यस्तो महामारीको बेला पनि घुस दिन खोज्ने ?

यस्तो महामारीको बेला पनि घुस दिन खोज्ने ?

हिजो र आज बिहानसम्म प्रहरीलाई घुस खुवाउन खोज्ने, लागूऔषध कारोबार गर्ने तथा जुवा खेल्ने १७ जना पक्राउ परेका छन् । उनीहरुलाई सिन्धुली,बाँके, कञ्चनपुर,मकवानपुर र कास्कीबाट पक्राउ गरिएको हो ।

आज बिहान सिन्धुली गोलन्जोर गाउँपालिका–७,खुर्कोट बजारस्थित चेकपोष्टको ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरीको बर्दिबास नगरपालिका–१० का २० वर्षीय अभिषेक परियार पक्राउ परेका छन् ।

इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ४३०९ नम्बरको माइक्रोबसलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा सहचालक परियारले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

बाँके,कञ्चनपुर र मकवानपुरमा भने लागूऔषधसहित सात जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बाट १९ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित डुडुवा गाउँपालिका–६ का २० वर्षीय वाजित सलमानी र सोही उपमहानगरपालिका–१ मा रहेको पूजा रेष्टुरेन्टबाट १ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर तथा नगद ३ लाख ७६ हजार ५ सय रुपैयाँसहित रेष्टुरेन्ट सञ्चालिका ४० वर्षीया कैलाशा गोडियालगायत तीन जना पक्राउ परेका छन् ।

यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरबाट ६ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित शनिबार दिउँसो दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थानीय २८ वर्षीय महेन्द्रसिंह बोहोरा र भीमदत्त नगरपालिका–५ का २० वर्षीय सागर तिरुवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा म.२ प ५३७८ नम्बरको स्कुटर चालक महेन्द्र र म.२ प २०३३ नम्बरको मोटरसाइकल चालक सागरलाई पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४, कालापानीका २६ वर्षीय विजय रुम्बालाई १ सय एमएलको १७ बोतल प्रतिबन्धित ओनरेक्स र नगद १७ हजार ९ सय ५० रूपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
निषेधाज्ञा र कोरोना महामारीमा तास खेलिरहेको अवस्थामा हास्कीमा नौ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–५, पर्शुयाङ, धारापानी मार्ग डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङलगायत नौ जना शनिबार बेलुका पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २३ हजार १ सय ६५ रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

टिप्पणीहरू