सीतानन्दनहरु बिच्केबाट केही सिके हुन्न ? « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

सीतानन्दनहरु बिच्केबाट केही सिके हुन्न ?

प्रकाशित मिति :  ५ असार २०७८, शनिबार २१:००


– पुरूषोत्तम पौडेल

भर्‍याङ एउटै हुन्छ । खुड्किलो मात्र धेर थोर र सानो ठूलो हुने हो । प्रायः सबै घरमा चढ्ने र उत्रने  एउटै हुने गर्दछ । जतिसुकै अग्लो भर्‍याङ बनाए पनि खास उचाईमा पुगेपछि त्यसको अन्त हुन्छ नै । हरेक यात्रुले भ¥याङ्गको अन्तिम उचाइमा पुगेपछि तल ओर्लनु अनिवार्य छ ।

देशका राजा अर्थात शासक र भगवानप्रति सबैको बराबर अधिकार हुन्छ । भगवान र असल शासकले पनि सबैलाई समान नजरले हेर्ने गर्दछन् । हेर्नु पनि पर्दछ । जब राजा र भगवानले आफू र आफ्ना कुरा गर्न थाल्दछन्, आफ्नानिम्ति छुट्टै व्यवस्था मिलाउँदै साँघुरो घेरामा मात्र रमाउन थाल्दछन् तब तिनको जनमत घट्दै जान्छ र पतन पनि अनिवार्य हुन्छ । व्यक्तिमा निहित लोभ र मोहको भावनाले ज्ञानको ढोका बन्द गरिदिन्छ । आम जनताप्रतिको सेवाको भावनालाई कैद गरिदिन्छ । परोपकार र पुण्यको बाटो थुनिदिन्छ । तर सकारात्मक सोच र सत्कर्मले ज्ञानको ढोका खोल्छ । सत्कर्मको चिन्तनले जनसेवाको लागि प्रेरित गरिरहेको हुन्छ । लोभ–मोह र धर्मको वीचमा ठूलो अन्तर–संघर्ष छ । एऊटाले ज्ञानको ढोका बन्द गरेको हुन्छ भने अर्कोले ज्ञानको ढोका खोलिरहेको हुन्छ । ज्ञान विनाको संसार अँध्यारो हुन्छ ।

‘एउटा सानो लिखत दिन नसक्ने भए सङ्गै के बसाई भो र भन्दै कमरेड अशोक राईहरू पार्टी छोडेर अलग हुनुभयो । पृथ्वीसुब्बा गुरूङ्ग रोकिनुभयो,  गण्डकीको मुख्यमन्त्री अनि केन्द्रको पर्यटनमन्त्री खानुभयो ।’

माकुरो बडो जाली किरा हो । यसको जालको तालमेललाई कसैले बुझ्न सक्दैन । कैयौं बलिया किरा–फट्याङ्ग्रा यसको शिकार भएका हुन्छन् । माकुराको जाल हत्तपत्त तिनले पनि तोड्न सक्दैनन् । त्यही माकुराले बडो दुःखका साथ बच्चाहरू जन्माउँछ । आफ्ना सन्तानको सुरक्षाको लागि लडाइँ गर्दछ । एकदिन त्यो माकुरो पनि आफै शिकार बन्दछ । शिकारी अरू कोही हुँदैन । उसकै बच्चाहरूले माऊ माकुरालाई खाइ दिन्छन् । अहिले नेकपा एमालेको दशा त्यस्तै हुन लागेको छ । कमरेड ओली र नेताहरू आफ्नै बचेराहरूको माकुरी जालको शिकार हुँदैछन् ।

२०५४ सालको पार्टी विभाजन पुरानो भयो । मलाई तत्कालीन एमाले उपाध्यक्ष कमरेड अशोक राईसहितका नेताहरूले ०७० पछि पार्टी छोडेको झलझली याद आइरहेको छ । कमरेड अशोकसमेतको टोली नेकपा एमालेमै रहने चाहनासहित केन्द्रीय कार्यालय बल्खु पुगेको थियो । उहाँहरू संघीयता व्यवस्थापनसम्बन्धमा पार्टी केन्द्रबाट सकारात्मक जवाफ मात्र खोजी रहनुभएको थियो । विभिन्न चरणमा छलफल गरेर अध्यक्ष कमरेड झलनाथ खनाल सकारात्मक पत्राचार गर्न तयार हुनुभयो । ठीक त्यतिबेला कमरेड ओली पनि बल्खु पुग्नुभयो र लिखतको विपक्षमा खडा हुनुभयो । एउटा सानो लिखत दिन नसक्ने भए सङ्गै के बसाई भो र भन्दै कमरेड अशोक राईहरू पार्टी छोडेर अलग हुनुभयो । पृथ्वीसुब्बा गुरूङ्ग रोकिनुभयो, र बालकोटको कोटरीमा छिरेर साढे तीन बर्ष गण्डकीको मुख्यमन्त्री अनि केन्द्रको पर्यटनमन्त्री खानुभयो । अरूहरूले नयाँ पार्टी खोल्नुभयो । एउटा सानो पत्र रोकिँदा पार्टीको ठूलो शक्ति अलग भयो ।

एक समय मधेशका सन्दर्भमा उठेका सामान्य विषयहरूमा नेकपा एमाले उदार हुन सकेन । जसले गर्दा सीतानन्दन राय, रामचन्द्र झा, जितेन्द्र देव र महेन्द्र रायजस्ता थुप्रै नेता पार्टीबाट अलग भए । फेरि पनि हजारौँ नेता, कार्यकर्ता तथा समर्थकहरूको मेहनतले पार्टी बहुमतसहित सत्तासिन हुन सफल भयो । अहिले पार्टी अध्यक्षकै कारण नेकपाको एकता भाँडिएर बहुमतको सरकार सोझै अल्पमतमा झ¥यो । उहाँलाई त्यतिले पनि पुगेको छैन । आफ्नै पार्टी नेकपा एमालेको नवौँ महाधिवेशनबाट स्थापित नीति, विचार, विधानसहित केन्द्रीय कमिटीलाई व्यवस्थित गरेर अघि बढ्नसमेत रूचि देखिँदैन । यसले गर्दा नेकपा एमालेभित्र विद्रोह भैरहेको छ । पार्टीमा चलिरहेको अन्तर संघर्ष, विवाद र विद्रोहको राजनैतिक समाधान खोज्नुपर्नेमा कार्वाहीको डण्डा चलाउने अभ्यास तीव्र हुँदैछ । यसले झन समस्या सुल्झिनुको सट्टा उल्झिरहेको छ ।

नेपालीमा एऊटा उखान छ–कुकुर भन्छ जहान बढुन्, बिरालो भन्छ सबै मरून् । जति जहान बढ्यो त्यति कुकुरलाई नै फाइदा । जहान बढेपछि धेरैले छोडेको जुठो पुरो खान पाउँछ । तर बिरालो आफै शिकारी हुन्छ । दरो शिकार खाएर आएपछि उसलाई आराम चाहिन्छ । अरूको तातो चुल्होमाथि आराम गर्नु बिरालोको शोख हो । स्वार्थी बिरालो आफ्नो क्षणिक आरामको लागि सबै जहान मरून् भनेर प्रार्थना गर्छ । आजकल नेकपा एमालेमा चलिरहेको लगातार कार्वाहीले त्यहि बिरालो प्रवृतिको झल्को दिइरहेको छ । एकपछि अर्को कार्यवाहीको डण्डा चलिरहेको छ ।

कर्णाली प्रदेशमा कथित ह्वीप उल्लंघन गरेको भन्दै चार जना प्रदेशसभा सदस्य निश्कासित भए । सुदूर पश्चिम प्रदेशमा १७ जना प्रदेशसभा सदस्यमाथि कार्यवाही चालु छ । बाग्मती प्रदेशमा १४ जनालाई स्पष्टीकरण सोधेर कार्यवाहीको लागि ठिक्क पारिएकोमा नीति तथा कार्यक्रम पास गर्नको लागि फिर्ता लिइएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यताबाट समेत निकालिएको छ । यसरी नेतृत्वको गलत सोचका कारण फेरि एकपटक नेकपा एमालेलाई विभाजित गर्ने सम्भावना बढेको छ । यसले नेकपा एमालेको नेतृत्वमा स्वार्थी बिरालाहरूको दह्रो पकड भएको पुष्टि हुन्छ । उनीहरू सबैलाई लखेटेर चुल्होको खरानीमाथि आराम फर्माउन चाहन्छन् भन्ने प्रष्ट हुन्छ ।

भोजपुरीमा अर्को एऊटा उखान छ–हठी जोगी, बागी राजा, न देवे भीख, न छोडे दरवाजा । अर्थात एउटा हठी खालको जोगी राजाकहाँ भीख माग्न गएछ । राजा आफै बागी खालका परेछन् । उनी जोगीलाई कुनै हालतमा भीख दिन मानिरहेका थिएनन् । राजा भीख दिन नमान्ने, जोगी ढोका छोड्न नमान्ने । दरबारको ढोका जोगीले कव्जा गरेपछि राज्य नै डेडलक हुने खतरा भयो । ठीक यस्तै अवस्था अहिले एमालेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफूभित्रको विवाद समाधान गर्नुको सट्टा देशलाई नै अन्योलतिर धकेल्न उध्यत हुनुहुन्छ । उहाँ साइजमा आएर नसच्चिएसम्म अरूले मान्नेवाला छैनन् । पार्टीभित्रको विवादका कारण ओलीजीले दुईपटक असंवैधानिक ढंगले संसद विघटन गर्नुभएको छ । संविधान विपरित नागरिकतालगायत अनेक थरी अध्यादेश ल्याएर उधुम मच्चाउनुभएको छ । साइबर आतंकले राज्य चलाइएको छ । समस्या जस्ताको त्यस्तै छ ।

तर पार्टीभित्रको समस्या समाधान गर्नेतर्फ कुनै प्रयास गरेको देखिँदैन । आफूले गरेका प्रायः सवै निर्णय अवैध घोषित हुँदासमेत अलिकति पनि महसुस गरेको पाइन्न । हुँदा हुँदा अब त सर्वोच्च अदालतले पार्टी अध्यक्ष ओलीको हातबाट कार्वाहीको डण्डासमेत खोसिदिएको छ । यसले पार्टीमा उहाँ शस्त्ररहित अध्यक्ष भैसक्नुभएको छ । उहाँले केन्द्रीय कमिटी विघटन गरेर बनाएको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी परिचयहिन भएको छ । अझै पनि चेत खुलेको छैन । ’राजनेताजी’, अब त आफूलाई सच्याउन तयार हुनुहोस् । थोरै कमजोरी स्वीकार गरेर सच्याउन तयार हुनुहोस् । अन्यथा यो ठूलो भूल हुनेछ । इतिहासमा कलंक लाग्नेछ । अझै पार्टीलाई एकतावध्द गर्ने काम गर्नुहोस् । जो यसो गर्न तयार हुँदैनन् उनीहरूले स्वार्थी बिरालोको बाटो पछ्याई रहेका हुनेछन् । त्यसको लागि अर्को दुष्कर्म गरिरहनु आवश्यकै छैन ।


प्रतिक्रिया दिनुहोस !