कुलुङले खनेको कुलो र जातीय स्वःपहिचानको सवाल

कुलुङले खनेको कुलो र जातीय स्वःपहिचानको सवाल

– निनाम कुलुङ ‘मंगले’

‘कुलुङले कुलो खन्यो,  थुलुङले थुन्यो । सोताङले सोध्यो, खालिङले खोल्यो ।’

माथिको भनाई मे, २००६ मा प्रकाशित ‘जनजाती सेरोफेरो’ नामक आफ्नो किताबमा स्वर्गीय डा. हर्क गुरुङले उद्धृत गरेका छन् । जुन भनाई गुरुङले लेखेको ‘भिग्नेट्स् / भिग्न्यात् अफ नेपाल’ नामक अंग्रेजी किताब र ‘विषय विविध’ नामक किताबमा पनि उल्लेख छ । त्यस्तै ‘जनजाती सेरोफेरो’ नामक किताबमा संकलित २६ वटा लेखमध्ये अन्तिम अर्थात् २६ औं लेखको ‘आदिवासी/जनजाति सूचीकरणः अवधारणा र अनुभव’ शीर्षक लेखको पाना–१९६ मा पनि माथिको भनाई उल्लेख गरेका छन् । स्वर्गीय गुरुङले जनजाती सेरोफेरो नामक सो किताबमा सो भनाइ पूर्वमा रहेको उखान भनी प्रस्ट्याउँदै उल्लेख गरेका हुन् ।

हुन पनि वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणना अनुसारको नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीको साझा फूलबारी हो । भलै राज्यले त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी मध्ये एक हो– ‘कुलुङ जाति ।’ त्यसअघि कुलुङ जातिलाई कथित् राई ! जातिमा गाभिएको थियो ।

त्यसो त अझै पनि नेपाल सरकारको मातहतमा रहेको र आधिकारिक मानिएको र, तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रुपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो ? भन्नेबारेमा वास्तविक कुरो बाहिर नआएकोले/थाहा नभएकोले गर्दा हो । तर, अहिलेचाहिँ धेरै हदसम्म राई जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरूले दिएको ‘पगरी/पदवी/टाईटल’ मात्रै हो भन्नेबारेमा सर्वसाधारण मान्छेहरू माझ पनि प्रष्ट हुँदै गएको छ ।

जे होस्, यो लेखमा कुलुङ को हुन् ?, कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ?, उनीहरूको ऐतिहासिक थातथलो वा भनौं ऐतिहासिक भूमि छ÷छैन ?, कुलुङहरू अन्य जाति सरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो/होइन ?, कुलुङको जनसंख्या कति छ ?, कुलुङ मातृभाषी कति छन् ?, कुलुङको मौलिक भेषभुषा के हो ?, कुलुङ जातिको मौलिक चाडबाड, पर्व, रीतिथिति, संस्कार, संस्कृति आदि के हो ? यसबारे छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ ।

नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा मगर नेपालको एउटा जाति मानिन्छ । अनि जसरी मगरभित्र रज्जाली, पुन, थापा, लाफा, तिलिजा, आले, मास्की, रखाल, रेग्मी आदि थर÷उपथरहरू हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि मगर भने जस्तै जाति हो भने कुलुङको पनि मगरभित्र विभिन्न थर/उपथरहरू छन्, त्यसरी नै कुलुङभित्र पनि थर÷उपथरहरू छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत ३ सय ८० वटाभन्दा बढी कुलुङ जातिभित्र थर÷उपथरहरू रहेको छ ।

कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविस (हाल महाकालुङ र सोताङ गाउँपालिका) का विभिन्न स्थानहरू हुन् भने यी ठाउँलाई कुलुङहरू आफ्नो मातृभाषामा ‘मा कूलू’ भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किमलगायतका ठाउँहरूमा छ भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डू, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २३/२४ जिल्लामा रहेको छ ।

२०६८ को जनगणनाअनुसार कुलुङहरूको जनसंख्या केवल २८ हजार ६ सय ३१ भए तापनि कुलुङको वास्तविक जनसंख्या कम्तीमा एकलाख ६० हजारभन्दा माथि हुन सक्ने, नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम), केन्द्रीय कार्यसमितिका महासचिव ईन्द्र कुलुङ बताउनुहुन्छ । वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरूको तथ्यांङ्क २०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ भने २०५८ को जनगणनामा त राईकरणको मारमा परेका कुनै पनि किरातीभित्रका जातिहरूको अलग्गै जातीय तथ्याङ्क नै आएको थिएन । त्यो बेला केही किराती जातिहरूको भाषागत तथ्याङ्क मात्रै भएको थियो । जस्तो ५०५८ को जनगणनामा तेह्रथुम जिल्लामा एकजना पनि कुलुङ देखिएन । तापनि तेह्रथुम जिल्लामा कुलुङको जनसंख्या लगभग ११/१२ सयभन्दा बढी छ भन्ने यो पंक्तिकारको दाबी छ ।

तेह्रथुम जिल्लाभरि रहेको राई ! को जुन २२ सय चानचुन जनसंख्या छ, सोमध्ये आधाभन्दा बढी कुलुङ जातिहरू रहेका छन् । जस्तै तत्कालीन सम्दु गाविसको वडा नम्बर ६ र ९ मा साथै १, ५, ७ मा त्यस्तै मोराहाङ गाविसको ६ र ९ वडामा पूरै र, अरु केही वडामा थोरै कुलुङहरू रहेका छन् । त्यस्तै दाँगपा र फुलेक गाविसमा पनि कुलुङहरूको ठूलै संख्या रहेको छ भने, खाम्लालुङ, चुहानडाँडा आदि गाविसहरूमा पनि कुलुङहरू पातलो रुपमा रहेका छन् । अब लागौं कुलुङको पनि नेपालका अन्य जातजातिहरूको जस्तै अलग्गै मातृभाषा छ ? भन्नेतर्फ । हो, कुलुङ जातिको पनि नेपालका अन्य जातजातिहरूको जस्तै आफ्नै अलग्गै मातृभाषा छ । जसलाई ‘कूलू रीङ’ भनिन्छ ।

जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मोप÷नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्तिलगायतको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन तामाङ र डा.माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिबद्ध गरिँदा हाललाई दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (:) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै कुलुङ जातिको अरु जातिकोभन्दा भिन्न र फरक प्रकारको संस्कार–संस्कृतिहरू रहेका छन् । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई ‘महाकुलुङ क्षेत्र’को “पोम्लालुङ” भन्ने ठाऊँमा (जहाँ ठूलो ओढार छ ।) पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यताअनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिका लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । सो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको तत्कालन बुङ र छेस्खाम गासिमा पर्ने पेल्माङ÷पिल्मो भन्ने गाउँ÷ठाऊँमा पर्छ । कसैले प्रत्यक्ष रुपमा हेर्न चाहे यी ठाउँहरू अझै पनि छँदैछन् ।

त्यस्तै विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै ‘रोङखोङ दी खोङ !’ दिएर सम्पूर्ण रुपमा ज्वाईँ पक्षलाई चेली सुम्पने काम गरिन्छ । सामान्यतयाः कुलुङहरू दुई पटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।

त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन, भेषभुषा र गरगहनाहरू छन् भने आफ्नै मौलिक बाजागाजाहरू पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैंले नाइटो काट्ने, अल्लो/भाँग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।

मृत्यु संस्कारमा भने अकालमा मरेकाहरूलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरू ‘हिल्सी’ भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकाहरूलाई भने घुर्यान वा घर नजिकैको बारीमा गाडिन्छ ।

साथै असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरू त मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरू भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिस्कृत हुनुपर्ने र हेलोहोचो हुनुपर्ने डरले गर्दा नुन नबारे पनि (कसैकसैले नुन बार्ने गर्छन्, ठाऊँअनुसार) ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, राँगा, सुँगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई बिदा दिँदा चढाईने मासु/बिदा दिँदा सिङ भएको जनावर चल्दैन ।) गर्छन् । कुलुङ जातिको चाडपर्वमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, पूर्वे, साइपोम/साइपोको आदि प्रमुख हुन् भने साह्रै अनिकाल पर्यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ ।

देदाम गर्नका लागि जोडी सुँगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरबारले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्नसक्छ त्योभन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुङ्गा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँअनुसार फापर, मकै, जौ र कोदोको जाँडले गरिन्छ ।

यसरी हेर्दा कुलुङ जातिको संस्कारगत कुराहरू बाहुन–क्षेत्री त के अहिलेसम्म कथित् एक ‘जाति राई !’, २८ भाषी राई !’ एकै हौं, भाषा मात्रै फरक हो भनिएका १६ खम्बुका सन्तानहरू सँगसमेत मिल्दैन । फेरि हिन्दू जात समूहमा जसरी पण्डित भए जो भए पनि संस्कार गर्न मिल्छ वा हुन्छ, त्यसरी कुलुङको घरमा अरु राई भनिनेहरू आएर पूजाआजा गर्न मिल्दैन । कुलुङ जातिकै नोक्छो वा पूर्खा चाहिन्छ । किनभने कुलुङको सुक्तुलु अर्थात् चुला अरु जातिले छुन समेत हुँदैन भन्ने जन विश्वास छ । वास्तवमा यो यथार्थ कुलुङ जातिमा मात्रै लागू नभएर हालसम्म राईकरणको मारमा परेका सम्पूर्ण किरातीहरूको हकमा लागू हुन्छ ।

माथि शुरुमै उल्लेख गरिएको स्वर्गीय डा. हर्क गुरुङले उद्धृत गरेको भनाइ झैं ‘कुलुङले कुलो खनेको, थुलुङले थुनेको, सोताङले सोधेको र खालिङले खोलेको छ, छैन ? भनी अहिले आएर हेर्दा अरुले के–के गरे ? भन्न सकिन्न ! तर, स्वर्गीय डा. हर्क गुरुङले उल्लेख गरेझैं कुलुङले भने जातीय स्वपहिचानको सवालमा विसं २०५७/०५८ देखि नै कुलो खन्दै आएको र, कुलोलाई फराकिलो बनाउँदै, सिञ्चित गर्दै बाल सपार्ने प्रयास सक्दो रुपमा गर्दै आएको छ ।

फलतः कुलुङले खनेको कुलोले सिञ्चित गरेकै कारणले गर्दा वि.सं. २०६८ को ११ औं जनगणनामा कुलुङबाहेक अरु पनि ११ वटा किराती जातिहरू अलग्गै जातिका रुपमा आउन सफल भएका छन्, जो त्यसअघि कथित् राई जाति ! भनी चिनिन्थे । यसका लागि हाम्रा छोरा नातिकै पालामा त नभनौं, पनाति, जनाति, खनाति, मनाति, ..को पाला अवश्य नै मूल्याङ्कन हुने छ भन्ने आशा गरौं ।

यो कुरो व्यवहारमा हेर्नका लागि आगामी जनगणना (हाल स्थगित भएको साउनदेखि हुनसक्ने भनिएको) को नतिजा कस्तो आउँछ ? सो नतिजा आउञ्जेलसम्म पर्खनुपर्ने हुन्छ । हुन पनि वि.सं. २०६८ मा कम्तिमा ६ लाख ७०/८० हजारदेखि ७ लाख १०१२ हजार पुग्नुपर्ने राईको जनसंख्या वि.सं. २०५८ कोभन्दा केही घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । स्मरणीय छ, वि.सं. २०५८ मा राईको जनसंख्या ६ लाख ३५ हजार चानचुन रहेको थियो ।

टिप्पणीहरू