मुलुकलाई काँग्रेसको बाटोमा हिँडाउन देउवा नै अघि सर्ने

मुलुकलाई काँग्रेसको बाटोमा हिँडाउन देउवा नै अघि सर्ने

१४ औं महाधिवेशनको पूर्वनिधारित मिति नजिकिँदै जाँदा नेपाली काँग्रेसमा सभापतिका आकांक्षीहरु खुल्न थालेका छन् । देशकै सबैभन्दा पाको पार्टीको भावी नेतृत्वमा पुग्न काँग्रेसमा झण्डै एक दर्जन नेता सभापतिको आकांक्षी रहेको बताइन्छ ।

केही नेताले आफ्नो आकांक्षा बाहिर ल्याइसकेका छन् भने केही अझै खुल्न सकेका छैनन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै नेतृत्वमा प्रतिस्पर्धा हुने देखिए पनि ती दुई समूहभित्रै आन्तरिक प्रतिस्पर्धा देखिएको छ ।

आफ्ना मुख्य सारथी विमलेन्द्र निधी आफैँ सभापति बन्न अघि सर्ने तयारीमा जुटेपछि चुपचाप रहनुभएका सभापति देउवाले समेत आफूपक्षीय छलफलमा भने सभापतिमा आफैँ दोहोरिने संकेत गर्नुभएको छ । त्यसबारेमा उहाँले आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल थालिसक्नु भएको बताइन्छ ।

आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको, तीन तहको निर्वाचन गराएको र सरकारको सर्वसत्तावादका विरुद्ध अडान लिएकाले आफू नै सभापतिमा दोहोरिने देउवाको भनाइ निकटहरु सुनाउँछन् । गत चुनावमा कम्युनिष्टहरु मिल्दा प्रत्यक्षमा कम सिट जितेपनि समानुपातिकमा राम्रो भोट ल्याएकाले आफ्नो नेतृत्वमा काँग्रेस कमजोर नभएको देउवाको तर्क छ । त्यसैले आगामी चुनावमा पहिलो पार्टी बनाएर काँग्रेसको बाटोमा देशलाई हिँडाउन आफैँ सभापतिमा दोहोरिनुपर्ने उहाँको दाबी रहेको बताइन्छ ।

१३औँ महाधिवेशनमा देउवासँग पराजित हुनुभएका रामचन्द्र पौडेल भावी सभापतिका लागि स्वाभाविक उम्मेदवार भएपनि पौडेल समूहकै शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले तीब्र आकांक्षा राखेका छन् । त्यस्तै, छुट्टै धारको नेतृत्व गर्दै आउनुभएका नेता कृष्णप्रसाद सिटौला पनि सभापतिमा उठ्ने तयारीमा रहेको बताइन्छ ।

गत फागुन ६ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ ७ देखि १० गते महाधिवेशन गर्ने निर्णय गर्दै कार्यतालिका तय गरेको थियो । उक्त कार्यतालिकालाई संशोधन गर्दै हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू