राजनीतिमा कहिलेकाहीं यसरी पनि मेटिन्छ रहर

राजनीतिमा कहिलेकाहीं यसरी पनि मेटिन्छ रहर

– राजेन्द्र स्थापित

अनन्य मित्र, आधिकारिक फोटोग्राफर र नाजी पार्टीका उपल्लो नेता हेन्रिख होफम्यानको घरमा डिनरपश्चात इभास“ग हिटलरको सहानुभूति प्रकट भयो । हिटलर व्यस्तताको बाबजुद होफ्म्यानको स्टुडियो जान थाले, जहाँ इभा काम गर्थिन् । उनी खाली हात जाँदैनथे । पुष्पगुच्छा, चकलेट उपहार लान्थे । विस्तारै डिनर खान शहरबाहिर लान थाले । सिनेमा र नाट्यघर जान थाले । उनी भन्थे, म ओपेरा वा सिनेमा हेर्न जाँदा स्त्री सँगै बस्न पाउँदा गौरवान्वित महसुस गर्छु । कम उमेरकी (१७ वर्षीया) युवती इभालाई प्रौढ (४० वर्षीय) पुरुषको यस्तो कुराले प्रभावित पार्न थाल्यो । उनले हिटलरको उक्त व्यवहारलाई प्रेम सम्झिन् । उनी साथीहरूलाई हिटलरले आफूसित प्रेम गर्न थालेको र छिट्टै उनकी पत्नी बन्न गइरहेको कुरा सगौरव सुनाउन थालिन् । तर, हिटलर इभाको मनस्थितिबाट बेखबर थिए । उनले कसैलाई पत्नी बनाउने कुरो सोचेकै थिएनन् । साथीहरूलाई भन्थे – म विवाहित हुँ । मेरी पत्नी जर्मनी हो । यसको अलावा म कसैसँग विवाह गर्न सक्दिनँ । मलाई यसो गर्ने कुनै अधिकार छैन । मसँग गृहस्थी बसाल्न समय पनि छैन ।

दुई जनाको मनस्थिति बेग्लाबेग्लै हुँदाहुँदै सम्बन्ध प्रगाढ बन्दै गयो । अर्का अनन्य मित्र फ्रान्ज जेवर स्वार्ट्जका अनुसार हिटलरको इभासितको सम्बन्ध सिर्फ आध्यात्मिक प्रेम थियो । तर, दुई जनाको मेलजोल यस्तो कि होफम्यानले सोचिसकेका थिए– इभा हिटलरको रखैल बनिसकेकी छन् । यसबीच, राजनीतिक घटना तीव्र रुपमा विकसित भयो । हिटलर र उनको नाजी पार्टी शक्तिशाली बन्दै गएको देखिरहेका राष्ट्रपति हिडेन्बर्गले हिटलरले समर्थन नगरेका व्यक्तिलाई चान्सलरमा नियुक्त गर्नै नसक्ने ठानेर फ्रान्ज भोन पेपेनलाई चान्सलरमा नियुक्त गरिदिए । पेपेनले चान्सलर बनेलगत्तै नाजी पार्टीमाथिको प्रतिबन्ध हटाइदिए । हिटलर चान्सलर (प्रधानमन्त्री) बन्न आतुर थिए । त्यसैले निर्वाचनको माग गरे । जसअनुरूप सन् १९३२ को जुलाईमा निर्वाचन भयो । नाजी पार्टीले ६ सय ८ स्थानमा २ सय ३० सिट जितेर संसदको सबैभन्दा ठूलो दल बन्यो ।

तीव्र राजनीतिक विकास र चुनावी व्यस्तताले गर्दा हिटलर इभालाई समय दिन असमर्थ बन्दै गए । राजनीतिमा खासै रुचि नभएकी इभा हिटलरको यो रवैयाबाट दिक्दार बनिन् । ६ महिना लगातार भेट्न नपाएपछि पूर्णतः हतास बनिन् । हिटलरले जानाजान आफूलाई उपेक्षा गरेको ठानिन् । परिवारमा उनीप्रति सहनुभूति देखाउने कोही थिएनन् । पिता झन् हिटलरसित हिमचिम बढाएको कारण छोरीसँग रिसाएका थिए । यस्तो परिस्थितिमा इभा आफूलाई एक्लो महसुस् गर्न थालिन् । हिटलरको राजनीतिक व्यस्ततालाई एक किसिमले नजरअन्दाज गर्न खोजिन् तर युनिटी मिटफोर्डसितको सम्बन्धलाई पचाउन सकिनन् । एकदिन हिटलर र युनिटीको प्रणयलीला आफैँले देखिसकेकी थिइन् । फेरि त्यसै समय होफम्यानकी छोरी हेनरिताले हिटलरको सम्बन्ध विधवा विन्फ्रेड वाग्नरसित पनि रहेको कुरो सुनाएपछि भने उनले हिटलरलाई गुमाइसकेको महसुस् गरिन् । र, मानसिक सन्तुलन गुमाइन् ।

सन् १९३२ अगस्त १० को दिन घरमा अरु कोही थिएनन् । पिताको दराजबाट पेस्तोल निकालिन् । ओछ्यानमा पल्टिन् अनि आफ्नै गर्धनको कण्ठनलीमा पर्ने गरी गोली हानिन् । गोली कुनै नसामा प¥यो र रगत बग्न थाल्यो । तर, उनी बेहोश भइनन् । अचानक जिउने इच्छा जाग्यो, होफम्यानको साढुभाइ विल्हेम प्लेटलाई फोन गरी आफू घाइते भएको सूचना दिइन् । प्लेट डाक्टर थिए, उनी तुरन्त घर पुगेर इभाको गर्धनबाट गोली निकाले र दुर्घटनाको सूचना होफम्यानलाई दिए । कुरो सुनेर होफम्यान अत्तालिए । उनले फोनमार्फत सबै वृत्तान्त हिटलरलाई सुनाए ।

त्यसबेला हिटलर बर्लिनमा थिए । गाडीबाट भोलिपल्ट म्युनिख पुगे । होफम्यानसँगै अस्पताल गएर इभालाई भेटे । र, इभाको राम्रोसित हेरविचार गर्न होफम्यानलाई अह्राए, ताकि यस्तो घटना फेरि नदोहोरियोस् । हिटलरलाई इभाको आत्महत्याको प्रयासप्रति शंका जागेको थियो । आफ्नो ध्यान तान्न इभाले आत्महत्याको नाटक त गरेको हैन ? हुन पनि इतिहासकारहरू इभाको यो प्रयासलाई त्यस्तै मान्छन् । आफू घाइते भएको खबर नजिक घरमा बसेकी दिदी इल्सालाई नगरी होफम्यानको नातेदार प्लेटलाई खबर गरेकोले । किनभने प्लेटले होफम्यानलाई र होफम्यानले हिटलरलाई खबर अवश्य गर्छन् भन्ने उनलाई राम्रोसँग थाहा थियो ।

तर, हिटलर इभामाथि शंका हुँदाहुँदै डराए । कारण– एक वर्षअघि मात्र आफ्नी अर्की प्रेमिका गेली रौबेलले आत्महत्या गरी आफूलाई समाप्त पारेको घटना उनको मानसपटलमा ताजै थियो । गेली आफ्नै भाञ्जी थिइन् । आफूभन्दा १९ वर्षले कान्छी संगठनको प्रेम सम्बन्ध थियो । तर एकदिन उनले हिटलरको पाइन्टको खल्तीबाट इभाले लेखेको पत्र फेला पारिन् । त्यो दिन बेलुकी हिटलरसित ठूलो झगडा भयो । उनले भन्नुसम्म भनिन् । दुनियाँसामु सिंहजस्तो गर्जने हिटलर त्यो दिन गेलीसामु भिजेको बिरालोजस्तो बनेका थिए ।

सन् १९३१ सेप्टेम्बर १७ को दिन । संसद्को चुनाव चल्दै थियो । हिटलर चुनावी सभामा भाग लिन उत्तरी जर्मनीतर्फ जाँदै थिए । गेलीले आफूलाई पनि सँगै लान ढिपी कस्न थालिन् । तर, हिटलर उनलाई एक्लै छाडेर त्यता रवाना भए । गेली धेरैबेर रोई बसिन् र भोलिपल्ट उनको लाश घरमा काम गर्न राखेकी सेविकाले फेला पारिन् । गेली आफँैले छातीमा गोली दागेर आत्महत्या गरेकी थिइन् । गेली र हिटलरको प्रेमकथा जनआस्थाको वर्ष २१ अंक १९ मा ‘भाञ्जीमाथि तानाशाहको भर’ शीर्षकमा प्रकाशन भइसकेको छ ।

इभाले गरेको आत्महत्याको प्रयासलाई हिटलरले शंकाको दृष्टिले हेरे पनि पछि उनलाई लाग्यो– सायद आफूसितको वियोग सहन नसकेर मर्न खोजिन् । जेहोस्, यो घटनापछि इभाले आफूलाई सर्वश्व मान्दिरहिछन् भन्ने हिटलरले बुझे । उनीहरूको सम्बन्ध यसले झन् घनिष्ट पा¥यो । हिटलरले पहिलाको भन्दा बढी इभाको हेरविचार गर्न थाले । उनको मनमा इभाले महत्वपूर्ण स्थान पाउन थालिन् ।

उता, राष्ट्रपति हिडेन्बर्ग सत्ता सुम्पन आलटाल गर्दै थिए । एकदिन इभासँग रेष्टुराँमा बसेर कफी पिउँदै थिए । निरास हुँदै भने – इभा, अँधेरो झन् झन् गहिरिँदै पो गइरहेछ ।’

इभाले उत्साह बढाउने हेतुले भनिन्, ‘यो राम्रो लक्षण हो । सूर्योदय हुनुअगाडि सबैभन्दा निष्पट्ट अँध्यारो त हुन्छ नै !’ इभाको यो कुरोले हिटलरको मन छोयो । उक्त वाक्यले जादुको काम ग¥यो । आफूलाई सम्हाल्दै, लामो सुस्केरा हाल्दै इभाको हात आफ्नो हातमा राख्दै भने, ‘यसपालिको क्रिसमस हामी सँगै मनाउन नपाए पनि तिमीले नरमाइलो नमान्नू है ? म एकपल्ट पुनः प्रयास गर्न चाहन्छु, कसलाई के थाहा, यो सूर्योदय अगाडिको अँध्यारो पो हो !’

सन् १९३३ को जनवरी । पूर्व चान्सलर पेपेनले हिटलरलाई भने, ‘ राष्ट्रपति हिडेन्बर्ग जनरल भोन सिलशेरलाई पदबाट हटाएर मलाई पुनः चान्सलरमा नियुक्त गर्दै छन्, त्यसैले जनरल सिलशेर आज राति नै हिडेन्बर्गलाई बन्धक बनाउन राष्ट्रपति भवनलाई चारैतिरबाट सेनाले घेर्न लगाउँदै छन् ।’

हिटलर तुरुन्त हिडेन्बर्गलाई भेट्न गए । उनले सिलशेरको योजना पर्दाफास गरिदिए । हिडेन्बर्गले हिटलरको कुरोमा विश्वास गरे, किनकि सिलशेर सेनाध्यक्ष पनि थिए र उनका लागि त्यसो गर्नु गाह्रो पनि हुन्नथ्यो । हिडेन्बर्ग हिटलरसामु बिन्ती गर्न थाले, ‘तिमी केही गर्न सक्छौ ? के तिमी मेरो रक्षार्थ केही गर्दैनौ ?’

हिटलरले व्यंग्यात्मक हाँसो हाँसे । उनले भने, ‘तपाईं त पेपेनलाई पुनः चान्सलर बनाउन चाहनुहुन्छ, अब उनैले तपाईंको मद्दत गर्लान् । तपाईंलाई उनी नपुंसक लाग्दैन ? उनले तपाईंको मद्दत गर्लान् र ? खैर, यो कुरा छाडौं । तपाईं ढुक्क हुनुस्, सिलशेरले केही गर्न सक्दैनन् ।

हिडेन्बर्गलाई दोधारमै छाडेर हिटलर सीधा नाजी पार्टीको मुख्यालय पुगे । तुरन्त हिडेन्बर्गको सुरक्षार्थ गुप्तचर, अर्धसैनिक र सैनिक दस्ता तैनाथ गर्ने व्यवस्था मिलाए । उता, सिलशेरले आफ्नो षड्यन्त्रको पर्दाफास भइसकेको थाहा पाए । र, राति नै पदबाट राजीनामा दिए । पेपेन पनि हिटलरदेखि डराए । उनले हिडेन्बर्गलाई भने, ‘तपाईं हिटलरलाई चान्सलर बनाउनुस्, म उपचान्सलर बन्न तयार छु । स्मरणीय छ, चुनावपछि हिटलरले पेपेनलाई पद छाड्न भनेका थिए । तर, पेपेनले हेपेरै हिटलरलाई उपचान्सलर बन्ने अफर गरेका थिए ।

सन् १९३३ को जनवरी ३० मा हिडेन्बर्गले हिटलरलाई बोलाएर भने, ‘मेरो इच्छा तपाईं चान्सलर बनिदिनुस् भन्ने हो । आजै साँझ शपथग्रहण गर्नुस् ।’ हिटलरको भाग्य त्यो दिन यसरी चम्क्यो कि उनी जर्मनीको भाग्यविधाता बने । त्यो समय, इभा घरमै निदाइरहेकी थिइन् । आमाले निदाइरहेकी छोरीलाई उठाउँदै हिटलर चान्सलर बनेको खबर सुनाइन् । इभा हत्तपत्त उठिन् । निद्रा बिग्रेको झोंकमा कुनै खुशी प्रकट गरिनन् । बरु उनको मुखबाट निस्क्यो, ‘हरे भगवान्, तिमीले फ्युहररको रक्षा गर !’

फ्युहरर जर्मन शब्द हो, जसको अर्थ हुन्छ – नेता वा मार्गदर्शक ।

टिप्पणीहरू