निर्वाचन आयोगमा जसपाका ३० नेताको हस्ताक्षर

निर्वाचन आयोगमा जसपाका ३० नेताको हस्ताक्षर

पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम पक्षले ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन बुझाएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित दुई दर्जन नेता बहादुर भवनस्थित आयोग पुगेर भर्खरै निवेदन दर्ता गराएका हुन् । यादव र भट्टराईसहित वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र श्रेष्ठ, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरु आयोग कार्यालय पुगेका थिए ।

जसपामा लामो समयदेखि विवाद छ । विवादकैबीच महन्थ ठाकुर खेमा सरकारमा सहभागी भएपछि विवाद चर्किएको हो । पार्टीको निर्णय विपरित ठाकुरपक्ष सरकारमा सहभागी भएपछि जसपाको कार्यकारिणी समितिको बहुमतले ठाकुरसहित चार नेतालाई पार्टीबाट हटाएको थियो । ठाकुरपक्षले पनि यादवलाई कारबाही गरेको थियो । कारबाहीको जानकारी गराउँदै दुवै पक्षले आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए ।

आयोगले दुबै पक्षको निर्णयलाई अवैध ठहर गरेपछि बहुमतको निर्णयलाई मान्यता नदिएकोमा रुष्ट बनेको उपेन्द्र–बाबुराम पक्ष आधिकारिकता दाबी गर्दै आज पुनः आयोग पुगेको हो ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ३० जनाले उपेन्द्र–बाबुरामपक्षमा हस्ताक्षर गरेपछि ठाकुर खेमा अल्पमतमा परेको छ ।

टिप्पणीहरू