शर्मालीगढीका रुख सोत्तर,के हेर्दैछ सेनाले ?

शर्मालीगढीका रुख सोत्तर,के हेर्दैछ सेनाले ?

शर्मालीगढी किल्लामा रहेको अमरगढी सामुदायिक वनका रुखहरु वैज्ञानिक वनका नाममा फडाँनी गरिएको छ । अहिले संरक्षणको अभावमा प्रख्यात ऐतिहासिक शर्मालीगढी किल्लासमेत मासिएको छ ।

बैतडीको शिवनाथ गाउँपालिका–२, स्थित शर्मालीगढी किल्लाले अंग्रेजसँगको युद्धमा नेपालको सीमा रक्षा गरेको थियो । तर अहिले त्यहि किल्ला भत्केर सबै ढुंगा छरपस्ट भएका छन् भने शर्मालीगढी नै संकटमा परेको छ ।

किल्लाकै नामबाट नामाकरण गरिएको अमरगढी सामुदायिक वन सुदूरपश्चिमकै ठूलो सामुदायिक वन मानिन्छ । तर वैज्ञानिक वन लागू भएपछि वन कार्यालय र सामुदायिक वनका पदाधिकारीले त्यहाँका रानी सल्ला ढालेर बिक्री गर्न ठेकेदार बोलाउने कामसमेत गरेका छन् ।

स्थानीयले वैज्ञानिक वनको नाममा गरिएको रुख फडाँनीलाई मन पराएका छैनन् । वन मासिँदै गएकाले उनीहरुले वैज्ञानिक वन नचाहिएको आवाजसमेत उठाएका छन् ।

सामुदायिक वन समितिका सचिवले जनस्तरबाट बिरोध भए पनि परीक्षणका लागि वनको एउटा खण्डमा मात्र रुख काटिएकाले यो वर्ष उक्त स्थानमा रुख रोप्ने कार्य सफल हुन नसके वैज्ञानिक वन खारेज गर्ने पक्षमा आफूहरुसमेत रहेको बताएका छन् ।

यस्तै डिभिजन वन कार्यालय बैतडीले ६० वर्षे कार्ययोजना नै बनाएर रुख काटिएको बताएको छ । उसले नयाँ रुख रोप्नकै लागि पुराना काटिएको दाबीसमेत गरेको छ ।

किल्ला बिजोग भएपछि यो वर्षदेखि नेपाली सेनाले संरक्षणको योजना बनाएर पुनर्निमाणको कामसमेत अघि बढाएको छ । वैज्ञानिक वन सरकारले खारेज गरे पनि अमरगढी सामुदायिक वनमा ढालिएका रुखहरुमध्ये केही जङ्गलमा छन् भने धेरैजसो ठेकेदारले लगिसकेको बताइन्छ ।

टिप्पणीहरू