सर्वोच्चको आदेशले युवराजलाई राजदूत बन्नमा रोक

सर्वोच्चको आदेशले युवराजलाई राजदूत बन्नमा रोक

सरकारले झण्डै डेढ महिनाअघि बहराइनको लागि राजदूत सिफारिस गरेका एमाले नेता युवराज कार्कीलाई ‘महामहिम’ बन्नबाट रोक लाग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एउटै लटमा ११ देशको लागि सिफारिस गरेका कार्कीलगायत प्रस्तावित राजदूतको प्रतिनिधिसभा विघटनका कारण संसदीय सुनुवाई भने हुन सकेको छैन ।

विगतको नजिरमा उनीहरु ४५ दिनपछि स्वतः राजदूतमा नियुक्त हुनु केही दिनअघि सर्वोच्च अदालतले शैक्षिक योग्यता कम्तिमा स्नातक हुनैपर्ने आदेश दिएपछि स्नातक योग्यता नभएका कार्कीको सिफारिस उल्टिने भएको हो ।

विदेशमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतजस्तो सम्मानित पदमा नियुक्त हुन शैक्षिक योग्यता कम्तिमा स्नातक हुनैपर्ने व्यवस्थालाई संशोधन गरेर सरकारले मन्त्री बनिसकेका व्यक्तिलाई शैक्षिक योग्यताको जरुरत नपर्ने बताउँदै कार्कीलाई बहराइनको लागि राजदूतमा सिफारिश गरेको थियो ।

कार्की एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री हुनुहुन्थ्यो । एमाले पोलिटब्युरो सदस्य कार्कीले धरानबाट आईएस्सी उत्तिर्ण गर्नुभएको छ ।

धरानबाट आइटेक गरेपछि थप शिक्षा हासिल गर्न उहाँ काठमाडौंको त्रिपुरेश्वरस्थित तत्कालीन जनप्रशासन क्याम्पसमा भर्ना हुनुभएको थियो । त्यो बेला जनप्रशासनको स्नातक पहिलो वर्षमा ७८ प्रतिशतका साथ उच्च अंक ल्याए पनि ‘बुर्जुवा शिक्षा’ भन्दै उहाँले अध्ययनलाई एकाएक रोक्नुभएको बताइन्छ ।

पढाई र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को जागिर छाडेर उहाँ तत्कालीन मालेको राजनीतिमा होमिँदै भूमिगत हुनुभएको थियो । तर,सर्वोच्च अदालतले अस्ति गरेको आदेशमा मुलुकको प्रतिनिधित्व गर्दै नियुक्त हुने पदमा कम्तिमा स्नातक स्तरको शैक्षिक योग्यता हुनैपर्ने भनिएपछि कार्कीको नियुक्ति सिफारिस अहिले अप्ठेरोमा परेको हो ।

टिप्पणीहरू