कमरेड नेपाल, ह्याण्डिल विथ केयर प्लिज

कमरेड नेपाल, ह्याण्डिल विथ केयर प्लिज

देशकै सबैभन्दा व्यवस्थित र अनुशासित मानिएको नेकपा एमाले अहिले सबैभन्दा सकसपूर्ण अवस्थाबाट गुज्रिएको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टीले जुन गति लिनुपर्ने हो, त्योभन्दा फरक र विपरीततर्फ लागेको देखिएको छ । यसको जिम्मेवारी सबै तहका नेता–कार्यकर्ताको टाउकामा तततत् हिसाबले लाग्छ ।

तर यो फण्डाको मूल भने वरिष्ठ नेता माधव नेपाल र उहाँनिकटमा जोडिएको देखिन्छ । फागुन २३ पछि पेरिसडाँडा, अर्याल होटल हुँदै विभिन्न पार्टी प्यालेसको यात्रा तय गर्न छाडेर नेपालले धुम्बाराहीको यात्रा गर्नुपर्ने थियो । उहाँ पेरिसडाँडाबाट बिदा भएर त आउनुभयो तर खुमलटार र बूढानीलकण्ठतिर पनि धाउन छाड्नुभएन ।

सबै कार्यकर्ता, शुभेच्छुकसहित आमनेपालीलाई लागेको छ नेकपा एमाले ३ वर्ष अगाडिको जस्तै शक्तिशाली बनोस् । माधव नेपालसहितका नेता एमाले बलियो बनाउन लागुन् । तर, यस्तो भइरहेको छैन ।

यो यात्राबाट नेपाललाई वञ्चित गर्ने फ्याक्टर के होला ? नेकपा एमालेको सर्वोत्तम हितबाट पछि हटेर प्रचण्डसँग मन मिलाउन केले अभिप्रेरित ग¥यो ? १५ वर्ष नेतृत्व गरेको र वर्षौं रगत र पसिनाले सिन्चेको पार्टीभन्दा पुष्पकमल र शेरबहादुर देउवाको नजिक उहाँ नगए हुन्थ्यो ।

कुनै चमत्कार भए बेग्लै कुरा नत्र अब माधव नेपाल एमाले एक भए पनि हिजोजस्तो निर्विकल्प नेता बन्न सक्नुहुन्न । संसद् पुनःस्थापना हुँदा पनि कर्णालीका चार भाइलाई गरेको कारबाही बदर गराउने सर्वोच्चको फैसलालाई टेक्दै ओलीले नवौँ महाधिवेशनको म्यान्डेटअनुरूप काम गर्न सक्नुहुनेछ । पदाधिकारी र स्थायी समितिका हरेक निर्णयको अन्तिम सदर हुने ठाउँ केन्द्रीय कमिटी हो । जहाँ ओली शक्तिशाली बहुमतमा हुनुहुन्छ ।

कार्यकर्ता पंक्तिबाट भन्नैपर्छ कमरेड– नेपाल, ह्याण्डिल विथ केयर प्लिज !

– पुष्पलाल पाण्डे

टिप्पणीहरू