के पाक्दैछ बालुवाटारभित्र,नेपाल समूहमा फेरिएको चित्र

के पाक्दैछ बालुवाटारभित्र,नेपाल समूहमा फेरिएको चित्र

-साहस न्यौपाने

भनिन्छ,अतिवादको राजनीतिले औचित्यहीन सम्झौता निम्त्याउँछ । सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन माधव नेपाल समूहभित्रको एउटा पंक्तिले गरेको प्रयास त्यहि दिशातर्फ उध्यत रहेको टिप्पणी हुन थालेको छ ।

नेपाल समूहमा अहिले हार्डलाइनर र सफ्टलाइनर भनेर दुई कित्तामा नेताहरु बाँडिएका छन् । त्यहाँ अन्तिमसम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार प्रष्ट खुलेको देखिन्छ । अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेका नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट,भीम आचार्य,योगेश भट्टराईलगायत नेता पार्टी एकता जसरी पनि कायम राख्ने पक्षमा देखिएका छन् ।

“पाँच नेताको एकता प्रयासलाई व्यक्तिगत सम्बन्ध सुधार र एकताको निम्ति अन्तिम हदसम्म अधिकतम लचकताको नमूना पनि मानिएको छ ।”

उता भीम रावल,युवराज ज्ञवाली, मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ,जगन्नाथ खतिवडा,राजेन्द्र राई,जयन्ती राई,राजेन्द्रप्रसाद पाण्डे,गङ्गालाल तुलाधर,मेटमणि चौधरी,प्रकाश ज्वाला,रामपृत पासवान,श्रीप्रसाद साह,रत्नेश्वर गोइत,यदुवँश झा,रामदयाल मण्डल,धर्मनाथ साह,रविन कोइराला,अरुण नेपाल,नरेश खरेल,बिरोध खतिवडा,मुनु सिग्देललगायतका नेताहरु भने अन्तिमसम्म संघर्ष गर्ने र आवश्यक पर्दा नयाँ पार्टी गठन गरेर जान ढिलाई गर्न नहुने पक्षमा देखिन्छन् ।

नेपाल समूहभित्र दुई धार विकास हुनुमा केही नेताको अतिवादी सोच नै मुख्य जिम्मेवार रहेको सो समूहका कतिपय नेताको बुझाइ छ । एक नेताका अनुसार हिजो केपी ओलीसँग मिल्नै सकिंदैन भन्दै नयाँ पार्टी गठन गरिहाल्नुपर्ने मतमा अडिग रहेका कतिपय अहिले एकताको पक्षमा देखिएका छन् । हिजोदेखि नै एमालेमै रहेर संघर्ष गर्नुपर्ने अडान राख्नेहरु अहिले एकताविरोधी कित्तामा धकेलिएका छन् ।

“हिजो प्रचण्डलाई के गरियो,भर्खर माओवादीबाट गएर मन्त्री बनेकालाई कसरी खुस्काइयो,इश्वर पोख्रेलको कसरी हुर्मत लिइयो त्यति पनि बुझ्दैनन् कपाल फुलाएका नेताहरु”

‘हिजो सबैभन्दा बढी केपी ओलीको आलोचना गर्ने र छिट्टै नयाँ पार्टी गठन गर्नुपर्छ भनेर ठुल्ठूला भेला चलाउनेहरु अहिले एकताको पक्षधर देखिएका छन् । हिजो कानुनी लडाइँ लडौं,समानान्तर अभ्यास नगरौँ भनेहरुलाई आज एकताविरोधी कित्तामा उभ्याइएको छ । जसलाई अहिले हार्डलाइनर भनिएको छ,उनीहरु जहाँको त्यहिँ छन् । जो हिजो उग्र थिए उनीहरु आज बडो एकतानिम्ति आतुर बनेका छन्’,नाम नखुलाउने शर्तमा उनले भने ।

खरो स्वभावका भीम रावललाई नेपाल समूहभित्र हार्डलाइनर नेताका रुपमा चित्रण गरिएको छ । तर, एमाले विवादको प्रारम्भमै रावलले भने राष्ट्रिय कार्यकर्ता भेला नगर्न अडान राखेको बताइन्छ । ‘भीम रावलको भनाइ कानूनी लडाई लडौँ भन्ने थियो । ओलीले गरेको फागुन २८ को निर्णयको विरुध्द अदालत जाऊँ तर राष्ट्रिय कार्यकर्ता भेला नगरौं भन्ने उहाँको प्रष्ट अडान थियो । तर,अहिले बालुवाटारसँग नजिकिनु भएका साथीहरुले नै त्यतिबेला समानान्तर अभ्यासको पक्षमा मत राख्नुभएको हो,उहाँहरुलाई आन्दोलन र भावी पुस्ताको भन्दा पनि आफ्नै उमेरको चिन्ता छ’,उनले भने ।

“उहाँहरु त्यहाँ गएर पनि हुने बिजोग नै हो । उहाँ (ओली)को समूहभित्रै त्यत्रो लडाइँ छ । यताबाट गएकाहरुलाई केही दिनेवाला छैनन् । हुन त केपी ओली नै दिने ठाउँमा हुने हो कि हैन भन्ने कुरा पनि त छ नि !”

समानान्तर भेला गर्दा देशभरि कार्यकर्ता विभाजित हुने र त्यसले द्वन्द्व बढाउने भन्दै रावलले बैठकमा फरक मत राखेको उनले बताए । उनका अनुसार रावलले एमालेभित्रै लड्ने हो र ओलीलाई आफ्ना गलत निर्णय सच्याउन बाध्य पार्ने हो भने समानान्तर कमिटी नबनाऊँ भन्ने मत राख्नुभएको थियो । उनले थप प्रष्ट्याउँदै भने, ‘मेरो मत यो हो, तर ग्रुपले गरेको निर्णय मान्छु भन्ने उहाँको कुरा थियो । बरु त्यो कुरा अरुले नमानेका हुन् ।’

अहिले एकताको पक्षमा भनेर बालुवाटारसँग छलफलमा रहेका पाँच नेतामध्ये योगेश भट्टराई भने शुरुदेखि नै एउटै अडानमा रहेको वताइन्छ । ‘भीम कमरेडको जस्तै योगेशजीको पनि अहिले त्यो तहमा जानु हुँदैन भन्ने थियो । पार्टी विभाजन हुँदा म विभाजनको पक्षमा लाग्दिन भन्ने उहाँको प्रष्ट लाइन थियो’,उनले भने, ‘सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र भीम आचार्यले नै तत्काल भेला गर्नुपर्छ भन्नुभएको हो ।’

तिनै नेताहरु अहिले पार्टी विवाद मिलाउन भन्दै चरणवध्द वार्तामा बसिरहेका छन् । वार्ता सहमतिनजिक पुगिसकेको दाबी गरे पनि अहिलेसम्म परिणाममा देखिएको छैन । तर,अध्यक्ष ओलीले माधव नेपाल र भीम रावलबाहेकको एकताका लागि जोड गरेकाले उनीहरु सहमत नभएको बताइएको छ ।

नेपाल पक्षका अन्य नेताहरुले भने आफ्नो समूहलाई विभाजन गर्न अध्यक्ष ओलीले वार्ताको कार्ड फ्याँकेकाले त्यस्तो वार्ता अर्थहीन हुने दाबी गर्दै आएका छन् । ओलीले जहिले पनि आफू अप्ठ्यारोमा पर्दा ‘फुटाऊ र राज गर’को रणनीति अपनाएर एक-एक नेता तान्न खोजेपनि वार्ताको प्रयासमा रहेका नेताहरुले बुझ्न नसकेको उनीहरुको भनाइ छ ।

‘कि सबैका मन,भावना मिलाएर सिंगो पार्टी मिलाउनु पर्यो । हैन भने फलानो बाहेकको एकता भन्ने कुराको अर्थ हुन्छ र ? जो साथीहरु एकता भन्दै हिंड्नुभएको छ, उहाँहरुले यो कुरा बुझ्नुपर्छ कि पर्दैन ? अनि फलाना फलाना बाहेकको एकता गरेपछि सिंगो पार्टी एकता भएको अर्थ लाग्ने हो?”,नेपाल समूहकै अर्का एक नेता भन्छन् ।

पार्टीका वरिष्ठ नेता र वार्ता टोलीका संयोजकलाई गरिएको कारवाही यथावत राखेर गरिएको वार्ताले आधिकारिकता नपाउने पनि सो समूहका धेरै नेताको भनाइ छ । पाँच नेताको एकता प्रयासलाई व्यक्तिगत सम्बन्ध सुधार र एकताको निम्ति अन्तिम हदसम्म अधिकतम लचकताको नमूना पनि मानिएको छ ।

‘हिजो प्रचण्डलाई के गरियो,भर्खर माओवादीबाट गएर मन्त्री बनेकालाई कसरी खुस्काइयो,इश्वर पोख्रेलको कसरी हुर्मत लिइयो त्यति पनि बुझ्दैनन् कपाल फुलाएका नेताहरु’,ती नेताले भने ।

लोभ,स्वार्थ र आफू तथा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टी एकता नहुने उनले बताए । ‘राजनीतिक लाभ-हानीको हिसाब निकाल्ने,यति वर्षमा यो हुन्छु भनेर हिँडेकाहरुसँग के लाग्छ र ! लाग्ने हो जे हुन्छ हुन्छ भनेकाहरुको छुट्टै आँट हुँदो रैछ ‘,उनले भने, ‘अहिले ६० कटेँ । दुई तीन वर्षमा ६५ हुन्छु । अब एक कार्यकालमा त गैहाल्छु । अन्त गएर के पाउँछु र भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।’

आफू कमजोर हुँदा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रधानमन्त्री ओलीको विगतदेखिकै कार्यशैलीका कारण पनि नेपाल समूहका धेरै नेता वार्ताप्रति विश्वस्त हुन नसकेको बताइन्छ । प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना बढेको भनिएका बेला संसदको अंकगणितलाई हेरेर प्रधानमन्त्री ओलीले वार्ताका नाममा एक-एक गरी नेपाल पक्षका नेताहरु आफूतिर तान्न खोजेको कतिपयको विश्लेषण छ । त्यसैले वार्ताका नाममा अहिले भैरहेका छलफललाई नेपाल पक्षले संशयको दृष्टिले हेरेको देखिन्छ ।

‘उहाँहरु त्यहाँ गएर पनि हुने बिजोग नै हो । उहाँ (ओली)को समूहभित्रै त्यत्रो लडाइँ छ । यताबाट गएकाहरुलाई केही दिनेवाला छैनन् । हुन त केपी ओली नै दिने ठाउँमा हुने हो कि हैन भन्ने कुरा पनि त छ नि’,ती नेताले भने ।

टिप्पणीहरू