जातिय विभेद र कुटपिटबाट गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन

जातिय विभेद र कुटपिटबाट गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन

-आशिका लम्साल

मोबाइलको सीमकार्ड चोरी गरेको झुठो आरोपमा छिमेकीहरुले जातिय विभेदमा गालीगलौज र निरन्तर कुटपिट गर्दा मोरङमा तीन महिनाकी गर्भवती २५ वर्षकी शोभा दर्जीले मानसिक सन्तुलन गुमाउन पुगेकी छन् ।

मोवाइलको सीम चोरेको पूरानो आरोपमा मोरङको कानेपोखरी गाउँपालिका ५, चिसाङ बस्तीका चन्द्रमाया, बबिता, पुष्पा र निर्मला मगरले शोभालाई जातिय विभेद र हेँलाभाव गर्दै लगातार कुटपिट गरेपछि शोभाको मानसिक सन्तुलन गुमेको बताइन्छ ।

शोभाको १२ दिनदेखि धरानस्थित विपी अस्पतालको मानसिक विभागमा उपचार भइरहेको छ । तर स्वास्थ्यमा अझै सुधार आइसकेको छैन । उनलाई बाँधेर उपचार गर्नुपरेको बताइन्छ । बुबा हर्कबहादुर र श्रीमान् उमेशका अनुसार गत मंसिरमा शोभाकी ७ वर्षकी छोरीले मोबाइलको सीमकार्ड भेट्टाएर ल्याएकी थिइन । त्यो शोभाले आफनो मोबाइलमा प्रयोग गरिन् ।

त्यसपछि छिमेकी मगर परिवारले शोभालाई ‘सानो जातका मानिस चोर हुने भएकाली तँ दमिनी नै चोर होस्, भन्दै सीम चोरेको आरोप लगाउन थाल्यो । शोभाले सीम आफूले नचोरेको बरु छोरीले भेटाएर ल्याएकोले आफूले प्रयोग गरेको भन्दै फिर्ता दिइन् । तर मगर परिवारले उनीमाथिको थिचोमिचो र अवहेलना गर्न छाडेन ।

सीम चोरीको आरोपलाई लिएर शोभा र मगर परिवारबीच निरन्तर भनाभन र झगडा हुनथाल्यो । यही क्रममा जेठ १ गते दिउँसो घरमा परिवारका अरु सदस्य नभएको बेलामा उनीहरुबीच सोही विषयमा फेरि भनाभन भयो । आक्रोशमा आएका मगरपरिवार र उनका आफन्तहरुले एक्ली शोभालाई तथानाम भन्दै निर्धात कुटपिट गरे । मरणासन्न कुटपिटबाट बेहोस भएकी शोभाको त्यसपछि मानसिक सन्तुलन गुमेको बताइन्छ ।

खोलामा गिट्टी कुटेर गुजारा चलाउने परिवार भएकाले शोभाको तुरुन्तै अस्पतालमा उपचार हुन सकेन । परिवारले गाउँकै धामी झाँक्रीलाई देखाए । तर समयमा औषधोपचार नपाउँदा शोभाको रोग झ्न बढ्दै गयो । उनमा मानसिक सन्तुलन गुमेको लक्षण देखिन थाल्यो ।

यता मगर परिवारले उल्टै हर्कबहादुरकी छोरी तथा उमेश तामाङकी श्रीमती शोभाले आफूहरुलाई सँधै गालीगलौज गर्ने गरेको भन्दै प्रहरी चौकी कानेपोखरीमा उजुरी दिए । त्यसपछि प्रहरीले उल्टै बास्तविकता नबुझी बाबु हर्कबहादुरलाई बोलाएर छोरीलाई ठेगानमा राख्न चेतावनी दियो ।

कुटपिटभन्दा अगाडी पूर्ण स्वस्थ छोरीको मानसिक सन्तुलन झन् बढेपछि बाबु हर्कबहादुरले वडा अध्यक्षलाई सहयोगका लागि गुहारे । वडा अध्यक्ष चरण गुरुङले शोभालाई धरान लगेर उपचार गराउन सुझाउँदै १० हजार रुपैयाँ सहयोग गरे ।

मानसिक सन्तुलन गुमाएकी शोभाको लामो समयपछि मात्र अस्पतालमा उपचार शुरु भयो । उमेश तामाङसँग आठ वर्षअघि घरजम गरेकी शोभा स्थानीय चिसाङ खोलामा श्रीमानसँगै गिट्टी कुटेर जिविकोपार्जन गर्ने गर्छिन् । उनीहरुका ७ वर्षकी एक छोरी पनि छन ।

यता घटना ढिलो सार्वजनिक भए पनि जातीय भेदभाव गर्दै कुटपिट गरेकै कारण गर्भवती दलित महिलाको मानसिक सन्तुलन गुमेको पाइएपछि पिडित परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी हालेको छ । जातीय भेदभाव र कुटपिट कसुरमा संलग्न चन्द्रमाया, बबिता, पुष्पा र निर्मला मगरविरुद्ध बिहीबार किटानी जाहेरी दिएको हो ।

टिप्पणीहरू