सिंहदरबार छिरेकालाई निश्कासन, लुम्बिनीका चार जनालाई स्पष्टिकरण

सिंहदरबार छिरेकालाई निश्कासन, लुम्बिनीका चार जनालाई स्पष्टिकरण

जनता समाजवादी पार्टी (जसपा)ले केपी ओली नेतृत्वको सरकारमा सहभागी महन्थ ठाकुर खेमाका सबै मन्त्रीलाई पार्टीबाट निश्कासन गरेको छ । मन्त्री बनेकाहरु पार्टीबाट स्वत: निश्कासनमा पर्ने यसअघिको निर्णयलाई आज बसेको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको बरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा अर्को निवेदन दिने निर्णय पनि गरेको छ । नेता श्रेष्ठका अनुसार निर्वाचन आयोगले यसअघि विवरण अध्यावधिक गर्न अस्वीकार गरेको र आधिकारिकता मागदावी गर्न भनेकाले दलसम्बन्धी ऐनको दफा ४३ र ४४ का आधारमा निवेदन दिने निर्णय गरेको हो ।

यसअघि बहुमत सदस्यको हस्ताक्षरसहित बैठकको निर्णय बुझाउँदा पनि आयोगले महन्थ ठाकुर खेमाका चार नेतालाई गरेको कारवाही अवैध ठहर्याएको थियो । आयोगको निर्णयप्रति असन्तुष्ट रहेको जसपा (बहुमत) पार्टीको आधिकारिकताका लागि आयोग जाने भएको हो ।

आजको बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिएका चार जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको छ । ‘संसदीय दलको ह्वीप उलंघन गरि नीति तथा कार्यक्रमको पक्षमा उभिएकालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको गरिएको छ’, श्रेष्ठले भन्नुभयो ।

जसपाले ६ महिने पार्टी संगठन सुद्धीकरण तथा जनजागरण अभियानसमेत संचालन गर्ने भएको छ । आजको बैठकले बाढी पहिरो प्रभावितका लागि उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने र पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहत कार्यमा खट्न निर्देशन दिने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

टिप्पणीहरू