जसपाको टोली ३ बजे निर्वाचन आयोग जाने

जसपाको टोली ३ बजे निर्वाचन आयोग जाने

पार्टीको आधिकारिकता दाबी गर्न जनता समाजवादी पार्टी (जसपा) को बहुमत पक्ष निर्वाचन आयोग जाने भएको छ । केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, अशोक राई, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरु अहिले ३ बजे बहादुर भवनस्थित आयोग जाने तयारी भइरहेको जसपाले जनाएको छ ।

यसअघि विवरण अध्यावधिक गर्न आयोगले अस्वीकार गरेपछि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता माग गर्न निर्वाचन आयोग जान लागेको वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बालकुमारीस्थित पार्टी कार्यालयमा जम्मा भएर आयोग जाने तयारी भइरहेको छ ।

जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो । पार्टी निर्णय विपरित महन्थ ठाकुर खेमा सरकारमा गएपछि कार्यकारिणी समितिको बैठकले ठाकुरसहित चार नेतालाई पार्टीको नीति र निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीबाट निश्काशन गरेको थियो । ठाकुर पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको थियो ।

दुवै पक्षले कारबाहीको जानकारी गराउँदै पदाधिकारी विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्र बुझाएका थिए । तर, आयोगले विवरण अध्यावधिक गर्न अस्वीकार गर्दै दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गर्न सुझाएको थियो ।

सत्ता गठवन्धनलाई लिएर लामो समयदेखि विवादमा रुमल्लिएको जसपा महन्थ ठाकुर खेमा केपी ओली नेतृत्वको सरकारमा गएपछि व्यवहारतः फुटिसकेको छ । तर, निर्वाचन आयोगले निर्णय नदिँदा विभाजनले कानूनी मान्यता भने पाउन सकेको छैन ।

टिप्पणीहरू