धुलिखेलकी बालिकालाई भक्तपुरमा करणी, काठमाडौंको सुन्धारामा फेला

धुलिखेलकी बालिकालाई भक्तपुरमा करणी, काठमाडौंको सुन्धारामा फेला

धुलिखेल घर भएकी १५ वर्षीया बालिकालाई काठमाडौंको सुन्धाराबाट ललाई फकाई भक्तपुर पुर्याएर जबरजस्ती करणी गरेको अभियोगमा धुलिखेलकै वर्ष २३ का जयराम चौंलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका ८ घर भएका चौंलागाईंले सोही स्थानकी बालिकालाई हिजो दिउँसो भक्तपुरमा जबरजस्ती करणी गरेको बालिकाकी आमाले दिएको किटानीमा उल्लेख छ ।

बालिकाकी आमाका अनुसार छोरी शनिबार बिहान १० बजेदेखि हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंले खोजतलास गर्ने क्रममा उनी हिजो काठमाडौंको सुन्धारामा फेला परेकी हुन् ।

प्रहरीले सोधखोज गरेपछि बालिकाले आफूलाई चौंलागाईंले शनिबार भक्तपुरको एउटा गेष्ट हाउसमा खाजा खाने बहानामा करणी गरेको बताएकी थिइन् ।

लगत्तै चौंलागाईंलाई पनि प्रहरीले सुन्धारा क्षेत्रबाट पक्राउ गरेर आवश्यक कारबाहीको लागि भक्तपुर पठाएको बताएको छ ।

टिप्पणीहरू