जर्नेललाई हाँसेर पठाउने,सिपाहीलाई किन सताउने ?

जर्नेललाई हाँसेर पठाउने,सिपाहीलाई किन सताउने ?

देश र दुनियाँमा बहादुरी र इमान्दारिताको कीर्तिमान बनाएको नेपाली सेना आन्तरिक व्यवस्थापनमा भने कमजोर सावित भएको छ । जङ्गी अड्डाले लकडाउनका नाममा यसबीच अवकाशप्राप्त कर्मचारीलाई उधारो बिदाइ गरेपछि अस्तव्यस्तता बाहिरिएको हो ।

हालै घर गएका तल्लो दर्जाका सैनिक कर्मचारीले ४० दिनसम्म पेन्सन नपाएको भन्दै मुख्यालयको कार्यशैलीप्रति गुनासो गरेका छन् । कार्यचुस्तता र पारदर्शिताका लागि भन्दै आफ्ना सबै गतिविधि डिजिटलाइज्ड गरेको सेनाले हालै अवकाश लिएका ती सैनिक कर्मचारीको ४० दिनसम्म पनि हरहिसाब गरेको छैन ।

‘लकडाउनमा ठूलाबडालाई बिदाइ गर्न मिल्ने,तर हाम्रो रकम,कलम, पेन्सनपट्टा र हरहिसाब सफाई गर्नचाहिँ नमिल्ने कस्तो नियम हो ?’,

‘लकडाउनमा ठूलाबडालाई बिदाइ गर्न मिल्ने,तर हाम्रो रकम,कलम, पेन्सनपट्टा र हरहिसाब सफाई गर्नचाहिँ नमिल्ने कस्तो नियम हो ?’, गुनासो पोख्दै एक सिपाहीले भने, ‘लकडाउनको समयमा अन्य सबै गतिविधि सुचारु हुने रहेछ,तर हामी तल्लो तहका सिपाहीको हिसाब गर्न चैँ नमिल्ने ?’

जीवनको ऊर्जाशील समय देश र जनताको सेवामा खर्चिए पनि अन्तिममा अपमानित भएर घर फर्किनु परेको भनी चित्त दुखाएका ती सिपाही १७/१८ वर्षसम्म काम गरेको संस्थाको भद्रगोल अवस्था देखेर दुःख लागेको बताउँछन् । गुनासो पोख्दै उनले भने ‘भनेको बेला नपाएपछि पेन्सन पनि लगनपछिको पोतेजस्तै भएको छ ।’

‘जर्नेल,कर्नेलले जस्तो टन्न कमाएर निस्केको हो र ! पर्खिरहनु !’, सेनामा प्रचलित उखान सुनाउँदै उनी भन्छन्, ‘सिपाहीको निम्ति प्लान मात्रै,जर्साबकोमा ढलान मात्रै ! यहाँबाट निस्केपछि केही गर्ने प्लान बनाएको हुन्छ,तर हामीले पाउनुपर्ने रकम नै नदिएपछि कसरी चल्ने ?’

१७/१८ वर्ष ढाड बाङ्गिने गरी कहिले जंगलको झाडीमा,कहिले नालीमा क्रल गर्दै हुरिबतास,बाढी- पहिरो केही नभनी देशको लागि अहोरात्र सेवा गर्दा पनि छाड्ने बेलामा अनावश्यक दुःख दिइएको उनीहरुको गुनासो छ ।

राष्ट्रपति,प्रधानमन्त्री र प्रधानसेनापतिलाई उनीहरुको प्रश्न छ, ‘मन्त्री बनाउन,ठूला ठूला नियुक्ति दिन लकडाउनले असर नगर्ने तर,देशको लागि वर्षौं सेवा गरेवापतको रकम पाउन लकडाउन भनेर झुलाउन मिल्छ ? सानालाई जे गरे पनि हुने हो ?’

सेनामा जागिर खाएर लडाइँको सिध्दान्त मात्र सिकेकाले अबको जीवन कसरी धान्ने भन्ने चिन्ता र छटपटी पनि छ अवकाश पाएका ती सिपाहीहरुमा । पेन्सन आउला र ऋण तिरौंला भनेर बसेका उनीहरु कुर्दाकुर्दा हैरान बनेका छन् । भन्छन्,‘सेनामा सिकेको बन्दुक चलाउन र लडाइँ लड्न मात्रै हो, अब बाँकी जीवन कसरी चलाउने भन्ने चिन्ता त छँदैछ । पेन्सन समेत नपाएपछि कसरी ऋण तिर्ने अर्को चिन्ता थपिएको छ ।’

‘मेरा पुर्खाले आर्जेको नेपाली सेनालाई सलाम छ । व्यक्तिलाई हैन संस्था र पुर्खालाई सलाम छ । तर,सेनामा जो होचो उसैका मुखमा घोचो प्रवृत्तिले जरा गाडेको देख्दा दुःख लागेको छ’, ती सिपाहीले हाकाहाकी भनेका छन् ।

टिप्पणीहरू