गिरिजाबाबु,प्रचण्ड र प्रिय कमरेड ओली

गिरिजाबाबु,प्रचण्ड र प्रिय कमरेड ओली

-पुरूषाेत्तम पाैडेल

नेपालमा एक युग गिरिजाप्रसाद कोइरालाको थियो । उनी २०४८ सालमा नेपाली काँग्रेसको महामन्त्रीबाट देशको प्रधानमन्त्री भएका थिए । त्यसपछि काँग्रेसको सभापति चुनिन सफल भए । २०४८ देखि २०५८ सालसम्म सत्तामा रहँदा र नरहँदा उनी राष्ट्रिय राजनीतिमा हावी थिए । गिरिजाले बोलेपछि काँग्रेसको आवाज आउँथ्यो । काँग्रेसमा अरू कसैको बोली बिक्दैनथ्यो । उनै कोइराला पाँचपटक देशको प्रधानमन्त्री भए । सरकारमा हुँदा कहिल्यै पछाडि फर्केर हेर्दैनथे । एकल नेतृत्व,व्यक्तिवाद र अहंकार उनको कुटकुटमा भरिएको थियो । हुकुमीशैली र एकलतन्त्र उनको लोकतन्त्र थियो । २०६२/६३ को आन्दोलन र त्यसपछि केही सकारात्मक भूमिकामा देखिएका कोइराला तीब्र चाहनाका बाबजुद देशको पहिलो राष्ट्रपति भने हुन पाएनन् ।

२०४६ सालको जनआन्दोलनका अगुवा तथा सर्वमान्य नेता गणेशमान सिंहलाई गिरिजाले पाखा लगाइदिए । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई किनारा लगाइदिए । काँग्रेसका थुप्रै त्यागी तथा इमान्दार नेता–कार्यकर्ताहरूको राजनीति समाप्त गरिदिए । यतिसम्म कि काँग्रेस भनेको गिरिजा र गिरिजा भनेको काँग्रेस हो भन्ने पारेर नेपालको राजनीति एक्लै खर्लप्पै निलिदिए । गाउँबाट विकासको हलो जोत्ने नारा दिएर देशका बिसौं कलकारखानासहित थुप्रै सार्वजनिक सम्पत्ति दलाल पूँजीपतिहरूको जिम्मा लगाइदिए । विकासले कुनै गति लिएन । सार्वजनिक प्रशासन भताभुङ्ग भयो । अर्थतन्त्र डाँवाडोल भयो । जनतामा विश्वास मर्दै गयो, भोकभोकै भए । नाङ्गाको नाङ्गै रहे । गिरिजाप्रसाद कोइराला भने युग नायक ठहरिए ।

अर्को युग पुष्पकमल दहाल प्रचण्डको आयो । कमरेड प्रचण्डले जनयुद्धको नाममा हिँसात्मक आन्दोलन शुरू गरे । वि.सं. २०५२ देखि २०६३ सालसम्म युद्धको बारुद बलिरह्यो । २०६३ सालपछि पनि माओवादी पार्टी र त्यसका अध्यक्ष कमरेड प्रचण्डको बिगबिगी चरिरह्यो । २०६४ सालको चुनावमा कमरेड प्रचण्डको पार्टी संविधानसभामा सबैभन्दा ठूलो पार्टी भयो । संविधानसभामा ठूलो पार्टीको नाताले कमरेड प्रचण्ड प्रधानमन्त्री बने । माओवादीप्रति मानिसहरूमा डर, आशङ्का र आशा तीन वटै कुरा थियो । उनी नौ महिना मात्र सरकारको नेतृत्वमा रहे । प्रचण्डको सत्तारोहण र सत्ताबाट अवतरणले मानसहरूमा रहेको डर बिस्तारै हट्दै गयो । आशङ्का कायम रहिरह्यो भने आशा मर्दै गयो ।

कमरेड प्रचण्डको पनि उस्तै शैली देखियो । पार्टी निर्माणदेखि जनयुद्ध सञ्चालनसम्मको नेता आफैँ भएकोले अहम् हुनु स्वाभाविक नै भयो । अझ संविधानसभाको निर्वाचन र ठूलो पार्टी हुनुले त्यसमा बल पुर्यायो । एकल नेतृत्व र संस्थागत परिपाटीको अभावमा एकाधिकार चल्ने नै भयो । यसले गर्दा अरूको भूमिकालाई स्वाभाविक रूपमा कमजोर बनाइदियो । यस्तो अवस्थामा मातृका यादव पार्टीमा टिक्न सकेनन् । कमरेड प्रचण्डका गुरू मोहन वैद्य अलग पार्टी खोलेर बाहिरिन ‘बाध्य’ भए । डा. बाबुराम भट्टराई नयाँ शक्ति नामको पार्टी बनाएर अलग भए । अहिले जसपा हल्लाइरहेका छन् । प्रचण्डका असल चेला विप्लवसहितका युवाहरू पनि टिक्न सकेनन् ।

जे होस् ! कमरेड प्रचण्ड वचनका पक्का रहेछन् । दुई पटक प्रधानमन्त्री भएर राजीनामा दिए । सरकार या प्रतिपक्ष जता भए पनि २०७४ सालसम्म नेपालको राजनीतिको केन्द्रमा रहे । उनी २०७२ सालमा दोस्रो पटक पनि प्रधानमन्त्री बन्न सफल भए । २०७४ सालमा नेकपा एमालेसँग कार्यगत एकता गरेर चुनाव लड्न पुगे । २०७५ सालमा नेकपा एमालेका अध्यक्षसँग मिलेर पार्टी एकता गरे । नेकपाको अध्यक्ष पनि भए । अहिले नेकपा फुटेर दुवै पार्टी दुईतिर लागिसकेका छन् ।

झण्डै साढे दुई दशक भन्दा बढि राजनीतिको केन्द्रमा रहेर प्रचण्डले मुलुकका लागि दिएको उपलब्धि भनेको गणतन्त्र,धर्मनिरपेक्षता र संघीयता नै हो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा खास परिवर्तन आएन । पछिल्लो समयसम्म आइपुग्दा परिवर्तनको परिणाम लथालिङ्ग छ । जता पनि भताभुङ्ग मात्र देखिन्छ । जनता भोकभोकै छन् । नाङ्गाको नाङ्गै छन् । कमरेड प्रचण्ड युगपुरुष भने भए ।

अहिले देशमा ओलीयुग आएको छ । २०६२/६३ को जनक्रान्तिपछिको युग हो यो । २०७२ को नयाँ संविधानपछिको नयाँ युग पनि भन्न सकियो । २०७० सालको संविधानसभाको चुनावमा नेकपा एमाले दोस्रो पार्टीको रूपमा उदायो । कमरेड झलनाथ खनाल नेतृत्वको एमाले ९२ वटा निर्वाचन क्षेत्रमा विजयी भयो । निर्वाचनपछि कमरेड ओली संसदीय दलको नेता चुनिए । दलको नेता चुनिएसँगै उदाएका ओली २०७२ सालमा प्रचण्डको समर्थनमा पहिलो पटक प्रधानमन्त्री भए । त्यही बेलामा देशमा नाकाबन्दी थियो । आफ्नो राजनीतिक शक्ति आर्जन गर्न उनले नाकाबन्दीको भरपुर उपयोग गरे । आफ्नो पक्षमा प्रचार गर्न समेत भ्याए । भारत बिरोधी जनमतलाई मज्जाले आफ्नो पोल्टामा ल्याए । योसम्म ठिकै थियो ।

यहीँबाट ओली युगको जगजगी शुरू भयो । २०७४ सालमा उनकै नेतृत्वमा चुनाव भयो । माओवादी केन्द्रसँग मिलेर चुनाव लड्ने निर्णय गरे । संयुक्त चुनावी घोषणा पत्रले भारी जनमत पायो । झण्डै दुई तिहाई सिटमा कम्युनिष्ट उम्मेदवारहरू विजयी भए । कमरेड माधव नेपालको प्रस्तावमा दोस्रो पटक एमाले संसदीय दलको नेता चुनिए । कमरेड प्रचण्डको समर्थनमा दोस्रो पटक देशको प्रधानमन्त्री भए । तीन वर्षसम्म देशको प्रधानमन्त्री भएर अकण्टक राज्य गर्ने मौका पाए । कुर्सीमा पुगेपछि उनले पनि पछाडि फर्केर हेरेनन् । कसैलाई तृण बराबर गनेनन् । सत्ताको उन्मादमा आफ्नै प्रस्तावक र समर्थकलाई बाधक ठान्न थाले । अनेकौं काल्पनिक गफ दिएर दुनियाँलाई भ्रम दिन थाले । सत्तालाई आफ्नो गुटको सम्पत्ति बनाए । निरीह जनता आश गरेको गर्यै भए ।

ओलीजीको नेतृत्वमा जनताले केवल नेकपाभित्रको अन्तरकलह र विभाजन पाए । नेकपा एमालेभित्रको झगडा र चरम विवाद हेरे । नेताहरूबीचको आपसी हिलो छ्यापाछ्याप छोडेर नयाँ चिज खोज्दा पनि पाएनन् । अझ देशको प्रधानमन्त्री स्वयम् अनेक कलह र विवादका वादी भए । कोभिड–१९,आतंकले पीडित देशमा संसद विघटन र चुनावको डङ्का ओलीका कर्मकाण्ड भए । संविधान मिच्दै नयाँ जनादेशको कुरा गरेर अरू विवादित भए । देशको स्थिरताका पूरै तीन वर्ष वैमनस्यता,ढाँट, छली र चलखेलमा बित्यो । आमजनताको सेवा गर्ने समय बखेडा,अन्योल र अस्थिरतामा सकियो । उत्तर–दक्षिण रेल कुदाउने,पानीजहाज ल्याउने र बिजुली बस गुडाउने कुरा केवल गफमा सीमित भयो ।

घरघरमा ग्यास पाईप–लाईन पुर्याउने खबर मात्र आयो । चुच्चे नक्साले थोरै खुशी मात्र बनायो । त्यो आफै कता बिलायो । बालुवाटारमा सामन्त गोयल आए । नेपाली जनताको हातमा केही आएन । केवल फुस्सामा देशको अमूल्य समय खेर गयो । जेठ ७ गते दोस्रो पटक संसद विघटन गरेर ‘बा’ फेरि चर्चित भए । यिनको युग पनि विवाद र विभाजन दिन मात्र सफल भयो । देशलाई विदेशी ऋण दोब्बर बनाइयो । राज्यमा लथालिङ्ग घरको भताभुङ्ग चाला पाइयो । जनतालाई झन् झन् पीडित बनाइयो । नेपाली जनताको न भोक मेटियो, न आङ ढाकियो । २०४८ देखि २०७८ सालसम्म आइपुग्दा पहुँचवाला नेताहरूको हालत उकासियो । नेपाली जनता जहाँको त्यहिँ रहे । कमरेड ओली राजनेता कहलिए ।

त्यो भन्दाअघि देशमा राजा–महाराजा र पञ्चहरूको महायुग थियो । मनपरी नाफा, मनपरी घुस चलिरहन्थ्यो त्यो बेला । राजतन्त्र र महापञ्चहरुले खाएर सके भन्दै जनताले नेताहरुलाई साथ दिए । जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट क्रान्ति आयो भनियो । हामी भने आफूले गरेको सबै वाचा भुलेर स्वार्थको साँघुरो घेरामा जकडिइ रह्यौं । त्यसैको नतिजा आज दुर्दशा भोगिरहेका छौं । अझ हामी कम्युनिष्टहरूले पञ्चहरूलाई शोषक भन्यौं । सामन्ती शासक भन्यौं । अनि राष्ट्रद्रोही भनेर सत्ताच्यूत गर्र्यौं । यसैगरी काँग्रेसलाई विदेशी दलाल भन्दै घोरबिरोध गर्यौ । आज सबै कुरा हाम्रो हातमा आइपुगेको छ । आफ्नो हातमा ताल्चासाँचो छ । हामी के गर्दैछौं ? कमसेकम एकपटक आफू र आफ्नो करनीलाई लिएर गम्भीर समीक्षा त गरौं ।

हामीले धेरै कुरा सिक्यौं । क्रान्तिका कुरा सिक्यौं । माक्र्सवादका कुरा सिक्यौं । बुद्ध र अहिंसाका कुरा गर्यांै । धर्मराज युधिष्ठिरसँगका न्यायका कुरा सुन्यौं । पृथ्वीनारायण शाहको लडाइँ र एकीकरणको कुरा सुन्यौं । सबै आफ्नो लागि मात्र । अर्कोलाई छिर्के लगाएर अघि बढ्न मात्र । अरूको पीडामा खेलेर आफ्नो लागि खुशी रोज्न मात्र । देशलाई ठगेर त्यागको प्रतिफल लिन मात्र जान्यौं । अरूको अपमान गरेर आफू सम्मानित भएको भ्रम पाल्न थाल्यौं । अरूको बदनाम गरेर आफू नाम कमाउन थाल्यौं । यसले समाजमा सुन्दर संस्कार बस्ने कुरै आउँदैन । भावी पुस्ताले सिक्नको लागि असल संस्कार पनि रहँदैन ।

दुनियाँले सिक्नेगरी कुनै छाप छोड्न सकेनौं । अहम्, अहंकार र दम्भ पालेर बस्यौं । अरूको सम्मान गर्न, इतिहासको थोरै लाज राख्न पनि सकेनांै । सामाजिक मूल्यहरूको इज्जत गर्न पनि जानेनौं । अरूको मुख ताकेर आफू पछि परेको कुरासम्म बुझ्न सकेनौं । ५० वर्षको संघर्षपछि पनि देश जस्ताको त्यस्तै भएको रहस्य बुझ्न चाहेनौं । सर्वत्र लथालिङ्ग भएर गयो । जनताको हालत बेहाल भयो । फेरी पनि हामीमा नयाँ चेतना आएन । दुनियाँलाई बिउँझाउने इच्छाशक्ति जागेन । अझै हामीमा पुनर्जागरण ल्याउने सोच आइरहेको छैन । कमसेकम अब त सोचमा परिवर्तन गरौं है !

टिप्पणीहरू