बाढी, पहिरोमा हालसम्म १५ को मृत्यु, १६ घाइते, २५ बेपत्ता

बाढी, पहिरोमा हालसम्म १५ को मृत्यु, १६ घाइते, २५ बेपत्ता

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ९ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।

निधन हुनेहरुमध्ये सिन्धुपाल्चोकमा ३, डोटीमा ३, सप्तरीमा १, काभ्रेमा १, गोरखामा १, जुम्लामा १, अर्घाखाँचीमा १, पाल्पामा १, कास्कीमा १, कालिकोटमा १ र बाजुरामा १ जना रहेका छन् ।

बाढी, पहिरो र डुबानमा १६ जना घाइते भएका छन् । घाईतेमध्ये १० जना पुरुष, ४ जना महिला र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ६, म्याग्दीमा ३, जुम्लामा २, डोटीमा २, कास्कीमा १, स्याङजामा १ र सल्यानमा १ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

त्यसैगरी यसबीचमा २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ५ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । सिन्धुपाल्चोकमा १७ जना, जाजरकोटमा ७ जना र बाजुरामा १ जना रहेकोमा वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट ८ जना गरी १ सय २ जनाको उद्धार गरिएको छ । उनीहरुलाई पनि उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । यसबीचमा दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेखलगायतका स्थानमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

बाढीका कारण १ सय ९९ वटा घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ११ वटा गोठ, १२ वटा पुल, १ वटा विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय २८ वटा घरका १ हजार ७ सय ६० जना विस्थापित भएका छन् । ५ सय १६ वटा पशु चौपाया समेत मारिएका छन् ।

बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय, हेलम्बु र प्रहरी चौकी तालामाराङलाई स्थानान्तरण गरिएको छ ।

टिप्पणीहरू