मेलम्चीको त्रासदीपूर्ण बाढी : हिमताल फुटेको हो वा होइन भन्ने बुझ्न विज्ञ टोली जाँदै

मेलम्चीको त्रासदीपूर्ण बाढी : हिमताल फुटेको हो वा होइन भन्ने बुझ्न विज्ञ टोली जाँदै

शिब अधिकारी
गत बुधबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकको स्वरुप एकाएक परिवर्तन भयो । कसैले अनुमान नै नगरेको घटनाको दृश्य निमेषभरमा बदलियो । बुधबारको बाढीले ठूलो भौतिक मात्र नभई मानवीय क्षति समेत गरेको छ । जसमध्ये २० जना अझै बेपत्ता छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष विगतभन्दा तुलनात्मक .रुपमा अत्यधिक वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । शुरुआती मनसुनले नै सुन्दर मेलम्चीको स्वरुपलाई क्षतविक्षत पारिदिएको छ ।

महाशाखाले पहिरोले नदी थुनिएपछि मेलम्चीमा ठूलो बाढी आएकाले अवस्था जटिल बनेको बताए पनि त्यहाँ थप बाढी आउने क्रम भने नरोकिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

पोखरेलले जनआस्थासँगको कुराकानीमा भन्नुभयो ‘खोलामा बाढी केही समय रोकिने र अचानक वहाब बढेर आउने अवस्थाले गर्दा परिस्थिति अझै त्राही त्राही नै रहेको छ ।’ बुधबारको बाढीले पुर्याएको क्षति र अहिले बेला बेलामा देखिने गरेको वहाबको उतारचढावलाई हिम तालसँग जोडेर हेर्न थालिएको छ । उहाँले हिमताल फुटेर बाढी आएको हुनसक्ने आशंका गरिएकाले सोबारे बुझ्न विज्ञ टोली राजधानीबाट सिधुपाल्चोकतर्फ लागिसकेको बताउनुभएको छ ।

बुधबारको घटनापछि पोखरेलले कैयौंका घर बगाएको र धेरै परिवार विस्थापित भएको जानकारी दिनुभयो । अहिले विस्थापित परिवारलाई मेलम्चीकै इन्द्रेश्वरी माध्यमिक विद्यालय तथा आर्मी खेल मैदानमा स्थानान्तरण गरिएको छ । हेलम्बुमा पनि बाढी प्रभावित परिवारलाई सुरक्षा निकायको समन्वयमा स्तानान्तरण गरिरहेको छ । उनीहरुलाई बाढीको खतरा नर्टदासम्म सुरक्षित स्थानमा राख्न प्रशासन र सुरक्षा संयन्त्र खटेको प्रजिअ पोखरेलले बतानुभयो ।

बाढीपछि प्रभावित क्षेत्रमा राहत बाँढ्ने नाममा प्रचारप्रसार हुन थालेको छ । पहिलो दिन प्रभावित क्षेत्रका स्थानीयलाई राहत सहयोग गर्न गएकाले फोटो खिच्ने, टिकटक बनाएका थिए । अहिले राहत वितरण कार्य जिल्ला विपद् व्यवस्थापन समन्वय समिति, स्थानीय विपद् व्यवस्थापन समन्वय समिति, जिल्ला प्रशासन र स्थानीय तहको समन्वय गरि उक्त कार्यलाई व्यवस्थित तवरले अघि बढाइएको पोखरेलले जानकारी दिनुभयो ।

पछिल्लो समय कोरोना महामारीको जोखिम रहेको बेलामा बाढी पहिरोप्रभावित परिवारलाई एकै स्थानमा राख्दा संक्रमण बढ्नसक्ने जनआस्थाको जिज्ञासाको पोखरेलले खण्डन गर्नुभएको छ । उहाँले स्वास्थ्य कार्यालयको समन्वयमा स्तानान्तरण गरिएका स्थानमा हेल्प डेस्क राखेर एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको बताउनुभयो ।

गए राति आएको बाढीले मेलम्चीस्थित प्रहरी भवन बगाएको प्रजिअले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्बाट बच्न पूर्वतयारी बाहेक अन्य कुनै विकल्प नरहेको भन्दै जिल्लाका भोटेकोशी, मेलम्चीलगायतका नदी किनारका बासिन्दालाई स्थानान्तरण गर्ने तयारीमा प्रशासन लागि परेकोे छ । यो वर्ष सिन्धुपाल्चोकमा मात्रै १ हजार १ सय घरधुरी तथा ६ हजार जनसंख्या बाढी पहिरोबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । प्रदेश सरकारबाट सोचेअनुरुप सहयोग र समन्वय प्राप्त भएको उहाँले दाबी गर्नुभएको छ ।

टिप्पणीहरू