बालुवाटारको चलानी फाँट

बालुवाटारको चलानी फाँट

राष्ट्रपतिले जारी गर्नुभएको नागरिकता अध्यादेश सर्वोच्चले असंवैधानिक भनेर रोकिदियो । राष्ट्रपतिले शपथ खुवाएका मन्त्रीहरूलाई असंवैधानिक भन्दै सर्वोच्चले पदच्युत गरिदियो । राष्ट्रपतिले पुस ५ गते भंग गरेको संसद् सर्वोच्चले पुनःस्थापित गरिदियो ।

के हुँदै छ यो ? राष्ट्रपतिलाई संविधानको संरक्षक भनिन्छ । तर, राष्ट्रपतिले गरेका काम जम्मै असंवैधानिक ! जो संविधानको संरक्षक हो, उनैले गैरसंवैधानिक काम गरेपछि संविधानको संरक्षण गर्छ कसले ?

भन्न त के भनिएको छ भने राष्ट्रपतिले गर्ने काम भनेको त्यही हो जो प्रधानमन्त्रीले गर भनेर अ¥हाउँछ । प्रधानमन्त्रीले सिफारिस ल्याउँछ, राष्ट्रपतिले छाप हान्छ । हाम्रो वडा कार्यालयहरूमा वडाध्यक्षले कुनै चिठीमा सही गरिसकेपछि दर्ता–चलानी फाँटमा लगेर त्यसमा एउटा छाप हान्नुपर्छ । त्यसपछि मात्रै चिठी वैध हुन्छ ।

के राष्ट्रपति कार्यालय भनेको बालुवाटारबाट जारी भएका चिठीपत्रमा छाप हान्ने दर्ता–चलानी फाँट हो ? होइन भने त राम्रै भो । यदि हो भनेचाहिँ यो फाँटलाई किन शीतल निवासमा राख्नुप¥यो ? बालुवाटारकै ३ नम्बर गेटमा एउटा कोठा बनाएर राखे हुन्न ? बालुवाटार भित्रबाट जारी हुने चिठी शीतल निवाससम्म पु¥याइरहनै परेन ।  भित्रैबाट टिरिङ घण्टी दिए पछि चिठी बुझ्यो, छाप हान्यो, सकियो । कहिलेकाहीँ राति काम गर्नुपर्दा पनि दौडादौड गरिरहनु परेन ।

सुझाव कस्तो लाग्यो ईश्वर र सुवास कमरेड ?

टिप्पणीहरू