वन सिध्याउन राष्ट्रिय सहमति,कैलाली-कन्चनपुरमा उपद्रो

वन सिध्याउन राष्ट्रिय सहमति,कैलाली-कन्चनपुरमा उपद्रो

कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ कम्दामा गएको बैशाख ३१ गते शुक्रबार पोखरीमा लुकाई राखिएको अवस्थामा फेला परेको अवैध काठ तस्करीमा संलग्न महेन्द्र देउवा पक्राउ परेका छन् । देउवाले वनमा कटान गरेर लुकाएको ठूलो परिणामको करिब ७ सय क्युफिट काठ गोप्य सूचनापछि घटनाको अनुसन्धान गरिरहेको टोलीले बरामद गरेको हो ।

डिभिजन वन कार्यालय धनगढीले बैशाख ३१ मा सोहि नगरपालिकाको वडा नं ७ कम्दाका स्थानीय नरबहादुर बमको खाली रहेको पोखरीमा लुकाई राखिएको अवस्थामा ३० थान गोलिया पनि बरामद गरेको थियो । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गर्दा देउवा नै मुख्य अभियुक्त रहेको खुल्न आएकाले पक्राउ गरिएको वरिष्ठ वन तथा अनुसन्धान अधिकृत डबल बोहोराले जानकारी दिए ।

उनले ‘राष्ट्रिय ईस्यु बनाउन हुँदैन,सामान्य हिसाबले मिलाऔं, जेठ १४ र १५ मा बरामद भएको काठ बेवारिसे भएकाले यसलाई मुद्दा बनाए सबै फस्ने छौँ’ भन्दै सरकारी वकिललाई समेत प्रभावित पार्ने प्रयास जारी राखेको स्रोतको दाबी छ ।

तस्करीका नाइके देउवा गौरीगंगा वडा नं ९ मा पर्ने शिवशंकर सामुदायिक वनका पूर्वअध्यक्ष समेत रहेको र काठ तस्करी उनको अभिन्न पेशा नै बनेको छ । उनी नक्कली नेपाली रुपैयाँको कारोबारमा सजाय भोगेका व्यक्ति पनि हुन् । काठ तस्करी गर्नमा ठेकेदार र वन कर्मचारीले देउवालाई साथ भएकाले उनी सुरक्षित भैरहेको स्रोतको दाबी छ ।तिनै देउवाको समूहले शिवशंकर सामुदायिक वनको घाटगद्वीबाट २०७७ असोजमा १६ थान गोलिया चोर्नुका साथै सुनपाल शिवशंकर राष्ट्रिय वन क्षेत्रबाट करिब ६५ वटा सालका रुख कटान गरेर तस्करी गरी २ ट्रक चिरान काठ बिक्री गरेको स्रोतले वन कार्यालयलाई सूचना दिँदासमेत बेवास्ता भएको दाबी गरिएको छ । सो सूचना डिभिजन प्रमुख रामचन्द्र कँडेलले पाएर कार्यान्वयन गर्न पूर्णशंकर यादवमार्फत् सर्कुलर गर्दा तस्कर र ठेकेदारसँग राम्रो सम्बन्ध रहेका यादवले फर्जी कागजपत्र बनाएर काठका ठेकेदार कृष्ण देउवासँगको समन्वयमा वैधानिक प्रक्रिया पुर्याइदिएको चर्चा वन कर्मचारीबीच व्यापक छ । कँडेलले वनबाट आउने कमिसन खान यादवसङ्ग पुलको काम गर्ने गरेको सम्बद्ध स्रोत बताउँछ ।डिभिजन वन कार्यालय धनगढीले वन पेशी दिई सबडिभिजन वन कार्यालय,मसुरिया मातहत पर्ने ठेक्कामा पर्ने प्लट शिवशंकर, सुनपाल,निराजन,कालिका, अण्डैया र बालुवा गडा क्षेत्रको वन राष्ट्रिय वनबाट ८ ढलापडा काठ दाउरा मिति २०७७ जेठ ८ मा भएको कटान मुछान संकलन म्याद थप गरेर सम्पूर्ण जिम्मेवारीबाट भाग्यो । त्यहाँ भएको संगठित काठ कटान तस्करी रोक्नु र संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो कार्यालयको जिम्मेवारीबाट भाग्दै डिभिजन वन कार्यालय धनगढीले च.नं. ३२३६ मिति २०७७ चैत मा शिवशंकर सामुदायिक वन क्षेत्रमा ७६ वटा रुखको काठ दाउरा संकलन गर्न प्रार्थना सप्लायर्सका प्रोप्राइटर टिकेश्वरीकुमारी शाह (सिंह) को नाममा कटान मुछान संकलन म्याद थप गरिदिई वन कार्यालय आफ्नो जिम्मेवारीबाट पन्छिएको देखिनुले पनि काठ तस्करीमा ठूलो गिरोहको संलग्नता रहेको स्थानीयले शंका व्यक्त गरेका छन् ।

वन निगम लिमिटेडलाई रुख कटानको सहमति दिएको मिति २०७७ जेठ यताको आ.व. ०७७/०७८ मा एक सय वटा नयाँ सालका रुख ढलेको र म्याद थप आदेश हुँदा सम्पूर्ण रुख चोरी भइसकेका थिए । वन निगम लिमिटेडले सो क्षेत्रमा कटान मुछान र संकलनको जिम्मा काठका ठेकेदार कृष्ण देउवाको समूहका रमेशकुमार भाट,मेखराम विक,दिपेन्द्र गिरी,महेन्द्र देउवा लगायतलाई दिएको हो ।

राष्ट्रिय वनबाट चोरी तस्करी भएका रुखको सर्वेक्षण तथा अनुगमन तथा खोजतलासमा डिभिजन वन कार्यालय धनगढी र सब डिभिजन वन कार्यालयले स्थानीयले दिने सूचनाको चुहावट गरी तस्करका हितमा काम गर्दा स्थिति नियन्त्रण बाहिर गएपछि क्षेत्रीय वन निर्देशक हेमराज विष्टले रातिराति वन क्षेत्र हेरेर बेवारिसे बनाउन निर्देशन दिएको बताइन्छ ।

वडा नं ७ मा अवस्थित निराजन राष्ट्रिय वन क्षेत्रबाट अवैध १६ थान सालको गोलिया पुनः बरामद भई आफूहरूको नियन्त्रणभन्दा बाहिर व्यापक रुख कटानी भएपछि डिभिजन प्रमुख रामचन्द्र कँडेल सम्हालिन नसक्ने स्थितिको बिरामी भएर काठमाडौं गई बसेको स्रोतले बताएको छ ।

तस्कर र ठेकेदारसँग मिलेर स्थानीयले दिएको सूचना चुहावट गर्ने वन कर्मचारी नामका तस्करको रक्षकलाई सूचना नदिनु नै बेस हुने संरक्षणकर्मीहरूले हाकाहाकी बताउने गरेका छन् ।

निषेधाज्ञाको समय कैलालीको गौरीगंगा नगरपालिकाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन रहेको वडा नं ५,७ र ९ मा पर्ने राष्ट्रिय तथा सामुदायिक वनक्षेत्रमा वन कर्मचारीले पूर्णतया बेवास्ता गर्दा काठ कटानको ठेक्का लिनेहरूले सालका रुख कटान गरी बेवारिसे बनाउने गरेका छन् भने सब डिभिजन वन कार्यालय मसुरिया बेवारिसे बरामद गरी तस्करको रक्षा कवच बनेको छ ।

गौरीगंगा–७ को निराजन सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा रुखमा नम्बर हालेर, रुख काटेर निगमले स्थानीय काठका ठेकेदारहरूलाई छपान, कटान र ढुवानी संकलनको जिम्मेवारी दिने गरेको छ । नयाँ ढलेका रुखमा गतवर्ष नै संकलन भइसकेका रुखको नयाँ छपान नम्बर हालेर कटान गरी छाड्ने गरिएको छ । गोलिया तस्करीमा संलग्नहरूलाई जोगाउन काठलाई बेवारिसे बनाई सबडिभिजन कार्यालयले बरामद गरेको स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले बताएका छन् ।

गत वर्ष कटान गर्न बाँकी रहेका रुख यो वर्ष म्याद थप स्वीकृत हुँदा कटानीको क्रममा बदमासी भएको पाइएको छ । डिभिजन वन कार्यालय धनगढीबाट आ.व.२०७६/०७७ मा कटान स्वीकृत भई गत वर्ष संकलन गर्न बाँकी भएर यो वर्ष म्याद थप भएका रुख कटानीको क्रममा बदमासी भएको हो । नेपाल वन निगम लिमिटेड, धनगढी शाखाले कटान आदेश लिएर प्रार्थना सप्लायर्स धनगढी ५ कैलालीलाई २०७७/१२/०७ मा काठ संकलन म्याद थप भई कार्यान्वयनको क्रममा चालु आर्थिक वर्ष ढलेका नयाँ रुखमा वन निगमले स्वीकृति पाएको र गत वर्ष कटान भई संकलन गरिसकिएका रुख नम्बर लेखेर अवैध कटान गरेको पाइएको छ । मसुरिया सब डिभिजन वन कार्यालयको प्रत्यक्ष निगरानीमा कटान छपान र संकलन हुनेगरी सहमति रहेकोमा ठेकेदारलाई प्रभावमा पारी स्थानीय कटान संकलन जिम्मेवारी पाएकाहरूको मिलेमतोमा अवैध रुख कटान भएको हो ।

आफ्नो मातहतको वनक्षेत्रमा अवैध रुख कटान भइरहेकोबारे सबडिभिजन वन कार्यालय बेखबर देखिन्छ । काठका ठेकेदार र तस्करहरूको प्रभावमा परेर वनमा भएका अवैध कार्यमा संलग्न व्यक्तिहरूको बारेमा सबै सूचना पाएका वन सम्बद्ध कार्यालयले कारबाहीमा बेवास्ता गर्ने तर अदालतमा मुद्दा प्रक्रिया बढाउँदा सरकारी वकिललाई आर्थिक प्रभावमा पार्न ठेकेदार,वन कर्मचारी सबै लागि परेका छन् ।

कटान मुछान संकलन म्याद थप गरेर पठाएको सम्झौता विपरित रुख कटानी भएको वन निगम लिमिटेड धनगढीका सहायक तारा भट्टले बताए । निगमसँग पर्याप्त कर्मचारी छैनन् । एकैपटक कैलाली र कञ्चनपुरका राष्ट्रिय वनमा काम हुँदा सबैतिर ध्यान पुर्याउन नसकिएकाले सामान्य कमजोरी भएको उनी बताउँछन् ।

उनले ठेकेदारलाई कटान सहमतिपत्रसहित अनुमति दिइएकाले सोही क्रममा स्थानीय संकलनकर्ताहरूबाट कमजोरी भएको र यसलाई सामान्य रुपमा लिएर गाउँमै मिलाउने पहल गरेका छन् । भट्टले सामुदायिक वन उपभोक्ता समूह,वन कार्यालय,वन समन्वय समिति र गौरीगंगा साझेदारी वन व्यवस्थापन समितिसँगको समझदारीमा अहिले भएको बदमासीलाई स्थानीय रुपमा मिलाउनुपर्ने भन्दै समन्वयात्मक कार्यक्रम सञ्चालनको प्रस्तावसमेत राखेका छन् । उनले ‘राष्ट्रिय ईस्यु बनाउन हुँदैन,सामान्य हिसाबले मिलाऔं, जेठ १४ र १५ मा बरामद भएको काठ बेवारिसे भएकाले यसलाई मुद्दा बनाए सबै फस्ने छौँ’ भन्दै सरकारी वकिललाई समेत प्रभावित पार्ने प्रयास जारी राखेको स्रोतको दाबी छ ।

टिप्पणीहरू