’, प्रवक्ता पौडेलले बताउनुभयो ।

टिप्पणीहरू