आधिकारिक ट्रेड युनियन निर्वाचन गराउन सर्वोच्चको आदेश

आधिकारिक ट्रेड युनियन निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र अघि बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

आदेशमा अदालतले थप गरिएको अवधिमा निषेधाज्ञा जारी हुँदा बचत भएको समयलाई मध्यनजर गर्दै यसअघि नै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिन भनिएको छ ।

उक्त संस्थाको गत वर्ष १९ जेठमा नै कार्यकाल सकिएको थियो । श्रम तथा रोजगार व्यवसायजन्य सुरक्षा विभागले युनियनको विधानअनुसार एक वर्ष म्याद थपि २०७८ जेठभित्र निर्वाचन गर्न समय थप गरेको थियो ।

दोस्रो लहरको कोरोनासँगै २०७८ वैशाख १६ देखि निषेधाज्ञा शुरु भएको कारण कार्यकाल निरन्तर रहने व्यवस्था मिलाउन अदालतले सरकारको नाउँमा अन्तरिम आदेश दिएको हो ।

यसअघिकै कार्यसमितिलाई कायम राख्न र यथाशीघ्र निर्वाचनको प्रक्रिया अघि बढाउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई सर्वोच्चले आदेश दिएको छ ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्को बैठकले पटकपटक सार्दै आएपछि उक्त विषय सर्वोच्च पुगेका पुगेको हो ।

टिप्पणीहरू