‘चार नेताको वार्ता आधिकारिक होइन’

‘चार नेताको वार्ता आधिकारिक होइन’

पार्टी विवाद मिलाउन एमालेको माधव नेपाल समूहका चार नेताको दौडधुपलाई सोही समूहका एक नेताले अर्थहीन प्रयास भनेका छन् । पार्टी एकता बचाउन भन्दै स्थायी समितिका चार नेताले ओली समूहका नेताहरुसँग लगातार गरिरहेको भनिएको संवादलाई नेपाल समूहका नेताहरुले शंकाको दृष्टिले हेर्न थालेको बताइन्छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले केही नेताले गरेका व्यक्तिगत छलफललाई आफ्नो समूहको धारणाका रुपमा बुझ्न नहुने बताउनुभयो ।

जुन संवैधानिक संकट खडा गरिएको छ अहिले,के जेठ २ मा पुगेपछि सबै हल हुन्छ त ? यसबारे चाहिँ बहस हुनुपर्छ कि पर्दैन ?’

आफ्नो समूहले ओली पक्षसँग औपचारिक रुपमा वार्ता,छलफल र कुराकानी नगरेको उहाँले प्रष्ट पार्नुभयो । ‘उहाँहरुको छलफलको कुरा मैले पनि बाहिर सुन्ने गरेको छु,तर हाम्रोमा त्यसबारे कुनै छलफल भएको छैन । छलफल गरेर जानुभएको पनि होइन । कार्यदलका संयोजकलाई नै कारबाही गरिएको छ । त्यसैले उहाँहरुको कुरा व्यक्तिगत होला, पार्टीको होइन’,न्यौपानेले भन्नुभयो ।

पार्टीको संरचनालाई माओवादीसँग एकतापूर्वको अवस्थामा फर्काएर सञ्चालन गरे तत्काल एकता हुने आफ्नै समूहका कतिपय नेताहरुको अभिव्यक्तिको पनि न्यौपानेले खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘जेठ २ मा फर्किने कुरा त ओलीका लागि अनिवार्य बाध्यता हो । अदालतले दुई पटकसम्म भनिसकेको छ । फेरि त्यसैका लागि बिन्तीभाउ गर्नुपर्छ भने भोलि कार्यान्वयन हुन्छ भन्नेमा कसरी विश्वस्त हुने ?’

पार्टी एकता हुनुपर्छ भन्नेमा कसैको पनि बिमति नरहेको तर एकताका नाममा हामफालेर जाने कुराचाहिँ व्यक्तिगत हुने उहाँको टिप्पणी छ । जेठ २ मा फर्किने कुरालाई थप व्याख्या गर्नुपर्ने आवश्यकता आएको उहाँको टिप्पणी छ । जेठ २ मा फर्किनुको मतलब अहिले प्रधानमन्त्री ओलीले गरेका राजनीतिक तथा संवैधानिक कदम पनि शून्यमा पुग्नुपर्ने उहाँको भनाई छ ।

‘जुन संवैधानिक संकट खडा गरिएको छ अहिले,के जेठ २ मा पुगेपछि सबै हल हुन्छ त ? यसबारे चाहिँ बहस हुनुपर्छ कि पर्दैन ?’, उहाँले भन्नुभयो । जेठ २ मा फर्किने निर्णयले ओलीले चालेका असंवैधानिक र अराजनीतिक कदम सच्चिन्छन् कि सच्चिँदैनन् भन्ने प्रश्न पनि सँगै गाँसिएर आउने उहाँको तर्क छ ।

प्रधानमन्त्री ओलीले नेपाल समूहका केही नेतालाई समेटेर स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेको भन्नेबारे राखिएको जिज्ञासामा नेता न्यौपानेले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाएर समग्र विषयमा छलफल नहुँदासम्म व्यक्तिगत छलफलको अर्थ नहुने दाबी गर्नुभयो ।

जेठ २ मा फर्किने भरपर्दो आधार नबन्दासम्म र समूहको आधिकारिक निर्णय नहुँदासम्म व्यक्तिगत छलफलले निकास नदिने उहाँको भनाई छ । नेता न्यौपानेले विपक्षी गठवन्धनलाई फुटाउन जेठ २ मा फर्किने कुरा गरेको हुनसक्ने पनि बताउनुभयो । संविधान र गणतन्त्रको रक्षाको प्रश्नमा कुनै कम्प्रोमाइज नहुने भन्दै विपक्षी गठवन्धन त्यसैका आधारमा बनेको उहाँको दाबी छ ।

‘उहाँ (ओली)ले भताभुङ्ग पारेका कुरा सच्याउनु नै आजको आवश्यकता हो । त्यसैको आधारमा विपक्षी गठवन्धनमा हामी सहभागी भएका हौँ । संविधान र गणतन्त्र जोगाउनेबाहेक गठवन्धनको अरु साझा स्वार्थ छैन । यदि ओलीजी संविधान र गणतन्त्र जोगाउने मुद्दामा सहमत हुनुभयो भने राष्ट्रिय राजनीतिले नयाँ कोर्स लिन्छ,त्यतिबेला गठवन्धन आवश्यक नै पर्दैन’,नेता न्यौपानेले भन्नुभयो ।

टिप्पणीहरू